१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विदेशी आए सफा, गए उस्तै

फाइल तस्बिर ।

काठमाडौं–विदेशी पाहुना आउँदा वा कुनै अन्तर्राष्ट्रिय सभा सम्मेलन हुँदा उपत्यकाका सडक धोएर सुकिला पारिन्छ । ती पाहुना फर्केपछि वा यस्ता सम्मेलन सकिएपछि सडक पुरानै अवस्थामा फर्किन्छ । अघिल्लो साता भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आएर फर्के । यसपटक पनि पुरानै अवस्था दोहोरियो । मुखर्जी गत कात्तिक १७ गते नेपालको औपचारिक भ्रमणमा आउनुपूर्व काठमाडौंका सडक रातारात सफा गरियो । ट्र्यांकरका ट्र्यांकर पानी ल्याएर सडकमा खन्याइयो तर उनी फर्केलगत्तै सडक धुलोले ढाक्यो ।

 

सडक विभाग, महानगरपालिका र काठमाडाैं विकास प्राधिकरण सँधै एकले अर्काेलाई जिम्मेवारी पन्छाउँदै

बुङबुङ्ती उड्ने धुलो, खाल्डा र भत्केर ध्वस्त सडक उपत्यकाको परिचय बन्न थालेको छ । यसमा सुधार गर्न न सरकार न ग सरोकारवाला निकाय नै संवेदनशील हुन्छन् । यहाँको सडक निर्माण र मर्मतको जिम्मा सडक विभाग, काठमाडौं महानगरपालिका र काठमाडौं विकास प्राधिकरणले लिँदै आएका छन् । तर, ती निकाय एकले अर्कोलाई जिम्मेवारी पन्छाउनमै केन्द्रित देखिन्छन् ।

उपत्यकाभित्रका अधिकांश सडक आफ्नो जिम्मेवारीमा नपर्ने भएकाले हस्तक्षेप गरेर काम गर्न नसकिएको विभागका सम्भार महाशाखा प्रमुख रविन्द्रनाथ श्रेष्ठले बताए । ‘यहाँका २५ प्रतिशत सडक मात्र विभागले हेर्छ, बाँकी महानगरपालिका, उपमहानगरपालिका र प्राधिकरणको जिम्मामा पर्छ,’ उनले नागरिकसँग भने, ‘विभागले जिम्मा लिएका सडकमा समस्या छैन ।’

विभागले जिम्मेवारी अन्य निकायतर्फ पन्छाए पनि कलंकी–नागढुंगा, चक्रपथलगायत क्षेत्रमा निकै सुस्त गतिमा काम भइरहेको छ । सडकछेउ जथाभाबी निर्माण सामग्री थुपार्दा सर्वसाधारणले धुलोको समस्या त बेहोर्नुपर्छ नै अनावश्यक सवारी जामसमेत हुने गरेको छ । यी क्षेत्रमा तीव्र रूपमा काम नहुनुमा विभाग पनि जिम्मेवार रहेको श्रेष्ठले बताए ।

उपत्यकाका सडक सफा गर्न वा बढार्न चीनले ६ वटा ब्रुमर दिएको छ । तर, ती ब्रुमर महानगरपालिकाले प्रयोग नगरी थन्क्याएर राखेको विभागका अधिकारीको दाबी छ। त्यहाँका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले भने नगरपालिकामा छवटा ब्रुमर नरहेको बताए । ‘२०६२ सालमा किनेको एउटा ब्रुमर छ, चीनले दिएको साना गाडी हो,’ उनले सोमबार नागरिकसँग भने, ‘ठाउँ, परिस्थिति र सडक हेरेर मात्र प्रयोग गरिन्छ ।’

तामाङका अनुसार नगरपालिकामा भएको ब्रुमर र आवश्यक गुणस्तरको कुचो छैन । ब्रुमरको कुचो किन्न मात्र एक लाख रुपैयाँ पर्छ । सञ्चालन लागत महँगो भएकाले पनि दैनिकजसो त्यसको प्रयोग हुन नसकेको उनले स्विकारे । महानगरपालिकाले नयाँ ब्रुमर किन्ने तयारी गरेको जानकारी दिँदै उनले भने, ‘सडक सफा राख्न सरोकारवाला निकाय मात्र नभई सर्वसाधारण पनि जिम्मेवार हुनुपर्छ ।’

विभाग, महानगरपालिका र प्राधिकरणले आआफ्नो जिम्मेवारी पूरा गर्ने हो भने सडकमा खासै समस्या नदेखिने यस क्षेत्रका जानकार बताउँछन् । सडक निर्माण तथा मर्मतमा तत्तत्का निकाय र विद्युत प्राधिकरणबीच समन्वय नहुँदा सडक भत्काएर लामो समयसम्म छाड्ने गरिएको छ । विभागले बु्रमर किन्न ठेक्का प्रक्रिया अघि बढाएकाले आगामी दिनमा आफ्नो जिम्माका सडकमा समस्या नदेखिने श्रेष्ठको दाबी छ । ‘नगरपालिकाले पार्किङ र फोहरमैला व्यवस्थापन गर्ने हो भने समस्या चर्को हुँदैन,’ उनले भने, ‘बाँकी रणनीतिक सडकको जिम्मा विभागले लिन्छ, यसमा कसैले टाउको दुखाउनै पर्दैन ।’

हरेक निकायले आआफ्नो जिम्मेवारी पूरा गर्ने हो भने निर्माणाधीन बाहेक सबै सडक धुलोमुक्त राख्न सकिने विभागका अधिकारी बताउँछन् । विभागका अनुसार महिनाको एक पटक ब्रुमरले एक पटक सफा गर्ने र फोहोरको उचित व्यवस्थापन गर्दा सडक स्वच्छ र सफा राख्न सकिन्छ ।

‘महानगरपालिकाले फोहरको उचित व्यवस्था गर्दैन र निजी क्षेत्रलाई काम गर्ने जिम्मा पनि दिँदैन । यही कारण उपत्यकालाई सफा राख्न सकिएको छैन,’ विभागका एक अघिकारीले भने । बागमती, धोबीखोला करिडोरलगायत सडक नगरपालिकाले निर्माण र मर्मतको जिम्मा लिएको छ । यी लगायत भित्री सडकमा खासै समस्या नरहेको तामाङले प्रस्ट्याए । कर्मचारी अभावका कारण पनि सडक सफाइ तथा फोहर व्यवस्थापन गर्न नसकिएको तामाङको तर्क छ ।

‘उपत्यकामा १० लाख जनसंख्या हुँदा महानगरपालिकामा २ हजार ८ सय कर्मचारी थिए,’ उनले भने, ‘यहाँको जनसंख्या अहिले ४० लाख नाघिसक्यो, सडकमा काम गर्ने कर्मचारी ६ सयमा झरेका छन् । यसले समेत समस्या खडा गरेको छ ।’

काठमाडौं विकास प्राधिकरण तथा महानगरपालिका मात्र जिम्मेवार भएर सडक र सहरको सुन्दरता कायम नहुने तामाङले दोहो¥याए । स्थानीय, समाज र सामुदायिक संघसंस्थाले पनि यसमा उतिकै जिम्मेवारी लिनुपर्ने उनको धाराणा छ । ‘कमलपोखरीदेखि गौशालासम्मको सडक सफा राख्न रुद्रमति सरोकार समाजले गर्दै आएको छ,’ उनले भने, ‘यस्तै अभियान सबै क्षेत्रबाट सुरु गर्नुपर्छ ।’

घरबाट निस्कने फोहोर व्यवस्था गर्न हरेक घर जिम्मेवार हुने हो भने फोहोरको समस्या हुँदैन । सरकार तथा योजना कार्यान्वयनकर्ता निकायले जिम्मेवार हुँदा विदेशी पाहुना आउँदामात्र होइन सडक बाह्रै महिना सफा र सुन्दर राख्न सकिन्छ । विभाग, प्राधिकरण तथा नगरपालिकाले लापरबाही ढंगले सडक छेउमा निर्माण सामग्री नथुपार्ने हो भने धुलो र अनियन्त्रित सवारीजामबाट समेत उपत्यलाई मुक्त गर्न सकिन्छ । र, अन्तर्राष्ट्रिय सभासम्मेलन हुँदा रातारात सडक धुने हतारोबाट समेत मुक्त हुन सकिन्छ ।

 

प्रकाशित: २ मंसिर २०७३ ०९:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App