१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पदाधिकारीलाई थाहै नदिई बर्खास्त

जनकपुर - प्रदेश २ सरकारको सचिवालय ‘मधेस भवन’स्थित सभाकक्षमा आइतबार बिहान प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवको ‘शपथग्रहण कार्यक्रम’ आयोजना गरिएको थियो। सोही कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नीति आयोगको उपाध्यक्षका रूपमा डा. भोगेन्द्र झालाई चयन गरिएको घोषणा गरे।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, सभामुख सरोजकुमार यादव, मन्त्री तथा सांसदसँगै झा पनि समारोहमा सहभागी थिए। त्यसअघि नीति आयोगका उपाध्यक्ष रहेका डा. हरिवंश झा भने देखिएनन्। सञ्चारकर्मी चकित भए, ‘एकजना उपाध्यक्षलाई हटाइएको थाहै छैन, अर्का नियुक्त भइसके !’ प्रदेश लोकसेवा आयोगका अध्यक्ष यादवले शपथग्रहण गरे लगत्तै उनीसँगै डा. भोगेन्द्रलाई समेत माला लगाउनेको घुइँचो लाग्यो।

आयोगका उपाध्यक्ष डा. हरिवंश झा काम विशेषले काठमाडौंमा थिए। शनिबार दिउँसो प्रदेश सरकारका एकजना मन्त्रीले फोनमै राजीनामा गरिदिन आग्रह गरे। ‘त्यसको केही घण्टामै मन्त्रिपरिषद्को बैठकबाट डा. भोगेन्द्र झालाई मेरै पदमा चयन गरिदिएको रहेछ,’ डा. हरिवंशले नागरिकसँग भने।

‘त्यसअघि मलाई कहिल्यै कसैले राजीनामाको सम्बन्धमा कुनै कुरा गर्नुभएको थिएन,’ झाले थपे, ‘गत शनिबार औपचारिकता पूरा गर्न मलाई फोन गरेको हुनुपर्छ। नाम नभनौं, एक जना मन्त्रीजीले राजीनामा गरिदिए राम्रो हुन्थ्यो भनेर फोनमै भन्नुभयो। म अकमकिए। बोल्नै सकिन। एकैछिनपछि फोन फर्काउँदा स्वीच अफ भइसकेको थियो सायद मन्त्रिपरिषद्को बैठक बसिसकेको थियो।’

भोलिपल्ट डा. भोगेन्द्र झालाई प्रदेश २ को नीति आयोगमा उपाध्यक्ष नियुक्त गरिएको समाचार देखेपछि सञ्चार माध्यमबाटै आफू हटाइएको थाहा पाएको उल्लेख गर्दै डा. हरिवंशले दुखेसो पोखे। राजनीतिक नियुक्ति भएकाले सरकारले चाहेको बेला व्यक्ति हेरफेर गर्न पाउनु समान्य र स्वभाविक भए पनि पूर्वजानकारी नै नदिई प्रदेश सरकार स्वेच्छाचारी ढंगले प्रस्तुत भएकोमा चित्त दुखेको उनले बताए। आफूलाई पदबाट हटाइएको पत्र हातमा नआउँदै अर्कालाई नियुक्ति दिइहाल्ने सरकारको कामप्रति उनको असन्तुष्टि छ।

‘नीति आयोगको उपाध्यक्ष पद राजनीतिक नियुक्ति हो। मलाई हटाएर अर्कालाई नियुक्त गर्नु समान्य कुरो हो तर, सरकारको व्यवहार उचित भएन। स्वेच्छाचारी रबैया प्रदर्शन गरेको छ यसले मेरो चित्त दुखेको हो,’ उनले भने।

उपाध्यक्ष झा त बाहिर थिए र सञ्चार माध्यमबाट आफू हटाइएको जानकारी प्राप्त गरे। जनकपुरमै भएका आयोगका सदस्यहरू आइतबार नवनियुक्त उपाध्यक्ष डा. भोगेन्द्रलाई आयोगको कार्यालयमै स्वागत गरे। सदस्यको नाताले उनलाई स्वागत गर्दै बधाई दिएका आयोग सदस्य सुरेन्द्र झा, राजकुमार लेखी, महेन्द्र महतो लगायतले अब राम्ररी काम गर्नुपर्ने सल्लाह समेत गर्न भ्याए। त्यतिबेलासम्म आफुहरु पनि बर्खास्तमा परेको उनीहरुलाई थाहा थिएन।

‘उपाध्यक्ष पदमा त अर्काे नियुक्ति भएको सार्वजनिक भयो र हामीले उपाध्यक्ष फेरिएको थाहा पायौं,’ आयोग सदस्य सुरेन्द्र झाले नागरिकसँग भने, ‘हामी सदस्यलाई पनि बर्खास्त गरेको खबर तीन दिनपछि आज (सोमबार) मात्रै एउटा अनलाइनमा पढेर थाहा पाएँ।’ सोमबार पनि आयोगको कार्यालयमै बसिरहेका उनले प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आइतबार पनि उपाध्यक्ष मात्रै फेरिएको प्रतिक्रिया दिएको सुनाए। जबकी, सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले भने उपाध्यक्षसमेत पूरै टिम नै बर्खास्त गरिसकेको भन्दै नयाँ सदस्य चयन गर्न बाँकी रहेको बताए।

‘उपाध्यक्षलाई मात्रै होइन, पूरै टिम फेर्ने निर्णय भएको छ,’ प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै मन्त्री यादवले भने, ‘नयाँ उपाध्यक्ष तोकिइसक्यो। सदस्यहट्ट चयन गर्ने प्रक्रियामा छ।’ सदस्य झा भने अहिलेसम्म आफुहरुलाई यथावतै राख्ने कुरामा विश्वस्त छन्। उनले भने, ‘उपाध्यक्ष फेरिएको हो। म राजपाको सहमहासचिव हुँ। मेरो पार्टीबाट सरकारमा नेतृत्व गर्ने नेता सोनलजी हो। उहाँले उपाध्यक्ष मात्रै फेरिएको कुरा गर्नुभएको हुँदा आज (सोमबार) पनि म सदस्यकै हैसियतमा कार्यालयमा बसिरहेको छु।’

आफु पार्टीको नेता भएको र आफ्नो पार्टी सरकारमा रहेकोले आयोगको सदस्य पदबाट हटाइएपनि कुनै न कुनै भूमिकामा प्रदेशमै रहेर काम गरिरहने उनले बताए।

प्रकाशित: २४ भाद्र २०७६ ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App