१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शान्ति सम्झाैताकाे ११ वर्षपछि चुनवाङ पुग्याे गाडी

चुनवाङको गैरीगाउँमा पुगेको गाडी र खुसीले स्वागतमा स्थानीय। तस्बिरः गणेश विक

रुकुम– तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले २०६२ सालको ऐतिहासिक चुनवाङ वैठकमा भनेका थिए– ‘यस ठाउँमा सर्वप्रथम गाडी पु–याउन चाहान्छु। तपाईंहरु टाढा गएर गाडी चड्नु पर्दैन।’

दाहालको यस्तो कुराले स्थानीयहरुमा खुशीको सिमानै रहेन त्यतिबेला । तर, विडम्बना उनी सशस्त्र युद्ध टुंगोमा नपु¥याउँदै बिचैमा छाडेर संसदीय राजनीतिमा लाग्न पुगे। संसदीय व्यवस्थाअन्तर्गत नै संसदबाट चुनिएर संघीय गणतान्त्रिक मुलकको प्रथम प्रधानमन्त्री बने।

अहिले दोस्रो पटक उनी प्रधानमन्त्रीको पदमा आसिन छन्। यसबीचमा उनी देशविदेशका विभिन्न ठाउँ  भ्रमणमा गए। तर, चुनवाङ पाइला टेकेनन्। दाहालदेखि विरोनो बन्नु परेको दुःखी बनेका चुनवाङबासीमा अहिले भने एकाएक उनै दाहालको प्रधानमन्त्री कालमा खुसी फर्किएको छ।

जुन ठाउँमा बसेको बैठकले राष्ट्रिय राजनीतिमा माओवादीलाई यहाँसम्मको शिखर चढायो त्यही ठाउँलाई पार्टी नेतृत्वकर्ता दाहाले बिर्सिएकोमा चुनवाङवासीले दुःख मनाउ गर्नु स्वभाविक पनि थियो। तर, तिनै दाहालले दोस्रो पटक सरकारको नेतृत्व गरेका बखत रुकुमको दुर्गम उक्त गाविसमा पहिलो पटक गाडी स्थानीयमा छाएको खुसी शब्दले ब्याख्या गर्न नसकिने खालेको छ।

तर, स्थानीय भने दाहाल प्रधानमन्त्री हुनु र चुनवाङमा गाडी पुग्नु संयोग मात्रै भएको ठान्छन्।

‘चुनवाङमा गाडी पु¥याउन प्रचण्डले कति पहल गरे÷गरेनन् हामीलाई राम्रैसँग थाहा छ,’ स्थानीय घनश्याम ओलीले भने, ‘प्रचण्डले दिन नसकेको खुसी हामीले पाएका छौं।’

दाङको घोराहीबाट छुटेको सिस्ने हिमाल यातायात समितिको ना ३ ख ८७१३ नं. को यात्रुवाहक बस चुनवाङको गैरीगाउँ पुगेसँगै यहाँका स्थानीयहरु निकै हर्षित छन्। चुनवाङसम्म गाडीमा सवार भएका सिस्ने हिमाल बस तथा मिनिबस यातायात व्यवसायी समितिका सदस्य भुवन भुषाल, बस चालक चुडामणी बिक र बसलाई समेत फूलमाला र अविरले भव्य स्वागत गरेका थिए स्थानीयहरुले।

यात्रुबाहक बस चुनवाङ–घोराही र घोराही–चुनवाङ सडक खण्डमा नियमितरुपमा सञ्चालनमा ल्याउने समितिले जनाएको छ। रुकुमको सिस्ने हिमाल यातायात समिति, रोल्पाको जलजला यातायात समिति र दाङको राप्ती यातायात समिति त्रिपक्षीय सहमति अनुसार नै उक्त सडक खण्डमा यात्रुबाहक बस सञ्चालनमा आउने छन्। त्रिपक्षिय सहमति अनुरुप राप्ती यातायातले ५० प्रतिशत, जलजला यातायातले २५ प्रतिशत र सिस्ने हिमाल यातायातले २५ प्रतिशत क्यू लिनेगरी सो सडक खण्डमा यातायातका साधनहरु गुड्ने छन् ।
यसअघि चुनवाङ बासीहरु यातायात सेवाबाट बञ्चित हुँदा दाङको घोराही जानलाई पनि एक दिनको पैदल यात्रामा रोल्पा जिल्लाको बागमारासम्म हिंड्नुपर्ने बाध्यता थियो। अब घर नजिकै गाडि पुगेपछि त्यस्तो वाध्यताको अन्त्य भएको छ ।

तर चुनवाङमा गाडी पुगे पनि जिल्ला सदरमुकाम मुसीकोट खलंगा आउँदा उनीहरुलाई पैदलमार्गले नछाड्ने देखिन्छ । मुसीकोट खलंगादेखि चुनवाङ जोड्ने सडक बीचमै अलपत्र पर्दा पैदल हिडेर आवत जावत गर्नु पर्ने बाध्यता कायमै छ । चुनवाङवासीलाई दाङ जाँदा जिल्ला सदरमुकाम खलंगा तथा रोल्पाको बागमारा गएर सवार गर्नु पर्ने वाध्यता थियो ।

सशस्त्र द्वन्द्वको बेला राज्य र तत्कालिन विद्रोही नेकपा माओवादीको मारमा परेका यहाँका स्थानीयलाई हालै पाएको बस सुविधाले केही समृद्धि प्राप्त भएको महसुस भएको छ ।

‘द्वन्द्व समाप्तिसँगै देशका विभिन्न ठाउँ र क्षेत्रले रुप फेरे पनि चुनवाङ जस्ताको त्यस्तै थियो स्थानीय कलिभान खड्काले भने, ‘गाउँमा गाडी आएसँगै केही राहत पाएका छौं। बहालवाला प्रधानमन्त्री दाहाले बिर्से पनि उनले भनेको कुरा यहाँका सर्वसाधारणहरुले भुलेका थिएनौं। हामी सबै जुटेकाले एक दशकपछि खुसी फर्किएको छ।’

चुनवाङ सडक सञ्जालसँग जोडिए संगै यहाँ पर्यटकीय क्षेत्र बनाउनु पर्ने स्थानीयहरुले बताएका छन्। विकटताले पछि परेको यस क्षेत्र पर्यटकीय क्षेत्र बन्ने भन्दै सरोकारवालाहरुले यस तर्फ ध्यान दिन उनीहरुले माग गरेका छन्।

चुनवाङ बैठक चर्चित भएको र यस ठाउँमा धेरै बाह्य तथा आन्तरिक पर्यटकहरु आउन रुचाउने हुँदा सडक मार्गको स्तरोन्तीको गरी पर्यटक भित्र्याउँदा यहाँको आर्थिक सामाजिक विकास हुने स्थानीय गोविन्द पुनले बताए ।

उता एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष गोपालप्रसाद शर्माले भने माओवादी केन्द्रको पहलकै कारण पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा चुनवाङमा गाडी आईपुगेको दाबी गरे।

दाहाल चुनवाङ आउनु र नआउनुले भन्दा पनि उनले चुनवाङका लागि के गरे भन्ने कुराले महत्व राख्ने उनको भनाई थियो।

तर, स्थानीय भने माओवादीका जिल्ला नेताको यो दाबीलाई ठाडै अस्वीकार गर्छन्। भन्छन्– ‘देशमै भएको परिवर्तनले यो स्वभाविक रुपमा ल्याएको विकास हो। त्यसैले तत्कालित नेकपा माओवादी शान्ति प्रक्रियामा आएको पनि ११ वर्षपछि मात्र चुनवाङमा गाडी आइपुगेको उनीहरुको तर्क छ।

 

प्रकाशित: २ मंसिर २०७३ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App