१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

यू–१९ एशिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ- श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ। बङ्गलादेशले नेपाललाई छ विकेटले हराएको हो। हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।     

कोलम्बोको पिएसएस क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ५० ओभरको खेलमा आठ विकेट गुमाउँदै २ सय ६१ रन बनायो। दुई सय ६२ रनको विजय लक्ष्य बङ्गलादेशले चार बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गर्‍यो।

बङ्गलादेशको जितमा कप्तान अकबर अलीले अविजित रहँदै ९८ रनको योगदान दिए। प्लेयर अफ दी म्याच अलीले ८२ बल खेल्दै १४ चौका प्रहार गरे। यस्तै तौवहिद हृदोयले ६०, सामिम हुसेनले अविजित ४२ र मोहमुदुल हसन जोयले ४० रन बनाए।     

बलिङतर्फ नेपालका लागि कमलसिंह ऐरीले दुई तथा हरिबहादुर चौहान र राशिद खानले एक/एक विकेट लिए। यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय पारी खेले।

पवनले १ सय ९ बलमा एक छक्का र आठ चौकासहित ८१ रन बनाए। यस्तै सन्दीपले ३७ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै ५६, रित गौतमले ३२, कुशल मल्लले २८, भीम सार्कीले २१ तथा कप्तान रोहितकुमार पौडेलले १४ रन बनाए।     

बलिङतर्फ बङ्गलादेशका लागि ताञ्जिम हसन शकिब र साहिन आलमले दुई/दुई विकेट लिए। नेपालले अन्तिम खेल मङ्गलबार संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्नेछ।

जारी प्रतियोगितामा समूह ‘ए’बाट भारत र अफगानिस्तान तथा समूह ‘बी’बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनल प्रवेश गरेका छन्।रासस   
 

प्रकाशित: २२ भाद्र २०७६ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App