१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मेलम्ची पीडित आन्दोलनकारीमाथि गोली प्रहार

मेलम्ची खानेपानी आयोजना पीडितले हिजो गरेको शान्तिपूर्ण आन्दोलन । फाइल फोटो

सिन्धुपाल्चोक– भुक्तानी माग गर्दै मेलम्ची खानेपानी आयोजनाविरुद्ध मुहान क्षेत्र हेलम्बूको अम्बाथानमा आन्दोलनरत कामदार र आपूर्तिकर्तामाथि सुरक्षाकर्मीले रबरको गोली र अश्रुगयास प्रहार गरेको छ। बिहिबार दिउँसो करिब ३ बजे उक्त घटनामा परी दुई मजदुर घाइते भएका छन्। उनीहरुको हातमा रबरको गोली लागेको छ।

आयोजनाको पूर्वठेकेदार इटालियन कम्पनी (सिएमसी)सँग बाँकी भुक्तानी नपाएको भन्दै आपूर्तिकर्ता मजदुर निरन्तर आन्दोलनमा छन्। बुधबार पनि उनीहरुले मेलम्ची बजारस्थित खानेपानीको कार्यालयमा घेराबन्दी गरेका थिए।

मुहानस्थलमा रहेको अम्बाथानको सुरक्षापोष्ट पार गर्दै करिब ३ सयको संख्यामा सहभागी आन्दोलनकारी मुहान क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सो क्रममा आन्दोलनकारीले ढुंगामुढा गरेपछि चेकपोष्टमा तैनाथ सशस्त्र प्रहरीको टोलीले ८, ९ थान अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय हेलम्बूका इन्पेक्टर मणिराम लामिछानेले नागरिक न्यूजसँग दाबी गरे। तर आन्दोलनकारीले भने रबरको गोली प्रहार गरेको आरोप लगाएका छन्। ‘शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा सुरक्षाकर्मीले हस्तक्षेप गरे’ आन्दोलनका अगुवा उत्तरकुमार श्रेष्ठले नागरिक न्यूजसँग भने।

आन्दोलनकारीले संघर्ष चर्काउन थालेपछि मुहानस्थल सुरक्षाको लागि बुधबारबाट १५ जना थप सशस्त्र प्रहरीको टोली खटाइएको छ।

सिएमसीले आपूर्तीकर्ता, मजदुर र स्थानीय व्यापारीलाई एक अर्ब ६५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ। भुत्तानी माग गर्दै आएका उनीहरुले भदौ शुरुदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन्।

प्रकाशित: १९ भाद्र २०७६ १०:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App