मनोवैज्ञानिक दृष्टिमा ‘आत्महत्या दुरुत्साहन’

आइतबार, २२ भदौ २०७६, १० : ०३ नागरिक

प्रेमनारायण भुसाल
आत्महत्या जीवन र जगत्प्रतिको नितान्त वैयक्तिक दृष्टिकोण र निर्णयको उपज हो। कुनै पनि घटना, परिस्थिति वा अवस्था आत्महत्याका लागि अनुकूल मानिएलान् तर निरपेक्ष रूपमा कारक बन्न सक्दैनन्। आफन्तको मृत्यु, सम्बन्ध–विच्छेद वा बेइज्जत र विपत्तिको पराकाष्ठामा पुगेका सबै व्यक्तिले आत्महत्या गर्दैनन्। यस्तो अवस्थामा उनीहरू परिस्थिति सामनाका लागि फरक किसिमले तयार हुन्छन्। असाध्य रोगबाट ग्रस्त भएका कैयौं व्यक्ति अस्पतालले बिदा दिँदा पनि अतिरिक्त उपचारको आग्रह गर्दै अस्पतालमै बसिरहेका घटना पनि पाइन्छन्।

यसबाट के बुझिन्छ भने आत्महत्या गर्न बाह्य विषय अनुकूल हुन सक्छन् तर मूल कारण बन्न सक्दैनन्। खनजोत, मलजल र रेखदेखले मात्र अन्न उत्पादन हुन सक्दैन, त्यसका लागि मूल चिज हो– अन्नको बीउ। राम्रो बीउबिजन भए खनजोत, मलजल र स्याहारसुसारको अर्थ रहन्छ अन्यथा अन्य तŒवको जस्तोसुकै व्यवस्थापन गरे पनि बाली लहलहाउन सक्दैन। यसैले व्यक्तिको अन्तरइच्छारूपी बीउको अभावमा बाह्य तत्व आत्महत्याका लागि अनुकूल बन्नुको सट्टा उसलाई बाँच्न र संघर्ष गर्न सिकाइ प्रतिरोधी क्षमता वृद्धि गर्ने आधार बन्न सक्छन्। समस्याबाट व्यक्ति खारिन्छ भनेझैं नकारात्मक ऊर्जासँग जुध्दा सकारात्मक भावना (जिजीविषा) झनै उच्च बन्ने सम्भावना रहन्छ।

उन्मुक्तिको कुनै उपाय बाँकी नदेखी आत्महत्या गर्न बाध्य भएको वा पारिएको अवस्थालाई मात्र ‘दुरुत्साहन’ मान्न सकिन्छ।

कसैको धनसम्पत्तिमा क्षति पु¥याउन वा हत्या गर्नसमेत दुरुत्साहन गरिएको हुन सक्छ। आत्मघाती आक्रमणहरू पनि यसका उदाहरण बन्न सक्छन्। यस प्रकारका अपराधमा व्यक्तिलाई कृत्रिम वातावरणमा धर्म वा दर्शनका माध्यमबाट प्रतिशोधी र क्रूर बनाउन प्रशिक्षण दिइन्छ। फलतः ऊ एकोहोरो बन्छ। उसमा एक किसिमको हिंस्रक, पशुवत् विचार विकास हुन्छ र अन्यलाई घात गर्न तम्तयार हुन्छ। यसरी ठूलो क्षति पु¥याइ आफू मर्दा उसले आफूलाई हरुवा महसुस नगरेर विजेता र पराक्रमी ठान्छ तर आत्महत्या साइकोसिसको अवस्थामा बाहेक कतै पनि विजयी भावनाको द्योतक बन्न सक्दैन। अत्यन्त दर्दनाक पीडा र त्यसबाट मुक्तिको लेस मात्र पनि बाँकी नराखी आत्महत्याका लागि सिर्जना गरिएको बाध्यात्मक अवस्थालाई दुरुत्साहन भन्न सकिन्छ।

हो, दाइजो नल्याएकाले वा अन्य कुनै कारणले तारन्तार पीडा दिई पीडाबाट मुक्त हुनै नसक्ने वातावरण सिर्जना गराइएको अवस्थामा आफन्तलाई राहत महसुस होस् भन्ने उद्देश्य तथा उन्मुक्तिको कुनै पनि उपाय बाँकी नदेखी आत्महत्या गर्न बाध्य भएको वा पारिएको अवस्थालाई मात्र दुरुत्साहन मान्न सकिन्छ। जसमा पीडकमा आपराधिक मानसिकता हुन्छ। साथै पीडितले आत्महत्या नगरे पीडकबाट अपराध हुने पर्याप्त सम्भावना हुन्छ। यस्तो अवस्थामा भएको बाध्यात्मक आत्महत्यालाई मात्र आत्महत्या दुरुत्साहन मान्न सकिन्छ। अन्यथा रात रहे अग्राख पलाए वा सास रहेसम्म आस पलाउने गुण प्रकृतिले नै दिएको छ; सबै कुरा गुमाएर व्यक्ति बाँच्न चाहन्छ। मर्नुभन्दा बहुलाउनु निको भन्ने उक्तिले पनि येनकेन प्रकारेण जीवन जोगाउन चाहनु मानवीय गुण हो भन्ने कुरालाई नै पुष्टि गर्छ। कथित दुरुत्साहनकर्तामा आपराधिक मानसिकता वा कुनै पनि अपराध कार्य नभएको अवस्थामा उसलाई दुरुत्साहनकर्ता ठहर गर्नु अन्तर्राष्ट्रिय फौजदारी कानुनी सिद्धान्तको प्रतिकूल पनि हो।

कमजोर हृदय, सहनशीलता अभाव, अति दुर्बलता र अकिञ्चन अनुभूतिमा मात्र आत्महत्या हुन सक्छ। आत्महत्यामा दुःख, पीडा, बेइज्जती वा सन्त्रास मूल कारण हुनै सक्दैनन्, बरु तीसँग सम्बन्धित समस्या कसरी अनुभव गर्ने भन्ने विषय मुख्य हो। यसैले कोही अति विपत्तिको आवस्था सामना सक्षम हुन्छन् भने कोही साधारणभन्दा साधारण विषयले पारेको प्रभावका कारण आत्महत्या गर्न पुग्छन्। यसैले विषयको गम्भीरता तबसम्म आत्महत्याको प्रमुख कारण होइन, जबसम्म आत्मघाती सोचले व्यक्तिलाई ग्रस्त पारेको हुँदैन।

जीवन र जगत्बीच सामान्यतया दुई किसिमका सम्बन्ध देखिन्छ। परिस्थितिलाई पूर्णतः आफूअनुकूल पार्ने प्रयास एकथरी मानिसले गरिरहेका हुन्छन् जसलाई ‘एसिमिलेसन’ भनिन्छ। परिस्थिति आफ्नो काबुमा नहुँदा यस्ता व्यक्तिमा तीव्र तनाव सिर्जना हुन्छ। अर्को किसिमले भन्ने हो भने हुटिट्याउँले आकाश थामेजस्तै सम्पूर्ण गतिविधि आफ्नाअनुकूल हुनैपर्ने सोच यस्ता व्यक्तिमा पाइन्छ। परिस्थिति किञ्चित् प्रतिकूल हुनासाथ उनीहरूको तनावको पारो उच्च बिन्दुमा पुग्छ अनि जीवन र जगत्बारे सही मूल्यांकन गर्न सक्दैनन्। स्वयंमा निहित यस प्रकारको व्यक्तित्वका कारण यिनीहरू कुनै पनि परिस्थिति सामना गर्नेतिर लाग्दै लाग्दैनन्। सर्प देखेर डराउनु स्वाभाविक मानवीय गुण भए पनि यस्ता व्यक्ति डोरीलाई पनि सर्प ठानेर त्रसित मात्र हुँदैनन् त्यसबाट बच्ने निहुँमा गम्भीर दुर्घटनामा समेत पर्न सक्छन्। परिस्थितिको वास्तविक आकलनबिना निर्णय लिने स्वभाव यस्ता व्यक्तिमा देखिन्छ। कुनै पनि विषयमा देखापरेको असामञ्जस्य यिनीहरूका लागि अत्यन्त पीडादायी बन्छ। यसैले सोही निहुँमा आत्महत्यासमेत गर्न पछि पर्दैनन्। यस्तो अवस्थामा त्यस अवस्थाको सर्जक दुरुत्साहनकर्ता नभएर उसको मनोरोग मात्र कारण बनेको हुन्छ।

परिस्थितिअनुकूल वा प्रतिकूल जस्तोसुकै भए पनि त्यो आफ्नो वशको विषय होइन, परिस्थिति नै परिवर्तन गर्न सकिने हुँदैन बरु परिस्थितिअनुरूप व्यवहार गरी आफूलाई अनुकूल बनाउनुपर्छ भन्ने दृष्टिकोण बोक्ने व्यक्तित्वलाई ‘अकोमोडेसन’ भनिन्छ। राजगद्दी छाडेर सामान्य जनताका रूपमा आउन सक्ने र जीवनलाई सामान्य तवरले अघि बढाउन सक्ने सामथ्र्य यस्ता व्यक्तिमा हुन्छ। बडा साधु महाराजजीका रूपमा विख्यात व्यक्ति दुव्र्यसन वा घृणित कार्यमा संलग्न भएको प्रमाणित भई सजाय पाउँदासमेत ऊ जीवनबाट विरक्त नभई परिस्थिति सामना गर्न तयार हुन सक्नाको कारण उसमा यसै प्रकारको व्यक्तित्व हुनु हो। जीवनेच्छा रहुन्जेल बाह्य परिस्थिति जतिसुकै भयावह भए पनि वा जोकोहीले दुरुत्साहन गरे पनि व्यक्ति समाजबाट पलायन होला तर ऊ मृत्युको खोजीमा निस्किँदैन। यसविपरीत जीवन समृद्ध छ, सम्पूर्ण सुविधा उपलब्ध छन् तर मरणेच्छा हाबी भएको अवस्थामा ‘खाना मीठो नभएको’, ‘आफ्नो पालोमा अर्काे व्यक्तिले अवसर पाएको’ वा आफूले मन पराउने व्यक्तिले अरूलाई पनि मन पराएको विषय नै आत्महत्याका लागि पर्याप्त कारण बन्न सक्छन्। यस्ता कारणलाई दुरुत्साहन भनेर परिभाषा गर्ने हो भने समाजमा कोही पनि सुरक्षित बन्न सक्दैन। समाज भयावह स्थितिमा पुग्छ।

न्युरोसिस, साइकोसिस वा तात्कालिक परिस्थितिप्रतिको प्रतिक्रिया आत्महत्या हो भन्ने कुरामा दुईमत नभए पनि आत्महत्या कसैको दुरुत्साहन वा कुनै घटना विशेषको निरपेक्ष असर हो भन्न सकिन्न। जीवनप्रतिको वितृष्णा, कायरता, समस्यासँग भिड्ने सामथ्र्य अभाव र आत्मबलको चरम निरीहता आत्महत्याका कारण हुन्। स्पष्ट शब्दमा भन्दा मानसिक समस्या नै आत्महत्याको प्रमुख कारण हो। बाध्यात्मक अवस्था सिर्जना गरेर, एक किसिमको बन्दी नै बनाएर यातना दिएको अवस्थामा भएको आत्महत्या दुरुत्साहनको फल मान्न सकिए पनि आर्थिक, सामाजिक, शैक्षिक, पेसागत, नैतिक वा राजनीतिक कारण भएका आत्महत्यालाई ‘दुरुत्साहन’ मान्न सकिँदैन। यसको एक मात्र कारण मानसिक समस्या भएकाले व्यक्तिलाई मानसिक रूपमा सबल पार्ने काममा राज्यले ध्यान दिनुपर्छ भने समस्यामा परेका व्यक्तिलाई त्यसबाट मुक्त गर्न सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्नुपर्छ।
मनोवैज्ञानिक परामर्शदाता







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

iOS १३ आइफोन सिक्स एसभन्दा पछि र सँगै रिलिज भएका आइफोनहरूमा उपलब्ध हुनेछ ...

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

Ncell Footer Ad