१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई गगनको आग्रह : धपेडी नगर्नुस्, अब विश्राम लिनुस्

काठमाडौं-  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अस्वस्थताका बाबजुत विदेशमै रहेर भिडियो कन्फरेन्स मार्फत मन्त्रीपरिषद् बैठक संञ्चालन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम लिन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले  कार्यकारी प्रमुख लामो समयसम्म देश बाहिर बस्दा मुलुकको राष्ट्रिय सुरक्षा तथा कुटनीतिक मर्यादा आदिमा जोखिम उत्पन्न हुने भन्दै प्रधानमन्त्रीलाई धेरै धपेडी नगर्न आग्रह गरे। पछिल्लो समय प्रधानमन्त्रीको कार्यबोझ बढाईएको तर शारिरीक स्वास्थ्य अवस्था भने कमजोर भएको इच्छाशक्ति भएपनि प्रधानमन्त्रीले आफु माथिको दायित्व पुरा गर्न नसक्ने भन्दै उनले नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रसस्त गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए।

उनले भने “मैले धेरै पटक नेपाल कम्युनिष्ट पार्टीका युवा सांसदहरुले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गर्ने गरेको सुनेको छु। प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ। हामी हाम्रो बा विरामी हुनुभएको भए के भन्थ्यौ? बा धपेडी नगर्नुहोस्। बा आराम गर्नुहोस्। बा विश्राम लिनुहोस्। हामी हाम्रो बालाई यसो भन्छौ। तर प्रधानमन्त्री बालाई त्यसो भन्न किन सक्दैनौ?”

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण लगातार काम गर्न नसक्ने भन्दै उनले विकल्प खोज्नुपर्ने आवश्यकता औंल्याए। उनले भने “कार्यकारीणी प्रमुख एकै पटक लामो समयसम्म देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कुटनीतिक मर्यादा आदीमा जोखिमको प्रश्न त छदै छ। प्रत्येक २ /३ महिनामा १० /१२ दिन विदेश गएर टेलिप्रिजेन्स मार्फत मन्त्रीहरुको ब्रिफिङ लिएर देश चलाउने शासकिय जिम्मेवारी पुरा हुन सक्दैन।”

नेकपाको बहुमत रहेको र प्रधानमन्त्री छान्न पनि सजिलो भएको भन्दै उनले अस्वस्थ भएका प्रधानमन्त्रीलाई विश्राम दिन आग्रह गरे। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सरकारले संसदलाई जानकारी नगराएको प्रति पनि उनले गम्भीर ध्यानाकर्षण गराए।

 

प्रकाशित: १८ भाद्र २०७६ ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App