१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

मेरो एउटा साथी छ

आज दिनभर वर्षाको जिउ दुखिरहेको थियो । हनहनी ज्वरो आइरहेको थियो । त्यसैले पनि उसलाई केही पनि खान मन लागेको थिएन । बिहानदेखि केही नखाएकाले ऊ कमजोर भएकी थिई । बिहान मायाले बनाएको खाना डाइनिङमा त्यत्तिकै थियो । घरी जिउ रन्केजस्तो, घरी चिसो भएको जस्तो भइरहेको थियो ।

बाहिरको मौसम बदली र बादल गर्जिएजस्तै उसको देहमा बदली भइरहेको थियो । उसै त सञ्चो नभएको जिउ, त्यसमाथि प्रकृति रिसाएको आवाजले पनि वर्षाको मन अशान्त भइरहेको थियो । ऊ ओछ्यानबाट उठ्न सकिरहेकी थिइन । बल्लतल्ल थर्मसबाट एक गिलास पानी झिकेर खाई ।

उसलाई आज बिहानदेखि विशालको सम्झना आइरहेको थियो । जिउमा विसञ्चो हुँदा उसले कति केयर गथ्र्यो ! दुधको मसालेदार चियाकी प्रेमी, सञ्चो नभएको पत्तो पाउनेबित्तिकै उसले दिल खुस पार्न खोजेजस्तै चिया बनाएर अघिल्तिर उभिन्थ्यो, मुसुमुसु हाँस्दै । तेजपत्ता, दालचिनी, मरिच, अदुवासहितको मसालेदार चिया खाएपछि वर्षाको थकाई र दुखेको टाउको हलुङ्गो भएर आउँथ्यो ।
उसलाई जिस्क्याएर वर्षाले भन्थी, ‘मेरो जादुगर !’
यतिबेला विशालले मुसुमुसु हाँसेको र मसालेदार चियाको हरक दिलमा उठेर आयो । विशालको चिन्ता र उसको केयरको सम्झना आयो ।

उसलाई सम्झनेबित्तिकै वर्षालाई एक किसिमको ऊर्जा थपियो । उसले छेउको थर्मामिटर उठाई र ज्वरो नापी । १०४ डिग्री देखायो । उसको ढुकढुकी बढेर गयो । रात परिसकेको थियो तर सिरक थप्दा पनि कम्प रोकिएको थिएन । यसले उसको मन आत्तिन थाल्यो । ‘कतै आजै मेरो अन्तिम रात नहोस् !’ उसको दिमागमा एक्कासि यस्तो विचार पलायो ।

यत्तिकैमा छेउमा माया आइपुगी । वर्षाले उसलाई विवेकलाई फोन लगाउन भनी । उसले डायल गरिदिई ।
‘आमा दर्शन,’ विवेकको आवाज सुनियो, ‘आज कताबाट ? सञ्चै त हुनुहुन्छ ?’
‘बाबु मलाई ज्वरोले थलायो,’ कमजोर आवाजमा वर्षाले भनी, ‘दिनभर ओछ्यानबाट उठ्न सकेकी छैन । एकचोटी इमर्जेन्सी जान पाए हुन्थ्यो !

‘सामान्य ज्वरो आएको होला, मौसमी ज्वरो होला,’ विवेकले आश्वस्त पार्न खोज्यो, ‘सिटामोल खाएर मज्जाले निदाउनुस्, निको हुन्छ । अब यति राति बाहिर जाने कुरा भएन । भोलि बिहान केही गरौँला !’
‘हैन, अलि गाह्रै भइरहेको छ,’ हल्का प्रतिरोध गरी वर्षाले ।

‘तपाईं बुझ्नु न,’ विवेकले भन्यो, ‘म आउँथे तर तपाईंको नातिलाई पनि सञ्चो छैन । इराको पनि भोलि अफिसमा मिटिङ छ । ऊ आउन भ्याउँदिन । बरु बहिनीलाई भन्नु न ! कहिलेकाहीँ त ऊ पनि आए हुन्छ नि ! उसको त घरमा सासू पनि हुनुहुन्छ घर हेर्न र भाञ्जीलाई हेरिदिन ।’
‘सबैको व्यस्तता त्यस्तै हो,’ वर्षाले फेरि पनि प्रतिरोध गर्न खोज्दै भनी तर उनीहरुको व्यस्तता सम्झेर उसलाई थप केही भनुँ भन्ने पनि लागेन । उताबाट विवेकले भन्यो, ‘हस् आमा, स्वास्थ्यको ख्याल गर्नोस् ।’
विवेकले फोन राख्यो । अब विशाखालाई फोन गर्नैपर्ने भयो । मायालाई ईशारा गरेँ, उसले डायल गरेर फोन मतर्फ बढाई ।
‘हेलो छोरु, के छ बाबा तिमीलाई सञ्चै छ ?’
विशाखाले वर्षाको आवाज सुन्नेबित्तिकै सञ्चो नभएको भेउ पाइहाली, भनी, ‘आमा, हजुरलाई के भयो ? स्वास्थ्यको हेरविचार गर्नुपर्छ है ! मौसम पनि ठीक छैन ।’
‘मलाई गाह्रो भैरहेको छ,’ वर्षाले भनी, ‘तिमी आएर अस्पताल लगी देऊ न ।’
‘अब अहिले त अमेरिकाबाट नन्द आउनु भएको छ,’ उसले असमर्थता देखाउँदै भनी, ‘चार वर्षपछि माइत आएकी नन्दलाई छाड्न पनि मिलेन । बरु दाजुलाई भन्नु न ! उहाँहरुको त पिकनिक छ क्यार ! पारिवारिक पिकनिक त पछि गए पनि त हुन्छ नि !’

विशाखाले एक हप्तापछि मात्र भेट्न आउन सक्ने बताएर औषधि खान सुझाउँदै फोन राखी ।
वर्षालाई आफ्नो अस्वस्थताप्रति झनक्क रिस उठेर आयो । अहिलेसम्म उसले कसैसँग सहयोगको याचना गरेकी थिइन । आज आफ्नै छोराछोरीहरु पनि आमाको यो अवस्थामाथि करुणा जाग्दैन ! आफ्नो असमर्थताप्रति उसलाई आफैँलाई दया लाग्यो । जिउको रन्कोले हो या चित्तको फन्कोले, आँशु गुँडुल्किएर आयो । यिनै छोराछोरी हुन्, जसको हरेक जन्ममा विशाल र वर्षा कति खुशी भएका थिए ! उनीहरुलाई हुर्काउँदाका कति रात अनिद्रामा छर्लङ्ग कटेका थिए । तिनलाई लाग्ने सानो चोटपटक आफैँलाई घनले ठोके बराबर दुख्थ्यो ! उनीहरुका हरेक खुशीका लागि आफू जल्न तयार हुन्थ्यौँ !

अहिले ? मानिसको जीवनमा एक्लोपनजस्तो ठूलो सजाय केही रहेनछ !
यस्ता अनेकन् कुरा सोच्दासोच्दै कुन बेला वर्षा निदाई, उसैलाई पत्तो भएन ।
०००
बिहान माया चिया लिएर कोठामा आउँदा र पर्दा सर्‍याक्क खोल्दा बिहान छ्याङ्ग उज्यालो भएको देखेँ । बाहिर उज्यालो भएको थियो तर मेरो जिउमा उज्यालो छिरेको थिएन । ज्वरो उस्तै हनहनी आइरहेकै थियो ।
मायाले सहारा दिएर पहिला ग्लुकोज पानी प्युन लगाई, त्यसपछि उसले मूड बुझ्न मसला चियाको लोभ देखाई ।
‘मसला चिया होइन माया, अस्पताल पुग्न पाए हुन्थ्यो,’ वर्षाले विरक्तिको भावमा भनी ।

यसपछि उसले छेउकै मोबाइल उठाई र ट्याक्सी मगाई ।
अस्पताल पुग्नेबित्तिकै उसलाई मायाले आकस्मिक कक्षमा भर्ती गरिहाली ।
केही घण्टामा पनि ज्वरो कम भइरहेको थिएन । पिसाब, रगत, सबै जाँच गर्न पठाइसकिएको थियो तर अझै यस्तो उच्च ज्वरो किन आयो भन्ने पत्ता लाग्न सकिरहेको थिएन ।
डाक्टरले हप्ता दिन बसेर सबै रिपोर्ट आएपछि निको भएर जान सुझाइरहेको थियो ।

आत्मिय डाक्टर र नर्स अनि मायाको हरदम साथले जिउ केही हलुङ्गो हुन थालिसकेको थियो । भोलिपल्ट आकस्मिक कक्षबाट सारेर वार्डमा सर्नेबित्तिकै एक जना मान्छे उज्यालो अनुहार पारेर कोठाभित्र छिर्‍यो ।

छोरा वा छोरी कोही आएका होलान् भनेर आशालु नजरले वर्षाले सेतो ग्लाडोलियस फूलको बुकेतर्फ हेरी । उसले चिनेको व्यक्ति थिएन यो । अरु कसैको वार्डमा आइपुगेको हो कि ! तर होइन रहेछ । सिधै वर्षाको अघिल्तिर उभिएर उसले बुके फैलाउँदै भन्यो, ‘गुड मोर्निङ ! अब कस्तो छ त तपाईंलाई ?’
चिन्नु न जान्नुको मान्छे आत्मिय हुन खोज्दा वर्षालाई अप्ठेरो लागेर आयो तर पनि उसले मुस्कुराउँदै उसले भनी, ‘यति धेरै फूल किन ल्याउनु भएको डाक्टर सा’ब ?’

‘म डाक्टर होइन,’ चटक्कको मिलाएर लगाएको लुगालाई तन्याकतुनुक पारेर उसले भन्यो, ‘डाक्टरको त गाउन हुन्छ । म चाहिँ तपाईंको छिमेकी ! माई नेम् इज् किशोर ।’
अहिलेसम्म चिनजान नभएको र कहिल्यै नदेखेको छिमेकीले आत्मियता देखाउँदा उसलाई अप्ठेरो लागेर आयो ।
किशोरले अप्ठेरो आँकेर भन्यो, ‘माया मेरो घरमा पनि आउँछिन् । उनैले भनेर थाहा भयो । अब एउटा असल छिमेकीको नाताले तपाईंको सञ्चोबिसञ्चो त हेर्नु परिहाल्यो नि, हैन त ?’
वर्षा मुस्कुराई र भनी, ‘थ्याङ्क्यु ।’

‘अब धेरै पीर नलिनुस्, तपाईं चाँडै नै निको हुनुहुन्छ,’ किशोरले आश्वस्त पार्न खोज्यो ।
यसपछि किशोर सोफामा बस्यो, वर्षालाई अप्ठेरो लाग्यो । नयाँ मान्छे, कस्तो आत्मिय हुन खोजेको होला भन्ने लागेर आयो वर्षालाई ।

‘अस्पतालमा तीन दिन बिताउनु कम्ता गाह्रो हुँदैन तर न विवेकको खबर छ, न विशाखाले नै फोन गरेका छन् !’ वर्षालाई छोराछोरी सम्झेर विरक्त लाग्यो, ‘बिरामी पर्दा त मान्छेको मनले आफन्त नै खोज्दोरहेछ !’
त्यत्तिकैमा किशोर फलफूल लिएर कोठाभित्र छिर्‍यो । वर्षाले भनी, ‘किशोरजी, बेकारमा के दुःख गर्नुभएको होला ! यत्रो फलफूल के काम ? कसले खान्छ ?’

‘फलफूल बिरामीले खानुपर्छ, तपाईंले खानुपर्छ,’ उसले हल्का पारामा भन्यो, ‘अनि न छिटो स्वस्थ भइन्छ !’
यसपछि ऊ फलफूल काट्न थाल्यो, ‘मेरी श्रीमतीले जाँदाजाँदै सिकाएकी थिई, संसारमा सबैभन्दा आनन्दको क्षण बिरामीको सेवा गर्नु रहेछ ! मौका पर्‍योकि म बिरामीको सेवामा लागिहाल्छु ।’
०००
जे कुरामा पनि श्रीमतीलाई अघि ल्याइहाल्ने किशोरको कुरामा वर्षाले सहज मान्न थालेकी थिई । ऊ अब राम्रो साथी बन्न पुगेको थियो । सधैँ अस्पतालमा केही न केही लिएर आइहाल्थ्यो । यसपछि दिनभरि बसेर समाजका राम्रा–नराम्रा विषयमा कुरा गरिबस्थ्यो ।
दिनभरि पट्यारलाग्दो गरी त्यत्तिकै बस्नुभन्दा त किशोरका रमाइला कुरा सुन्नुमा वर्षालाई रस बस्न थालेको थियो । अस्पतालमा एक हप्ताका लागि भनेर ऊ बसेकी थिई तर डाक्टरले डिस्चार्ज गर्दा दश दिन भइसकेको थियो ।
०००
घरमा ल्याउनेदेखि सहज बनाउने कुरासम्म किशोरले तन्मयका साथ ग¥यो । वर्षाका आँखाले भने छोराछोरीको बाटो कुरिरहेका थिए । तर एउटा कुरामा वर्षा पक्का थिई, ऊ अब फोन गरेर याचना गर्ने छैन । छोराछोरीलाई गनगन सुनाउने छैन ।

घरमा आइपुगेको भोलिपल्ट किशोरले टिफिन टेबुलमा राख्यो । मायालाई भन्यो, ‘यसमा मैले मनोयोगले उहाँलाई तागत दिने झोल बनाएको छु । पस्केर देऊ ।’
वर्षालाई अप्ठेरो लागिरहेको थियो, भनी, ‘हरे किशोरजी, यस्तो दुःख किन गर्नु भएको ? मलाई खान मन लाग्दा त मायालाई भनिहाल्छु नि ! मैले फेरि अन्य कुरा खानु पनि हुँदैन । जाउलो मात्र खाने हो ।’
किशोरले हाँस्दै भन्यो, ‘त्यै त, तपाईंले अन्य कुरा खानु हुँदैन भनेर नै जाउला बनाएर ल्याएको हुँ । एक चोटि खाएर त हेर्नुस् । त्यसपछि त तपाईं पल्कि... ।’

यसपछि किशोर केहीबेर मौन बस्यो र भन्यो, ‘मेरी श्रीमतीले बनाएको जाउलो संसारको स्वादिष्ट व्यञ्जनलाई माथ गथ्र्यो वर्षाजी । ज्यादै असल थिई ऊ । अब उसका सबैसबै असलपना सम्झनामा मात्र सीमित छ । अब त तिनै धुमिल सम्झनाबाहेक बाँच्नलाई केही छैन ।’
ऊ भावुक भएपछि ध्यान भङ्ग गर्न वर्षाले सोधी, ‘तपाईंको परिवारमा को–को छ त ?’

‘नेपालमा त मेरो मात्र एक्लो ज्यान हो,’ उसले भन्यो, ‘एउटा छोरा अमेरिका, अर्को क्यानडा हामी दुवै जना शिक्षक ! म गणितको अनि उनी नेपालीको ! श्रीमतीले दुई छोरालाई उचित शिक्षादीक्षा दिएर ठुलो बनाई अनि आफूजस्तै योग्य बुहारी भित्र्याउन खोज्थी तर छोराहरुले आफ्नो इच्छाअनुसार विवाह गरे र कहिल्यै स्वदेश फर्केनन् ।’
किशोरले लामो श्वास फे¥यो । केही क्षणपछि थप्यो, ‘त्यही दुःखले गर्दा उनलाई कहिल्यै सञ्चो भएन । ऊ गई तर एक्लो बनाई ।’

केहीबेर वातावरण निःशब्द रह्यो । ‘म पनि कस्तो ?’ सामान्य हुने प्रयास गर्दै किशोरले भन्यो, ‘बिमारी हेर्न आएको त आफ्नै दुःखको पेटारो खोल्न थालेँ । ल, जाउलो खानुहोस् अनि भन्नोस्, कस्तो लाग्यो ?’
केही क्षणमै आज्ञाकारी बालिकाजस्तो खुरुखुरु जाउलो खान थालेँ । मलाई पनि छिटो निको हुन हतार लाग्न थालेको थियो । स्वस्थ बन्नु छ र जीवनमा अझै केही गर्नु छ भन्ने मनमा खेल्न थाल्यो ।
मैले मनग्य जाउलो खाएको देखेपछि किशोरको अनुहारमा एक किसिमको सन्तुष्टि झल्कियो र ऊ बिदाबारी भएर निस्कियो ।

अब त किशोर सधैँ जसो वर्षाको घरमा आउजाउ गर्न थालेको थियो । यसबीचमा आमाको मुख हेर्न छोराछोरी दुवै आए । केहीबेरको न्यानोपन बोके र त्यो न्यानोपन आफैँसित बोकेर गए । किशोर भने नियमित रुपमा आउने गरेकाले वर्षालाई उसको बानी पर्न थाल्यो ।
किशोरको हरेक कुरालाई सकारात्मक सोचले उसलाई प्रभावित तुल्याएको थियो । कस्ता कुरालाई निरन्तरता दिने र कस्तोलाई नदिने भन्ने कुरामा अब त वर्षाले छलफलसमेत गर्न थालेकी थिई । पहिला ऊ स्रोता थिई र अहिले भने ऊ वक्ता हुन थालिसकेकी थिई ।

बीचबीचमा किशोरलाई मन लागेको कुरा थपेर वर्षालाई अझ बढी बोल्न हौसला दिन्थ्यो ।
अधिकांशतः मानिस मनको बिरामी हुन्छ, शारीरिक बिरामी त कमै हुने हो । जब मनको बिराम निको हुन थाल्छ, मानिसको तनको अधिकांश बिराम त्यसै निको हुन थाल्दोरहेछ भन्ने कुरा यसैबेला वर्षाले चाल पाई ।
०००
एक दिन टेलिभिजनमा एउटा आदर्श परिवारको बारेमा कार्यक्रम आइरहेको थियो । किशोर र वर्षा त्यही कार्यक्रम हेरेर बसिरहेका थिए । आदर्श महिला, आदर्श आमा, पत्नीको आदर्श आदिबारे छलफल भइरहेको थियो ।

कार्यक्रम हेर्दाहेर्दै किशोरको आँखाबाट तप्प आँशु चुहियो र आँशु लुकाउन खोज्दै भन्यो, ‘वास्तवमा आदर्श सम्बन्ध त्यो हो, जसले बिना शब्द सबै कुरा थाहा पाउँछ । ऊ म बिरामी हुनुअघि मेरो चालढाल हेरेर मलाई के हुन लागेको हो भनेर थाहा पाउँथी ! म उसको मौनता पढ्न सक्थेँ ।’

वर्षाले पनि थपमा आफ्नो प्रेमिल सम्बन्ध सम्झिई । केहीबेर दुवैका ‘बेटर हाफ’ सम्झने एउटा प्रतिस्पर्धा नै भयो ।
यस्तो प्रतिस्पर्धामा वर्षाले यति हलुङ्गो महसुस गरी कि एउटा मसला चिया त पिउनैपर्छ भन्ने लाग्यो र भनी, ‘चिया खाउँ लाग्यो, एक्कै छिनमा बनाएर ल्याइहाल्छु, है !’

यस पटकको चिया विशालले बनाउनेजस्तै भएको थियो । परैबाट चियाको हरक वर्षाको दिलमा छि¥यो ।
दुई कप बोकेर ऊ लिभिङ रुममा आई र एउटा कप किशोरतर्फ अघि बढाई ।
चिया हातमा पर्नेबित्तिकै किशोरले सुरुप्प पार्‍यो ।
किशोरको अनुहारमा एउटा बेग्लै सन्तुष्टिको भाव देखापर्‍यो ।
‘कस्तो मीठो चिया !’ किशोरले वर्षातिर हेर्दै भन्यो, ‘के के हालेर बनाएको यस्तो ?’
यसपछि वर्षाले लामो समयसम्म विशालको स्नेहका कुरा बताई, उसले पकाउने शैली र उसले छाडेका जीवनका पदचाप सुनाई ।

विशालको देहान्तपछि कसरी ऊ छोराबुहारीको भान्से भई र हरेक कुरामा आमाभन्दा एउटा भान्सेको व्यवहार हुन थाल्यो भन्ने उसले सुनाई ।
वर्षाको आक्रोशसँगै किशोर पनि आक्रोशित हुन्थ्यो र दुःखसँगै दुःखी, वर्षाको क्षमाशीलताका कुरासँगै ऊ पनि नरम बन्थ्यो । यस्तो लाग्थ्यो, धेरैपछि एउटा गहिरो दोस्ती यी अधवैंशेहरुले फेला पारेका छन् ।
समयसँगै कसरी छोराको अपार्टमेन्ट आमाका लागि साँघुरो हुन थाल्यो भन्ने कथा कहँदा किशोर दुःखी हुन्थ्यो, कहिले आमाको घर बेचेर ठूलो अपार्टमेन्ट लिने कुरा सुनाउँदा ऊ पनि उत्तेजित हुन्थ्यो ।

छोराबुहारीका लागि वर्षा दुहुनो गाई थिई, जसको सम्पत्ति बेचेर उसलाई अपार्टमेन्टमा सीमित गर्न चाहन्थे तर उसले मानिन । यत्ति हो, छोराबुहारीसँग कुरा नमिलेको तर बिरामी हुँदा हेर्न पनि आउन नहुनेजस्तो व्यवहार गर्न थाले ।

यी सबै कुरा सुनिसकेपछि किशोरले भन्यो, ‘वर्षा, तिमीमा अझै कामप्रतिको मोह र जाँगर छ । अझै तिमीले समाजलाई केही योगदान दिन सक्छौ । बरु हामीजस्तो मानिस त्यत्तिकै खाली बस्नु हुन्न ।’
वर्षालाई यो कुरा मन पर्‍यो । उसले यसमा सहमति जनाई ।
यसपछि किशोरको एक जना साथी, किशोर र वर्षा मिलेर वर्षा टिचिङ इन्स्टिच्युट खोल्ने निधो भयो । आर्थिक अवस्था कमजोर भएकाहरुका लागि थोरै शुल्कमा पढाउने पनि पक्का गरियो ।
०००
समयसँगै वर्षा कोचिङ इन्स्टिच्युट जनप्रिय हुन थाल्यो । मन मिल्ने साथीहरु भएपछि काम सजिलो हुँदोरहेछ भन्ने वर्षाले पनि बुझ्न थाली तर यस्ता कुरामा छोराछोरी कहिलेकाहीँ खलपात्र बनेर आइदिन्छन् । यहाँ पनि वर्षाका छोराछोरीले आपत्ति जनाए । सङ्गत ठीक नभएको सुनाए ।
एक दिन त इन्स्टिच्युटमै छोराछोरी आएर बबाल मच्चाउन थाले ।
वर्षाले पनि मुखभरिको जवाफ दिई, ‘आफू सङ्लो हुनुपर्छ, अरुले धमिल्याएर केही हुँदैन ।’

केहीबेरको मौनतापछि वर्षाले भनी, ‘जुन दिन म बिमारी भएर तिमीहरु दुवैलाई गुहारेँ र अस्पताल पुर्‍याइदेओ भनेँ, कसैले पनि आमाप्रतिको कर्तव्य महसुस गरेनौं । अब दुई चार जना मुखालेहरुले नभएको कुरा सुनाउनेबित्तिकै तिमीहरुलाई चासो जागेर आयो ? कुनै दिन पनि आमा कस्तो छ त भनेर फोन गरेनौं, त्यस्तो बेलामा माया र किशोरजीले मेरो हेरचाह गरेका बेलामा तिमीहरुलाई लाज लागेन, यतिबेला साथीहरुसँग आफूलाई सहज पाउँदा र उनीहरुसँग मज्जाले दिल खोलेर हाँस्दा समाजलाई अप्ठेरो भयो ? घरमा लडेर बस्दा मलाई अप्ठेरो नहुने, समाजलाई केही दिन्छु भन्दा अप्ठेरो मान्नुपर्ने ?’

वर्षा बढी नै आक्रोशित भएको देखेपछि किशोरले ढोकाबाट चिहाउँदै भन्यो, ‘वर्षाजी, तपाईंको क्लासको बेला भयो, यस्ता विषयमा घरैमा सल्लाह गर्दा पनि हुन्छ ।’
वर्षाले भनी, ‘उहाँबाट सिक, पराईलाई कसरी आफन्त बनाइन्छ । तिमीहरुले त आफन्तलाई नै पराई बनायौ र पीडा दियौ । तिमीहरुलाई अप्ठेरो लागे लागोस्, तिमीहरुको बेइज्जत भए होओस्, तर किशोरजीलाई चिनिराख । उहाँ तिमीहरुको अंकल र मेरो भावनाको साथी हो ।’

वर्षाको कुरा सुनेपछि विवेक र विशाखालाई आत्मग्लानि भयो । दुवैले महसुस पनि गरे, वास्तवमा आमाको यो उज्यालोपन हामीले होइन, किशोरले ल्याएको हुनाले यस किसिमको भावनालाई हामीले मार्नु हुँदैन ।
विवेक र विशाखाले वर्षालाई अँगालो हाल्दै भने, ‘हामीलाई हजुरको सेफ्टीको चासो मात्र हो, तपाईंको खुसीको दुश्मन होइनौँ । तपाईंको खुसी नै हाम्रो खुसी हो ।’
वर्षाले दुवै छोरा–छोरीलाई धाप मारेर कुरिरहेका विद्यार्थी पढाउन निस्की ।

प्रकाशित: १८ भाद्र २०७६ ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App