१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

हराउँदै पुराना भाका

कैलाली -
नेपालबाट दाजैले शिरबन्दी दाइजो पठाए,
वरिलै किन दिन्थिन भाउजूले राखिन आफैले...
...
वर्ष दिनको तीजमा बाबा लिन आएका,
बरिलै, हाम्री सासू पापिनीले शिरपूmल लुकाइन्...
              ...
दैलोमुनि काँकरीको विरुवा,
नचलाऊ बालले हाइ बरिलै...  

भाउजू–नन्दका खप्की, सासू–बुहारीका कलह, आमा–छोरीका बिलौना र माइती घरको सम्झना वरिपरि रहेर तीजमा गाइने उपयुक्त पुराना लयका गीत गाउँघरमा सुनिँदैनन् । आँगनको डिलमा परालको गुन्द्री ओछ्याइ गाउँभरिका लागि लालटिन र दियालोको उज्यालोमा रातभर तीजका गीत मादलको तालमा गाउँदै÷नाच्दै गरिने रमाइलो एकाएक हराए ।

पुराना दिन स्मरण गर्दै मसुरिया भगवानपुरका भोजबहादुर मन्नी द्वन्द्वकालदेखि नै पुराना भाकाका तीजका गीत हराएको बताउँछन् । उनी भन्छन्, ‘चरम द्वन्द्वले रातिको समयमा तीज गीत गाउन नपाउने भएपछि पुस्तान्तरण हुन नसक्दा पुराना लयका गीत हराउँदै÷बिर्सदै गएको हो ।’ पछिल्लो समयमा मान्छे सहरीकरण हुँदा भिन्न समुदायका व्यक्तिसँगको रहन–सहन, बोलिभाषा नमिल्दा सामूहिक रूपमा गाइने तीज गीत हराउँदै गएको उनले बताए । उनी भन्छन्,‘सहरी बसाइँले एक्लिँदा मान्छेहरू मोबाइल,डिजे प्रविधिको सहयोग लिएर तीजका गीतमा नाच्न थालेका छन्, जसले गर्दा तीजका पुराना भाका हराउनुका साथै तीज भड्किलो बन्दै गएको हो ।’

सहर बजारमा केही वर्षयता तीजको एक महिनाअगावै दर खाने र रमाइलो गर्ने नाममा थुप्रै रकम खर्च हुने गरेको छ । ‘केही समयअघिसम्म तीजमा दुःख, पीडा र वेदनाका गीत गाइन्थे, तर पछिल्लो समय भड्किला तीज गीत सार्वजनिक हुन थालेका छन्,’ संस्कृतिविद् बद्री विनाडी भन्छन्, ‘देखासिकी र पश्चिमा संस्कृतिले हामी पनि त्यस्तै गर्न थालेका छौं ।’ उनी तीजको शास्त्रीय विधिलाई जगेर्ना गर्नुपर्ने र तीज भड्किलो बनाउन नहुने बताउँछन् ।

साहित्यकार कृष्ण पनेरु ‘वञ्चित’ भन्छन्, ‘आफ्नै मौलिक र धार्मिक मान्यताको तीजलाई दर खाने नाममा, रक्सी, मासुजन्य पदार्थका साथै पुरुष–महिलाका उट्पट्याङ गीतले बजार तताई रहेको छ । यसो हुनु संस्कृति माथि नै धावा बोलिनु हो ।’ उनले हिन्दूहरूको मौलिक संस्कृतिमाथि पछिल्लो समयमा देखासिकीले तीज भड्किलो बन्द अन्य धर्मावलम्बीले खिसिट्युरी गर्ने र हिन्दू धर्म बद्नामित हुन थालेको भन्दै दुःख मनाउ गरे । उनी तीजका गीतमा पुराना लय र भाकाका गीतलाई बचाउन सबैले लाग्नु पर्नेमा सुझाव दिन्छन् ।

मूलतः नारीका इच्छा, रहर, माइती, पोशाक, गरगहना, अनमेल विवाह र बुहारी भएर बस्दाका पीडा, सासूको थिचोमिचो, आमाबाबु नहुँदा दाजुभाउजूले गरेको उपेक्षा, माइतमा जान नपाउँदाको पीडा जस्ता अनेकौ विषयको बयान गरिएको सुनिने यस्ता प्रकृतिका तीज गीतलाई परम्परागत वा उहिलेका गीत भन्दा उपयूक्त हुने संस्कृतिविद् बिनाडी बताउँछन् । उनी भन्छन्, ‘सहरिया परिवेशमा बसेका महिलाले आज उक्त प्रकृतिका कतिपय विषयवस्तुका गीतलाई विस्थापित झै गरिदिएका छन् । भनौ, नारीले गाउन छोडेका छन् ।’

संस्कृतिलाई परिमार्जित गर्दै राम्रा कुराको अवलम्बन गुर्नको साटो गलत संस्कृति र छाडापन तीजमा भित्रदै गएको प्रति चिन्ता गर्दै बिनाडी भन्छन्, ‘पुरातन संस्कृतिका विकृतिलाई परिमार्जित गर्नु राम्रो हो, तर विभिन्न बहानामा पुरानो संस्कृतिका राम्रा पक्ष नामेट गरेर पश्चिमा संस्कृति भिœयाउनु कदापि राम्रो हैन ।’

प्रकाशित: १८ भाद्र २०७६ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App