१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुरक्षित छैन यात्रुको सामान

विमानस्थलमा ताला छोडिएको ब्याग। तस्बिर : नागरिक

काठमाडौं – त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुको सामान चोरी फेरि दोहोरिन थालेको हो। केही समय सुन्न नपाएको चोरीको घटनामा पछिल्लोपटक एउटै उडानबाट आएका तीनजना सरकारी कर्मचारी सिकार बनेका छन्।

अघिल्लो शनिबार (भदौ ७ गते) मलेसियाको मालिन्दो एअरबाट काठमाडौं आएका हुलाक सेवा विभाग र फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका कर्मचारीको झोलाबाट नेपाली रुपैयाँ, कपडा, मिठाइ र चकलेट चोरिएको हो।

सरकारी काममा इन्डोनेसिया गएर मलेसिया हुँदै फर्केको टोलीका चारवटा झोलाबाट उक्त सामान हराएको सम्बद्ध यात्रुले बताए। ताला लगाएर बुझाएको झोला काठमाडौंमा ताला तोडेको अवस्थामा भेटिएको उनीहरु बताउँछन्।

राति १० बजेर ३० मिनेटमा काठमाडौं ओर्लिएका उनीहरुले आफ्नो ब्यागभित्र रहेको सानो पर्समा ट्याक्सी भाडा तिर्न भनेर छुट्ट्याएको रकम चोरिएको बताए।

क्वालालम्पुर ट्रान्जिट परे पनि नेपालकै विमानस्थलमा पैसा चोरी भएको अनुमान लगाउँदै उनीहरुले नेपालबाट जाँदा लगेका केही फलफूल लगायत उपहारका सामान इन्डोनेसियामा सकुशल पाएको तर फर्किंदा आफ्नै देशमा लुटिएको उनीहरुको गुनासो छ।

हुलाक सेवा विभागकी कला अधिकृत पूर्णकला लिम्बुले आफ्नो पैसा विदेशी विमानस्थमा चोरी नभएको जिकिर गर्दै नेपालकै विमानस्थलका कर्मचारी जिम्मेवार रहेको बताइन्। उनले भनिन्, ‘नेपाली पैसा मलेसियन तथा इन्डोनेसियन नागरिकले चोरेर के काम !’

विमानस्थलमा डिउटीमा रहेका प्रहरीलाई झोलाको ताला तोडिएको बारे जानकारी गराउँदा सुरक्षाको कारण हुन सक्ने भन्दै समस्या समाधानभन्दा पन्छिन खोजेको उनको गुनासो छ।

‘मैले विमानस्थलमै ब्याग चेक गरें। त्यसभित्र मिलाएर राखेका सामान अस्तव्यस्त रुपमा कोचिएको थियो,’ उनले भनिन्, ‘झोलाभित्र बहुमूल्य सामान नरहे पनि पाँच हजार रुपैयाँ हालेको सानो पर्स रहेकोले कतै तलमाथि भयो होला भनेर सामान एक–एक गरी हेरिनँ। घरमा गएर हेर्दा एक रुपैयाँ पनि थिएन।’

सरकारले नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको बेला यसैगरी विदेशीका सामान चोरिए अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश जाने उनको बुझाइ छ।

मलेसियाको मालिन्दो एअरबाट काठमाडौं आएका हुलाक सेवा विभाग र फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका कर्मचारीको झोलाबाट नेपाली रुपैयाँ, कपडा, मिठाइ र चकलेट चोरिएको हो।

‘सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ। एकै दिन तीन यात्रुको चारवटा ब्यागबाट पैसा चोरी भएको छ भने वर्षभर यस्ता घटना कति होलान् ?’ उनले प्रश्न गरिन्। ‘डिटेक्टरको सहायताले पैसा र सुन थाहा हुने हुँदा यो चोरीमा तिनै कर्मचारी संलग्न छन्,’ उनले भनिन्।

अर्का पीडित शालिकराम नेपालले आफ्नो ब्यागबाट झण्डै पाँच हजार रुपैयाँ, इन्डोनेसियाबाट ल्याएका तीनवटा कमिज र चकलेट चोरी भएको बताए।

जाँदा नेपालको बेल्टमा जसरी छोडेको थियो त्यही अवस्थामा इन्डोनेसियामा फेला पार्दा ‘कति सुरक्षित तरिकाले ह्यान्डलिङ गरेकोे होला’ भनेर अचम्ममा परे पनि फर्किंदा खल्लो भएको उनले सुनाए।

३३ वर्षे सेवा अवधिमा पहिलो विदेश भ्रमणमा गएको सुनाउँदै उनले त्यो पनि खल्लो बनेको बताए। उनले भने, ‘साथीभाइ, छर–छिमेकीलाई कोसेलीको रुपमा बाँड्न ल्याएको चकलेट पनि छोडेनछन्।’

इन्डोनेसियाको विमानस्थलका कर्मचारीले ब्याग -यापिङ गर्न सुझाए पनि पाँच सय रुपैयाँ किन खर्च गर्नु भन्दै तालामात्र लगाएर नेपालको सुरक्षा प्रणालीलाई विश्वास गर्दा चोरीको सिकार बनेको नेपालले बताए।

आफूहरुले विमानस्थलमै सामान रहे, नरहेको चेक नगर्दा दाबी गर्न नपाएको उनको भनाइ छ। सामान हराए दाबी गर्न पाइने कानुनी व्यवस्था रहे पनि नेपालको विमानस्थलबाहिर तौलिने मेसिन नहुँदा आफूहरुले चोरीको शंक नगर्न नपाएको नेपालको भनाइ छ।

‘विमानस्थल त गड्डा चौकीको भन्सार जस्तै भएछ। यात्रुले आफ्नो वा अरु कसैको बहुमूल्य सामान रहेको ब्याग लगे, नलगेको निगरानी गर्ने निरीक्षक हुनुपर्ने हो। त्यस्तो सिस्टम नेपालमा देखिएन,’ उनले भने।

यस्ता ठाउँमा सिसी क्यामेरा हुने गरे पनि त्यो बिगारेर चोरी हुने भएकाले चोर फेला पर्नेमा आशावादी नभएको उनले बताए।

उक्त घटनाबारे विमानस्थलमा रहेको ‘लस्ट एन्ड क्लेम’ डिपार्टमेन्टमा बुझ्न खोज्दा त्यस्ता घटना पहिलेपहिले हुने गरे पनि पछिल्लो समय कुनै उजुरी नआएको फोन उठाउने कर्मचारी सुमित्रा घोरासैनीले बताइन्। चोरी नेपालमै भएको भन्ने ग्यारेन्टी नभएको उनको जिकिर थियो। यात्रुका ब्यागेज लोड–अनलोड गर्ने ठाउँमा एअरलाइन्सका कर्मचारी, प्रहरी, विमानस्थलका कर्मचारी लगायतको उपस्थिति हुने बताइन्।

‘विमानस्थल त गड्डा चौकीको भन्सार जस्तै भएछ। यात्रुले आफ्नो वा अरु कसैको बहुमूल्य सामान रहेको ब्याग लगे, नलगेको निगरानी गर्ने निरीक्षक हुनुपर्ने हो। त्यस्तो सिस्टम नेपालमा देखिएन,’

विमानस्थलमा रहेको प्रहरी हेल्प डेस्कमा निवेदन दिएर उक्त दिनको सिसी क्यामेराको फुटेज हेर्न सकिने घोरासैनीको भनाइ छ। ‘यात्रुले उजुरी दर्ता गरे तुरुन्त एक्सन लिँदै आएका छौं,’ उनले भनिन्।

विमानस्थलमै छुटेका यात्रुका ब्यागेज सम्भव भएसम्म दोस्रो फ्लाइटमा सम्बन्धित ठाउँमा पठाउने गरेको सुनाउँदै उनले हराएको केसमा महिनौंपछि पनि ब्याग फेला परेर सम्बन्धित यात्रुलाई बुझाएको बताइन्।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले मलेसियाको विमानस्थलमा आफू स्वयंले पनि त्यस्तो समस्या भोगेको बताए। ‘नेपालकै विमानस्थलमा चोरी भए, नभएको सिसी क्यामेरा फुटेज हेरेर पत्ता लाग्ने कुरा हो। तर, नेपालबाहिरका विमानस्थललाई पनि आँखा बन्द गरेर विश्वास गर्ने अवस्था भने हुँदैन,’ उनले भने, ‘मलेसियामा सुरक्षाका कारण मेरो ब्याग खोलिएको जानकारी पाएको थिएँ।’

अहिले भएको घटनाको वास्तविकता पत्ता लगाउन निवेदनको साथमा एअरलाइन्स कम्पनी, टिकट नम्बर, उडान मिति अथवा बोर्डिङ पास आफूलाई उपलब्ध गराए अनुसन्धान गर्न सकिने उनको भनाइ छ।

यात्रुको ब्यागमा कुनै शंकास्पद वस्तु देखिए यात्रुकै रोहबरमा खोल्ने चलन नभएको तर, यात्रुको सामान सकुशल रहनुपर्ने उनको भनाइ छ। त्रिभुवन विमानस्थलमा थाई र एअर इन्डिया बाहेक अन्य वासुसेवाको ब्यागेज ह्यान्डलिङ नेपाल वायुसेवा निगमले गर्छ।

प्रकाशित: १९ भाद्र २०७६ ०४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App