१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फेसन बन्दै आँखाको मेकअप

ज्योति श्रेष्ठ
स्वस्थ आँखाले मानिसलाई आकर्षक बनाउँछ। आँखालाई सौन्दर्य बढाउने साधन मात्र नभएर भाव व्यक्त गर्ने साधनको रूपमा पनि लिने गरिन्छ। आँखा आकर्षणहीन छ भने सौन्दर्य पनि फिक्का हुन्छ।

सुन्दर एवं स्वस्थ आँखा सबैको रहर हुन्छ। आँखा मानव शरीरको संवेदनशील अंग भएकाले पनि यसको सौन्दर्य गर्दा धेरै सावधानी अपनाउनुपर्ने सौन्दर्यविद् बताउँछन्।

आँखाको सौन्दर्यताका लागि धेरै सामग्री बजारमा आएका छन्। धेरै पहिले आँखा स्वस्थ बनाउन र यसको सौन्दर्यका लागि महिलाहरूले आँखामा गाजल लगाउँथे। अचेल भने आँखाका सौन्दर्य सामग्रीमा नयाँपन देखिएका छन्। आई लाइनर, आई स्याडो, आई ब्रो लाइनर, हाई लाइटर, मस्कारा जस्ता आँखाका सौन्दर्य सामग्री बजारमा पाइन्छन्। पछिल्लो समय आँखाको मेकअप गर्नु फेसन बनेको छ।

जोरपाटीकी सन्ध्या मगरको आँखामा गाजल, आई स्याडो र मस्कारा कहिल्यै टुट्दैन। उनी आँखामा मेकअप गर्दा सौन्दर्यमा निखारपन हुने बताउँछिन्। ‘कुनै दिन आँखामा मेक अप गरिन भने प्रायः सबैले एउटै प्रश्न गर्छन्– बिरामी भएको हो ?’ उनले भनिन्, ‘आई मेकअप नगर्दा बिरामी जस्तो देखिने भएकाले प्रायः सधैँ आँखाको मेकअप गर्छु।’ आफूलाई फ्रेस देखाउन पनि यो मेकअप आवश्यक भएको उनी बताउँछिन्।
उनीजस्तै कीर्तिपुर, पाँगाकी सबिना चौलागाई पनि आई मेकअप गर्न रुचाउँछिन्। ‘सामान्य गाजल त प्रायः सधैँ लगाउने गर्छु,’ उनी भन्छिन््, ‘तर, स्पेसल अकेजनमाचाहिँ हेभी मेकअप हुन्छ। आफ्नो ड्रेसअप अनुसार नै आई मेकअप गर्ने गर्छु।’

आँखामा प्रयोग गरिने शृंगार सामग्रीले महिलाको सौन्र्दयमा पनि फरकपन दिन्छ। अहिले महिलाले आँखाको माथिल्लो भागमा हाइलाइटर लगाउने गरेका छन्। हाइलाइटर लगाउँदा महिलालाई स्मार्ट देखिने सौन्दर्यविद् बताउँछन्। जुनसुकै पहिरन लगाउँदा पनि महिलालाई हाइलाइट सुट गर्ने भएकाले यो महिलाको रोजाइमा पर्ने गरेको उनले सुनाए। ह्पाइट, मेटालिक र गोल्डेन हाइलाइट अहिले फेसन बन्दैछ। आँखाको सौन्दर्यका लागि स्वास्थ्य र शृंगारलाई ध्यान दिन जरुरी रहेको सौन्दर्यविद् बताउँछन्।

आँखाको शृंगारबिना महिलाको सौन्दर्य आर्कषणहिन हुने काठमाडौँ महलमा रहेको फेसिरयल हाउसकी वरिष्ठ सौन्दर्यविद् एवम् महिला उद्यमी सुष्मा महरा बताउँछिन्। ‘अहिले आँखाको सौन्दर्यका लागि बजारमा धेरै थरिका सामग्री पाइन्छन्,’ उनले भनिन्। सौन्दर्य सामग्री किन्नुअघि त्यसको गुणस्तर र त्यसले गर्ने फाइदा–बेफाइदाबारे बुझ्न आवश्यक रहेको उनको भनाइ छ।

सौन्दर्य सामग्रीमा केमिकल मिसिने भएकाले त्यसको प्रयोग गर्दा ध्यान दिनुपर्ने उनको सुझाव छ। उनका अनुसार आँखामा सौन्दर्य सामग्री प्रयोग गरिसकेपछि राति सुत्नुअघि त्यसलाई मेकअप रिमुभर गरे पनि हुने अथवा क्लिन्जिङ गर्नुपर्छ। त्यसो गर्दा आँखामा देखिन सक्ने केमिकलको समस्याबाट जोगाउँछ। र, त्यसो नगरे स्वास्थ्य समस्या उत्पन्न हुने उनको भनाइ छ।

आँखाका सौन्दर्य सामग्रीमा प्रयोग गर्दा संवेदनशील नभए विभिन्न समस्या उत्पन्न हुन सक्ने आँखा चिकित्सक बताउँछन्। यसको प्रयोगमा असावधानी गरे महिलाहरूमा आँखा धमिलो हुने, कमजोर हुने, डार्क सरकल, रिङकल जस्ता आँखाका समस्या देखिन सक्ने उनीहरूको भनाइ छ।

प्रकाशित: २१ भाद्र २०७६ ०६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App