१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

उपाधि लक्ष्यका साथ महिला टोली किर्गिस्तानतर्फ

काठमाडौं – शुक्रबारबाट किर्गिस्तानमा  आयोजना हुने नादेझ्दा कप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला टोलीलाई बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ। १८ सदस्यीय नेपाली टोलीलाई एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले बिदाई गरेका हुन्।

चार टोलीले सहभागिता जनाउने प्रतियोगितामा नेपालसहित अयोजक किर्गिस्तान, उज्बेकिस्तान र ताजकिस्तान  छन्। बुधबार टोलीको बिदाई भए पनि  बिहीबार बिहान मात्र त्यसतर्फ प्रस्थान गर्ने तालिका छ।  

नेपाललाई उपाधि दिलाउने लक्ष्य राखेर नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्काले नेपाली महिला टोलीलाई अभ्यास गराइररहेका छन्। मुख्यत नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लाई मध्यनजर राख्दै तयारी गरिरहेको छ। तर उक्त प्रतियोगितापूर्व नेपालले किर्गिस्तानमा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएको हो।

‘नेपालमा आयोजना हुने साग प्रतियोगिताका लागि किर्गिस्तानमा आयोजना हुने लागेको यो प्रतियोगितालाई राम्रो तयारीको अवसरका रूपमा लिएका छौं,’ प्रशिक्षक हरि खड्काले भने, ‘प्रतियोगितामा सहभागी चार टोलीमध्ये एक टोली उज्बेकिस्तान मात्र हामी भन्दा केही बलियो टोली हो। अन्य टोली ताजाकिस्तान र किर्गिस्तान हामीजस्तै एउटै लेभलका देश हुन्।’ दक्षिण एसियामा उदाउँदै गरेको नेपालले मध्य एसियामा पनि राम्रो गर्नेमा आशवादी छन् प्रशिक्षक खड्का।

‘साफ च्याम्पियनसिपमा रहेका कमीकमजोरीलाई केलाउँदै हामीले अभ्यास गरिरहका छौं। सेन्ट्रल जोनमा नेपालले अवसर पाएको छ। नेपालको लक्ष्य भनेको उपाधि नै हो,’ प्रशिक्षक खड्काले थपे, ‘फाइनल पुगेर उज्बेकिस्तानलाई रोक्दै काउन्टर गर्ने रणनीतिलाई अबलम्बन गर्ने सोचमा छौं।’

यस्तै नेपाली टोलीकी कप्तान निरु थापाले छोटो समयमा पनि राम्रो तयारी गरेको प्रतिक्रिया दिइन्। ‘चार टोलीमध्ये उज्बेकिस्तान हामीभन्दा केही बलियो टोली हो। कोचको रणनीतिलाई अबलम्बन गर्दै अगाडि बढ्यांै भने जित टाढा छैन,’ कप्तान निरु थापाले भनिन्, ‘यो प्रतियोगितामा भएका कमीकमजोरीलाई केलाउँदै नेपालमा आयोजना हुने सागमा राम्रो गर्ने लक्ष्यमा छौं।’

अघिल्लो वर्ष फागुनमा सम्पन्न साफ महिला च्यम्पियसिपमा नेपाल घरेलु मैदानमा भारतसँग तेस्रो पटक पराजित हुँदा उपविजेता बनेको थियो। भारत तेस्रो पटक पनि बाधक बन्दा घरेलु मैदानमा उपाधि चुम्ने नेपालको लक्ष्य अधुरो भएको थियो। विगतका संस्करणमा भन्दा उत्कृष्ट लयमा देखिएको टोलीले समूहचरणमा आकर्षक खेल पस्किँदा कतिपय समर्थक नेपालले उपाधि जित्नेमा आशवादी थिए। तर नेपालका लागि सोचेजस्तो नतिजा हात लागेन। घरेलु मैदानमा नेपालले उपविजेतामा खुम्चिनु परेको थियो।
यही पुरानो घाउ मेटाउनका लागि सागलाई नै लक्ष्य राखेर तयारी गरिरहेको राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले बताइन्।

‘किर्गिस्तानमा आयोजना हुने प्रतियोगितालाई लिएर सबै खेलाडी उत्साहित रहेका छौं। साफमा भएका कमीकमजोरीलाई हटाउँदै प्रतियोगितामा खेल्ने लक्ष्य राखेका छौं,’ स्ट्राइकर सावित्रा भण्डारीले भनिन्, ‘साफ च्याम्पियनसिपमा भोगेको पराजय टोलीमा इगो बनेको छ। त्यसैले त्यही इगोलाई मेटाउन पनि हामीले घरेलु मैदानमा पुनः अवसर पाएका छौं। सागमा स्वर्ण पदक ल्याउनेमा हामी आशावादी छौं।’

मंसिर १५ देखि २४ सम्म  नेपालमा आयोजना हुने प्रतियोगितामा स्वर्ण पदक जित्ने लक्ष्यसहित नेपाली टोली एन्फा मुख्यालयमा केही सातादेखि तयारी गरिरहेको छ। अघिल्लो वर्ष फागुनमा विराटनगरमा सम्पन्न पाँचौं साफ च्याम्पियनसिपमा उपविजेता बनेको टोली सागमा कुनै पनि हालतमा स्वर्ण पदक जित्ने लक्ष्यमा हुनेछ। किर्गिस्तानमा आयोजना हुने नादेझ्दा कपले यो लक्ष्यमा सघाउ पुग्ने टोलीको अपेक्षा छ।

प्रतियोगितामा नेपालले आइतबार आयोजक किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ। यस्तै दोस्रो खेलमा नेपालले भदौ २३ गते उज्वेकिस्तान र भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ। लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि आमनेसामने हुनेछन्। यस्तै तेस्रो र चौथोले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन्। फाइनल भदौ २६ गते हुनेछ।

नेपालविरुद्ध
देश    मिति
किर्गिस्तान    भदौ २२
उज्बेकिस्तान    भदौ २३
ताजाकिस्तान    भदौ २४

नेपाली टिम
गोलकिपर: एन्जिला सुब्बा, अन्जना राना मगर
रक्षक: हीराकुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर, कविता धिमाल, अस्मिता जैसी
मिडफिल्डर:मन्जलीकुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, दीपा राई, शर्मिला थापा
स्ट्राइकरः सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल, निरु थापा, विमला चौधरी, इन्दिरा राई
टिम अफिसियलः हरि खड्का (प्रमुख प्रशिक्षक), अरुणा गुरुङ (सहायक प्रशिक्षक),  अस्मिता खवास ( गोलकिपर प्रशिक्षक), पेमा लामा (टिम म्यानेजर)

प्रकाशित: १९ भाद्र २०७६ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App