१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डमरु हुर्काउन मोहना पुग्यो बाघ

केही दिन अघि बाघले सिकार गरेको गाईको हड्डी देखाउँदै स्थानीय लहानु चौधरी। तस्बिरः पुष्पराज/नागरिक

कैलाली– डमरु हुर्काउन पोथी बाघ धनगढी भन्सार नजिकै मोहना तटिय क्षेत्रमा आइपुगेको छ। एक सातादेखि सो क्षेत्रमा पोथी बाघ डमरुसहित हिँडडुल गर्न थालेको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ स्थित पुरानो मसानघाट बस्तीमा रातिको समयमा हिँडडुल गर्ने गरेको स्थानीय बताउँछन्।

स्थानीय लहानु चौधरीका अनुसार पोथी बाघ र दुई वटा बच्चाका पाइलाका छापा मोहना तटिय क्षेत्रको बालुवामा देखिएको छ। सो क्षेत्रमा दुई दिन बाघ देखिएको उनले बताए। ‘एक साता अघि तटिय क्षेत्रमा चर्दै गरेको गाईको बाच्छालाई बाघले सिकार ग¥यो,’ उनले भने, ‘त्यसपछि दोस्रो पटक पनि सोही क्षेत्रमा बाघ डमरुसहित पुगेको पाइला देखिन्छ।’ नजिकै दुधुवा नेशनल पार्क रहेको र त्यहाँबाटै बाघ डमरुसहित नेपाल पसेको हुनसक्ने उनी बताउँछन्। ‘यो भन्दा पहिले त यो क्षेत्रमा बाघ देखिँदैन थे, लालझाडी मोहना करिडोरसम्म त हामीले देखेका थियौँ,’ उनले भने,‘तर यसपालि भने हाम्रो घर आँगनसम्मै बाघ आइपुग्यो।’ बाघ बस्ती नजिकै पुगेपछि स्थानीय त्रसित बनेको समेत उनले बताए। ‘आँगनसम्म पुगेको बाघका पाइला देखेपछि हामी चिन्तित बनेका छौ,’ रश्मी चौधरीले नागरिक न्यूजसँग भनिन्,‘रातिको समयमा बाघ नदी किनारबाट मेरो घरको आँगनको डिलसम्मै पुगेर फर्केको पाइला थिए।’ बाघको पाइला आँगनको डिलसम्मै देख्दा त्रास बढेको उनले बताइन्। 

मोहना नदीमा पछिल्लो समयमा स्थानीयले संरक्षण गर्न थालेपछि नदी किनारमा खर र झाडीले भरिएको छ। बाघ दुधुवा नेशनल पार्कबाट मोहना–लालझाडी करिडोर हुँदै सोही खर र झाडीमा लुक्दै भन्सार नजिकै पुगेको स्थानीय बताउँछन्। ‘बाघ मोहना–लालझाडी करिडोर भएर माथिबाट मोहना तटिय क्षेत्रमा आएको पाइलाबाटै देखिन्छ,’ अर्का स्थानीय लवरु चौधरीले भने,‘त्यसपछि पुनः आएकै स्थानतर्फ बाघ फक्र्यो।’ बाघले गाईको सिकार गरेकाले पनि दुई पटक यहाँ पुगेको हुनसक्ने उनी बताउँछन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौंका इकोलोजि शाखाका सहायक इकोलोजिष्ट भूपेन्द्र यादवका अनुसार दुधुवा नेशनल पार्कमा डमरुलाई जन्म दिएपछि उनीहरुलाई बचाउनका लागि पोथी बाघ डमरुसहित नेपालतर्फ आएको हुनसक्छ। ‘भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरु सुरक्षित गर्न नेपालतर्फको जंगलमा आएको हुनसक्छ,’ उनले भने,‘बाघको बासस्थानमा भाले बाघ पनि सँगै हुने भएकाले केही समय डमरु हुर्काउन पोथी बाघले स्थान परिवर्तन गर्छ, त्यही सिलसिलामा मोहना तटिय क्षेत्रमा आइपुगेको हुनसक्छ।’ उसै पनि मोहना–लालझाडी करिडोर बाघको ओहोर–दोहोर हुने क्षेत्र भएको बताउँदै उनले भने,‘बाघ डमरुसहित दुधुवा नेश्नल पार्कबाट करिडोरहुँदै मोहना तटिय क्षेत्रतर्फ झरेको हुनसक्छ।’

डमरुसहित बाघ बस्ती नजिक आएको हुँदा यस्तो बेला जंगल नजाने तथा जानै परे चनाखो हुनुपर्ने उनी सुझाउँछन्। ‘यस्तो बेला पोथी बाघले बढी समय डमरुको हेरचाहमै खर्चेको हुन्छ र भोकाएको पनि हुन्छ,’ उनले भने,‘त्यसैले यो बेला बाघ आफ्नो अगाडि जे भेटे पनि सिकार गर्छ।’

मोहना तटिय क्षेत्रमै बाघ आइपुग्नु वन्यजन्तु संरक्षणका हिसावले खुसीको कुरा भएको मोहना–लालझाडी संरक्षित वन परिषद्का अध्यक्ष राजबहादुर ऐर बताउँछन्। ‘हामी मोहना–लालझाडी करिडोरमा वन्यजन्तु संरक्षणमा वर्षौदेखि लागि रहेका छौ,’ उनले भने, ‘यस्तै समयमा बाघ मोहना तटिय क्षेत्रमै आइपुग्नु हाम्रा लागि खुसीको कुरा हो।’ तर, बाघ बस्ती नजिकै पुगेकाले स्थानीयलाई भने त्रसित बनाएको उनले बताए। ‘स्थानीय त्रसित छन्,’ उनले भने,‘यस्तो बेला सजक र सतर्क रहन हामीले स्थानीयलाई सुझाएका छौँ।’

वर्षौदेखि दुधुवा नेशनल पार्कबाट बाघ नेपालतर्फको मोहना–लालझाडी करिडोर हुँदै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको राजधानी बनाउने निर्णय गरेको गोदावरीको तेघरी जंगल हुँदै पूर्वतर्फको भावर क्षेत्रमा हिँडडुल गर्ने गरेको उनी बताउँछन्। ‘दुधुवाका बाघको जैविक मार्ग भनेको मोहना–लालझाडीहुँदै गोदावरीको तेघरी जंगल भएर चुरेको फेदैफेल पूर्व पश्चिम भावर क्षेत्रमा विचरण गर्थे,’ उनले भने,‘अहिले डमरु हुर्काउनका लागि  बाघ केही दिनदेखि मोहना तटिय क्षेत्रमा देखिए पनि उसको हिँडडुल गर्ने बाटो भनेकै मोहना–लालझाडी करिडोर भएर तेघरी जंगल हुँदै भावर क्षेत्र हो।'

प्रकाशित: २२ भाद्र २०७६ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App