१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

काठमाडौँमा आवास पुनर्निर्माणमा ढिलाइ

ज्योति श्रेष्ठ
भूकम्प गएको तीन वर्ष बित्दा पनि काठमाडौँमा आवास पुर्ननिर्माणले गति लिन सकेको छैन । राष्ट्रिय पुर्ननिर्माण प्राधिकारणका अनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये काठमाडौँ सबैभन्दा पछि परेको छ । प्राधिकरणका अनुसार देशको राजधानी काठमाडौँमा अहिलेसम्म २८ प्रतिशत मात्र आवास पुर्ननिर्माण सम्पन्न भएको छ ।

राजधानीमा आवास पुनर्निर्माणको लागि नीतिगत रूपमा कुनै समस्या नभएको तर कार्यान्वयनमा समस्या देखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले बताए । उनले भने, ‘यस विषयमा प्राधिकरणले जिल्ला आयोजना कार्यान्वयन इकाईसँग समन्वय भइरहेको छ । स्थानीय तहले यस विषयमा निकै चासो दिनु पर्ने देखिन्छ ।’

प्राधिकरणका अनुसार २०७२ सालको भूकम्पमा ४२ हजार ४ सय ९९ भूकम्पपीडित लाभग्राहीमा सूचीकृत भएका थिए । पछि ६ हजार ६९ भूकम्पपीडित थपिएपछि हाल ४८ हजार ५ सय ७१ लाभग्राही पुगेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) काठमाडौँले जनाएको छ ।

इकाईका अनुसार काठमाडौँमा हालसम्म कुल लाभग्राहीको ८६ प्रतिशत अर्थात् ४१ हजार ९ सय २३ परिवारसँग अनुदान सम्झौता भएको छ । अनुदान सम्झौता गर्ने जति सबैले पहिलो किस्ताको ५० हजार रूपैयाँ बुझिसकेका छन् । पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ता लिने लाभग्राही भने ३६ प्रतिशत अर्थात् १७ हजार ७ सय ६४ मात्र छन् । घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिने लाभग्राही भने २८ प्रतिशत (१४ हजार ६१) रहेको इकाईको तथ्यांक छ ।

जिल्लामा रहेका ११ वटा स्थानीय तहको आवास पुनर्निर्माणलाई हेर्दा सबैभन्दा धेरै आवास पुनर्निर्माण गोकर्णेश्वर नगरपालिकामा भएको देखिन्छ । कुल २ हजार ९ सय ३९ लागभग्राही रहेको यस नगरपालिकामा ४५ प्रतिशत अर्थात् १ हजार ३ सय ५१ परिवारले आवास पुनर्निर्माण सम्पन्न गरेका छन् ।

त्यस्तै, आवास पुनर्निर्माणमा काठमाडौँ महानगरपालिका पछि परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) काठमाडौँको तथ्यांकमा उल्लेख छ । इकाईका अनुसार हालसम्म महानगरले १६ प्रतिशत मात्र आवास पुनर्निर्माण सम्पन्न गरेको छ । ७ हजार ५ सय ६३ लाभग्राहीमध्ये ७९ प्रतिशत अर्थात् ६ हजार ३८ परिवारले मात्र पहिलो किस्ता लिएका छन् भने १ हजार ५ सय २५ले अझै पहिलो किस्ता लिएका छैनन् । त्यस्तैगरी दोस्रो किस्ताको रकम लिनेमा २० प्रतिशत अर्थात् १ हजार ५ सय २३ परिवार छन् ।

‘नेपाल सरकारले आवास पुनर्निर्माणको लागि भूकम्पपीडितलाई राहतस्वरूप ३ लाख रकम दिने गरेको छ । तर, यति रकमले काठमाडौंमा घर निर्माण गर्न नसकिने भन्दै भूकम्प प्रभावितले निर्माण सुरु गरेका छैनन्,’ काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘यहीँ मानसिकताले गर्दा पनि पुनर्निर्माणमा ढिलाइ भएको छ ।’

उनका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहर र ग्रामीण क्षेत्रमा आवास पुनर्निर्माणका लागि बनाएको एउटै रकम नीतिले पनि काठमाडौँमा घर निर्माणमा समस्या भएको छ ।

तीन लाख रूपैयाँले गाउँमा मापदण्ड अनुसार भूकम्प प्रतिरोधी घर निर्माण गर्न सकिए पनि सहरमा भने त्यति रकमले बनाउन समस्या भएको जनगुनासो छ । पुनर्निर्माणका लागि बनाइएको मापदण्ड पनि प्रभावितका लागि समस्या भएकाले महानगर पुनर्निर्माणमा पछि परेको महानगरका प्रवक्ता डंगोलले बताए । 

आवास पुनर्निर्माण ढिलाइमा काठमाडौँ महानगरपालिका पछि चन्द्रागिरी नगरपालिका रहेको छ । जहाँ कूल ५ हजार ९ सय ६ लाभग्राहीमध्ये २३ प्रतिशत अर्थात् १ हजार ६७ ले मात्र आवास पुनर्निर्माण सम्पन्न गरेका छन् । आवास पुनर्निर्माणमा ढिलाइ हुनुको कारण बताउँदै चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त मर्हजनले भने, ‘अधिकांश नगरवासीको जग्गा आफ्नो स्वामित्वमा भएका कारण भूकम्प प्रभावितले समयमा घर बनाउन नसकेको बताउँदै, चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त मर्हजनले भने, ‘यहाँ प्राप्त जानकारी अुनसार २०२१ सालमा समपूर्ण टोलवासीको जग्गा एउटै टोलमा नामा नापीमा दर्ता भएको रहेछ । अहिले आवास पुनर्निर्माणका लागि जग्गा कित्ताकाट मिलाउनु नै प्रमुख समस्या बनेको छ ।’

यो समस्या नगरको ७ वडामा रहेको प्रवक्ता मर्हजनले बताए । नगरका अनुसार आवास पुनर्निर्माण ढिलाइमा भूकम्प प्रभावितले पुनर्निर्माणमा चासो नदेखाउनु एकातिर एउटा समस्या भएको छ भने अर्कातिर केही प्रभावितले आर्थिक समस्याले गर्दा पुर्ननिर्माण सुरु गर्न सकेका छैनन् ।  
जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार बुढानिलकण्ठ नगरपालिकामा २ हजार ६ सय ९४ लाभग्राहीमध्ये ९५३ ले तेस्रो किस्ताको रकम लिइसकेका छन् ।

यस्तै, दक्षिणकाली नगरपालिकाका ४ हजार ८७ लाभग्राहीमध्ये १ हजार २ सय २३ ले, गोकर्णेश्वर नगरपालिकाका २ हजार ९ सय ३९ लाभग्राहीमध्ये १ हजार ३ सय ५१ ले, कागेश्वरी मनोहरा नगरपालिकाका ३ हजार ६ सय ७८ लाभग्राहीमध्ये १ हजार २ सय ६५ ले, कीर्तिपुर नगरपालिकाका ३ हजार २ सय ३१ लाभग्राहीमध्ये ८१६ ले, नार्गाजुन नगरपालिकाका ४ हजार ४ सय ४७ लाभग्राहीमध्ये १ हजार ३ सय ८ ले, शंखरापुर नगरपालिकाका ६ हजार १ सय २ लाभग्राहीमध्ये  २ हजार ५२ ले, तारकेश्वर नगरपालिकाका ६ हजार १ सय ७५ लाभग्राहीमध्ये १ हजार ८ सय ८० ले र टोखा नगरपालिकाका १ हजार ७ सय ४९ लाभग्राहीमध्ये ६ सय १८ ले तेस्रो किस्ता बाफतको रकम लिइसकेका छन् ।

प्रकाशित: २१ भाद्र २०७६ ०५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App