१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्री मगरको आश्वासन- 'मेलम्ची पीडितको मर्का बुझेका छाैं, भुक्तानीको निकास निकाल्छौं'

फाइल फोटाे

सिन्धुपाल्चोक– खानेपानीमन्त्री बीना मगरले मेलम्ची आयोजनाको पूर्वठेकेदार इटालीयन कम्पनी सिएमसीले उपठेकेदार, आपूर्तिकर्ता र मजदुरलाई बक्यौता भूक्तानी नदिएको विषयमा बिधिसम्मत ढंगले समाधान खोजिने बताएकी छिन्। समस्या समाधान गर्ने विकल्प छोडेर आयोजनाविरुद्ध आन्दोलन गर्न नहुने उनले बताइन्।

‘सिएमसीसँग काम गरेका आपूर्तिकर्ता र मजदुरलाई मर्का परेको विषयमा सरकार स्पष्ट छ,’ सिन्धुपाल्चोकलाई खुला दिसामूक्त घोषणा गर्न शुक्रबार चौतारा आएकी मन्त्री मगरले भनिन्, ‘बिधिसंगत ढंगले समस्याको हल हुन्छ। सरकार विकल्प खोज्ने प्रयासमा छ।’ समस्यामा परेकालगायत सरोकारवालासँग बसेर भूक्तानीको विषयमा निकास निकाल्ने आश्वासन उनले दिइन्।

मेलम्चीको सुरुङ निर्माणमा संलग्न सिएमसी कम्पनी भागेपछि उसँग काम गरेका आपूर्तिकर्ता, मजदुर बक्यौता भूक्तानी माग्दै आन्दोलनमा छन्। सिएमसीसँग एक अर्ब ६५ करोड रुपैयाँ भूक्तानी पाउन बाँकी रहेको भन्दै उनीहरुले त्यो नपाउन्जेल आयोजनाका काम अघि बढ्न नदिने चेतावनी दिएका छन्। आयोजनाको मुहानस्थल हेलम्बु, अम्बाथानमा बिहीबार प्रदर्शन गर्ने क्रममा प्रहरीले आपूर्तिकर्ता र मजदुरमाथि हस्तक्षेप गरेको थियो। सो क्रममा प्रहरीले गोली चलाउँदा दुबै तर्फका पाँच जना घाइते भएका थिए।

मन्त्री मगर चौतारा आउँदै गर्दा स्थानीय प्रशासनले शुक्रबार मुहानस्थल अम्बाथानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। पीडितले आयोजनास्थलबाट अवरोध पु¥याउने देखेर प्रशासनले निषेधित क्षेत्र घोषणा हो। ‘सरकारलाई विपक्षी नदेखौँ,’ आन्दोलनकारीलाई आग्रह गर्दै मन्त्री मगरले भनिन्, ‘सामूहिक रुपमा विकल्प खोज्न तयार छौँ।’ सिएमसीले आपूर्तिकर्तासँग ट्रक–ट्रकका सामान लिएको बारे सरकार जानकार रहेको उनले प्रष्ट्याइन्। ठेकेदार भागेपछि आयोजनामा जटिलता थपिएको स्वीकार्दै उनले महत्वपूर्ण आयोजनामा अवरोध सुहाउँदो नहुने टिप्पणी गरिन्।

कार्यक्रममा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले अनेकौँ बहानाबाजी गरेर मेलम्ची आयोजनामा करोडौँको खेल भइरहेको आरोप लगाए। ‘कुन दुलोबाट यस्तो खेल भइरहेको छ भन्ने चाहिँ पत्ता लगाउन सकिएन,’ मन्त्री मगरकै सामुन्नेमा उनले भने। मेलम्ची आयोजनामा ठेकेदार आउने र जाने भइरहेको उल्लेख गर्दै संघीय सांसद तामाङले ठेकेदार भागे या भगाइयो भनेर खोजी गरिनुपर्ने धारणा राखे। 

प्रकाशित: २० भाद्र २०७६ १४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App