१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेशसभाको बैठकबाट विद्युत विधेयक पारित

विराटनगर- प्रदेशसभाको आज बसेको बैठकमा ‘विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ।     

प्रदेश नं.१ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०७९२० बमोजिम मुख्यमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव पेश गरेका थिए।    

मन्त्री कार्कीले कुनै एक प्रदेशको सवारी प्रदेश नं.१ मा छ महीनाभन्दा बढी राखेमा दर्ता गर्नुपर्ने बताए। प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफलमा प्रदेशसभाका सदस्यहरुले उठाएको जिज्ञासाको जवाफमा उनले दुर्घटनाका कारण मृत्यु भएमा सङ्घीय कानून अनुसार नै क्षतिपूर्ति पाउने जानकारी दिए।     

उनले सुरक्षा, प्रदूषण र राजश्वको विषयमा विधेयकमा स्पष्ट गरिएको छ भन्दै ई–रिक्साको नवीकरण र दर्ता स्थानीय तहबाट नै गरिने व्यवस्था मिलाइएको जानकारी दिए।     

अवकाश प्राप्त अस्थायी शिक्षकलाई पुनः काममा लगाउनुपर्ने     
प्रदेशसभा सदस्य अम्बिका थापाले बैठकको शून्य समयमा अस्थायी शिक्षकहरु विद्यालयबाट अवकाश प्राप्त गर्दा फेरि सो विद्यालयमा अस्थायी शिक्षकहरु भर्ना भइरहेकाले उमेरका हद पार नगरेका त्यस्ता शिक्षकलाई काममा लगाउनुपर्ने सुझाव दिइन्।

सदस्य उत्तमकुमार बस्नेतले सोलुखुम्बुमा जनस्वास्थ्य क्षेत्रका धेरै भवनहरु निर्माणमा ढिलाइ भइरहेकाले स्थानीय जनता सेवा सुविधाबाट वञ्चित भइरहेका प्रति प्रदेश सरकारको ध्यानाकर्षण गराए।     

सदस्य नवोदिता चौधरीले सुनसरीको धरानमा गएराति भएको बम विष्फोटनले शान्ति सुरक्षाप्रति सरकारले कडा कदम चाल्नुपर्ने माग गरिन्। सदस्य वसन्तीदेवी यादवले शहर सफा सुग्घर राख्न सार्वजनिक शौचालय बनाउन प्रदेश सरकारले ध्यान दिनुपर्ने बताइन्।    

अर्का सदस्य राजकुमार ओझाले अहिले पनि किसानले सर्वसुलभ तरिकाले रासायनिक मल नपाइरहेको चर्चा गरे। सदस्य रामबहादुर मगरले कृषिमा बाँडिने अनुदान साना वा तल्ला तहका किसानले पनि पाउनुपर्ने माग गर्दै प्रदेश नं.१ को सबै निर्वाचन क्षेत्रमा बराबरी कृषि अनुदान वितरण गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए।

प्रदेशसभाको अर्को बैठक भदौ २२ गते आइतबार अपराह्न २ बजे बस्नेछ।रासस

प्रकाशित: २० भाद्र २०७६ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App