१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘निजी क्षेत्रबिना दिगो विकास असम्भव’

काठमाडाैं – कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले निजी क्षेत्रको सहमागिताबिना मुलुकको दिगो विकास सम्भव नभएको बताएका छन्।

राष्ट्रिय व्यावसायिक पहल (एनबिआई)को आयोजनामा बिहीबार राजधानीमा सुरु तेस्रो जिम्मेवार व्यवसाय सम्मेलनमा उनले मुलुकको सामाजिक, आर्थिक विकासमा निजी क्षेत्रको अग्रणी भूमिका रहेको बताए।

दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न निजी क्षेत्रको अहम् भूमिका रहने भएकाले सरकारको पहलमा मात्र मुलुक समृद्ध हुन नसक्ने उनको भनाइ छ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आगामी सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्तिका लागि तीन खर्ब चार अर्ब रुपैयाँ लगानी गर्नुपर्ने उल्लेख रहेको उनले बताए।

औसतमा ३६ प्रतिशत लगानी गर्दै आए पनि सो अवधिसम्म मुलुकको पूर्वाधार विकास, पर्यटन, यातायातलगायत क्षेत्रमा निजी क्षेत्रबाट ठूलो लगानी हुने उक्त प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै श्रम तथा पर्यटनका क्षेत्रमा ५८, ऊर्जामा साढे ४५, यातायात, उद्योग, सूचना तथा सञ्चार प्रविधिमा साढे ५८, सहरी पूर्वाधार तथा भवन पुनर्निर्माणमा ५४ प्रतिशत लगानी रहने भएकाले यो छलफलले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

उक्त लक्ष्य हासिल मर्यादित र जिम्मेवारी व्यवसायले मात्र गर्न सक्ने भन्दै उनले थपे, ‘सरकारले आगामी तीन वर्षभित्र अतिकम विकसित मुलुकको श्रेणीबाट विकासशीलमा उक्लिने लक्ष्य लिएको छ। यसमा निजी क्षेत्रको ठूलो भूमिका रहनेछ।’

सरकारले अत्यधिक लगानीका लागि व्यावसायमैत्री वातावरण बनाउन चाहेको उनको भनाइ छ। ‘हालै सरकारले ल्याएको सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन २०७५, विशेष आर्थिक क्षेत्र पहिलो संशोधन ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले निजी क्षेत्रको भूमिकालाई संस्थागत गरेको छ,’ उनले भने।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा समृद्धि, मानिस, पृथ्वी र साझेदारीका विषयमा १६ वटा सत्र सञ्चालन गरी ६४ वक्ताले धारणा राख्ने छन्। सम्मेलनमा विभिन्न क्षेत्रका करिब पाँच सयजना सहभागी भएको एनबिआईका अध्यक्ष पद्म ज्योतीले बताए। मुलुकमा दिगो विकासका लागि नयाँनयाँ क्षेत्रमा अनुसन्धान तथा प्रविधिको विकास हुनुपर्ने उनको धारणा छ।

सोही अवसरमा संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक भ्यालेरी जुलिएन्डले मुलुकको दिगो विकासका लागि रोजगारी, शिक्षालगायत क्षेत्रमा लगानी हुनुपर्ने बताइन्।

‘युवा पुस्ताबिना कुनै पनि मुलुकले समृद्धि हासिल गर्न सक्दैन,’ उनले भनिन्, ‘व्यावसायिक क्षेत्रको दिगो विकास नभएसम्म अन्य देशको सहयोगमा मुलुकमा कहिले पनि समृद्धि आउँदैन। स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गरे दिगो विकास सम्भव भएको उनले बताइन्।
 

सिंगापुरबाटै प्रधानमन्त्रीको शुभकामना
स्वास्थ्य उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मोबाइलमा म्यासेज गरी सम्मेलनको सफलताको शुभकामना दिएका छन्। सम्मेलनमा छलफल हुने विषय मुलुकको दिगो विकासका लागि मात्र महत्वपूर्ण नभई निकट भविष्यमा हुन लागेको संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी सम्मेलनका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री ओलीले बताए।

यही महिना हुन लागेको संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा नेपाललगायत अन्य मुलुकका प्रतिनिधिले विगत तीन वर्षमा दिगो विकास लक्ष्य प्राप्तिमा भएका उपलब्धि, विकास नीतिलगातय विषय प्रस्तुत गर्ने भएकाले यो छलफल फलदायी हुने उनले बताए।

प्रकाशित: २० भाद्र २०७६ ०१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App