बर्जित बहुविवाह

बुधबार, १८ भदौ २०७६, ११ : ३३ अनन्तराज लुइँटेल

बहुविवाह बर्जित भएको धेरै वर्ष बितिसक्दा पनि कतिपय नेता, अभिनेता र समाजका सेलिब्रिटीहरु बहुविवाहको चक्करमा पर्दा चर्चाको विषय बन्ने गरेका छन् । प्रेम र सम्बन्ध यसै पनि धेरैले ख्याल गर्ने मानवीय चासो र सरोकारका विषय हुन् ।

हाम्रै कानुनले पनि विवाहलाई एक ‘पवित्र सामाजिक तथा कानुनी बन्धन ‘मानेको भए तापनि यसलाई खेलौनाको विषय बनाएका प्रशस्तै उदाहरणहरु छन् । विवाह सामाजिक सम्बन्ध हँदाहुँदैै पनि तोकेका सीमाहरु ख्याल नगर्दा यो अपराध बन्न पुग्छ र सम्बन्ध कस्नेहरु कानुनको कठघरामा पुग्ने गर्छन् ।

यस्तै चर्चा र  चासोको विषय बन्न पुगेका छन् चलचित्र निर्माता छवि ओझा तथा उनकी अभिनेतृ पत्नी शिल्पा पोखरेल । असार र साउन महिना मिडियामा छवि–शिल्पाको ‘प्रेम कथा’ को निकै चर्चा परिचर्चा भयो । कानुन कार्यान्वयन निकायसमक्ष उनीहरुको सम्बन्धको विषय पुगेको छ, तर तत्कालै समाधानको बाटोभन्दा पनि झन्झन् बल्झिन खोजेको देखिन्छ ।

छवि–शिल्पा सम्बन्धको विषयमा जत्तिकै विकास निर्माण, भोकमरी वा बाढीपीडितको विषयमा कलम चलाइएको भए सम्भवतः पहिल्यै यी समस्यामा केही न केही समाधान आई मिडियाको प्रभावका ठूलाठूला शीर्षकहरुमा समाचार र विचार छापिइसक्ने थिए। अभिनेत्री पोखरेल र निर्माता ओझाको प्रेम विवादले नेपालमा पनि सेलिब्रिटीहरुको समाचार बिक्री हुने अवस्था आइसकेको देखिएको छ । प्रचारको क्षेत्रमा काम गरिरहेका केही व्यक्तिहरु पनि बहुविवाहको चक्करमा पर्दा चर्चाको विषय बनिसकेका छन् ।

अहिले यी दुवैजना बहुविवाहको कसुरमा जेल जानसक्ने पाटोका विषयमा पनि चर्चा भइरहेको छ । छविले आफूलाई यातना दिएको भन्दै प्रहरीसमक्ष पुगेकी शिल्पाले न्याय मागिसकेकी छन् भने उनलाई नै विपक्षी बनाएर छविकी पहिलो श्रीमतीको दाबी गर्दै हेमा ओझा पर्दा अघि देखिँदा विवाद त्रिकोणात्मक बन्न पुगेको छ । भारतीय र पश्चिमा सेलिब्रिटीहरुझैँ नेपाली कलाकारहरु पनि यस्तै चर्चाको विषय बन्न थालेका छन् । ‘मिडिया स्टण्ट’ को रुपमा मात्रै यी विवाद जन्माउन खोजिएको होइन भने उनीहरु कानुनको कठघरामा पर्नसक्ने देखिँदैछ ।  

छविकी जेठी श्रीमती हेमाले श्रीमान छवि र शिल्पाविरुद्ध प्रहरीमा बहुविवाहको उजुरी दिएपछि विवाद झन् अप्ठ्यारोतिर गइरहेको छ । साउन ५ मा महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको उजुरी दायरा भइसकेको छ तर कारबाहीले तीव्रता लिएको छैन । सामान्य व्यक्तिविरुद्ध जाहेरी परेको भए प्रहरीले पक्राउ गर्न १५/२० दिनको समय कहिल्यै लगाउँदैनथ्यो । फिल्मी क्षेत्रको पहुँचवाला व्यक्ति भएकाले हुनसक्छ प्रहरी तत्कालै अघि बढ्न सकेको छैन ।  

हेमाको उजुरीले छवि–शिल्पा विवादमा आगोमा थपिएको घ्यूको काम गरिरहेको छ । जाहेरीमा भनिएको छ, ‘मसँग सम्बन्ध रहँदा रहँदै बहुविवाह गरेकोले हिजो मात्र मैले विपक्षी पति छविराज ओझा र शिल्पा पोखरेलबीच मिति २०७५ साल पुस ११ गते विवाह दर्ता गरेको निज विपक्षीहरुको विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि फेला पारेपछि निजहरुले बहुविवाह गरेको प्रमाणित नै भएकाले निज मेरो विपक्षी श्रीमान् छविराज ओझाले घरमा श्रीमती (म) हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा म यो जाहेरी लिई उपस्थित भएकी छु । निज मेरा विपक्षी पति छविराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुनबमोजिम यथाशक्य चाँडो नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाई अनुसन्धानसमेत गरी निजहरुलाई कानुनबमोजिम सजाय गरीपाऊँ ।‘

शिल्पा र छविले तीन वर्ष अगाडि गुपचुप विवाह गरेका थिए । छविको चौथो श्रीमतीको रुपमा भित्रिएकी शिल्पाले असारमा श्रीमान्बाट घरेलु हिंसामा परेको भन्दै प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन् । त्यहाँ दुईबीच अब कहिल्यै झगडा नगर्ने भन्दै मिलापत्र भएको थियो । तर, कागजी सहमति भए पनि शिल्पा घर नफर्किने बताएकी थिइन् ।
शिल्पाले डिभोर्सका लागि केही दिनअघि अदालतमा निवेदन दिइसकेको पनि सार्वजनिक रुपमै बताएकी छिन् । तर छविको जेठी श्रीमतीको उजुरीसँगै छवि र शिल्पाबीचको विवादले अर्कै रुप लिइरहेको छ ।  

मुलुकी देवानी संहिताको दफा ६७ ले कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पतिपत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मान्दछ । विवाह पुरुष र महिलाबीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नका लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानुनी बन्धनको रुपमा परिभाषित गरिएको छ ।  

प्रत्येक व्यक्तिलाई कानुनको अधिनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता हुने र जुन माध्यम वा तरिकाबाट विवाह भएको भए तापनि विवाह सार्वजनिक गरिनुपर्ने शर्त तोकिएको छ ।  
पुरुष र महिलाले एक अर्कालाई पतिपत्नीको रूपमा स्वीकार गर्न मञ्जुर गरेमा, कानुनबमोजिम पुरुष र महिला हाडनाता करणीमा सजाय हुने नभएमा, पुरुष र महिला दुवैको वैवाहिक सम्बन्ध कायम रहेको अवस्था नरहेमा, बीस वर्ष उमेर पूरा भएमा विवाह गर्न पाउने योग्यताहरु हुन् । आफ्नो कुल र समुदायमा चलेको चलन र परम्पराअनुसार विवाह गर्न सबै स्वतन्त्र पनि हुन्छन् ।  

विवाहका लागि योग्यताहरु जसरी तोकिएका छन्, कानुनमै अयोग्यताहरु पनि तोकिएका छन् । विवाहका लागि अक्षम व्यक्तिलाई सक्षम हो भनी झुक्याई वा गलफलमा पारी विवाह गर्न गराउन, एचआईभी वा हेपाटाइटिस बी रहेको वा कडा रोग लागेको, यौनकर्मी नभएको वा नपुंसक वा सन्तान उत्पादन गर्नसक्ने क्षमता नभएको व्यक्तिलाई झुक्याएर विवाह गराउन नहुने गरी अयोग्यताहरु पनि तोकिएका छन् । बोल्न वा सुन्न नसक्ने दृष्टिविहीन वा कुष्ठ रोगी, पूर्णरुपमा सुन्न नसक्ने, पूर्ण रुपमा दृष्टि विहीन र सन्तान उत्पादन गर्न नसक्ने व्यक्तिलाई समेत झुक्याएर विवाह गर्न नपाइने व्यवस्था छ ।

होस ठेगानमा नभएको, विवाह भैसकेको, गर्भवती, नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरी अदालतबाट सजाय पाएको व्यक्तिलाई विवाहका लागि कानुनले अयोग्य मानेको छ भने झुक्याएर विवाह गरेको त्यस्तो व्यक्तिबाट क्षतिपूर्ति दाबी गर्न सक्ने व्यवस्था मुलुकी देवानी संहिताको विवाहसम्बन्धी परिच्छेदमा व्यवस्था छ । दृष्टिविहीन वा आवाज विहीनहरुको वैवाहिक अयोग्यताको विषयमा कुनै दिन छलफल होला तर झुक्याएर त्यस्तो क्षमता लुकाई विवाह गराएको अवस्थासम्मलाई कानुनले अयोग्य मानेको हो ।

झुक्याई विवाह गरेको कारणबाट मर्का पर्ने व्यक्तिले त्यस्तो विवाह बदर गराउन र झुक्याई विवाह गर्ने वा गराउनेबाट मनासिव क्षतिपूर्तिसमेत दाबी गर्ने व्यवस्थाले झुक्याई विवाह गराउन नसक्ने गरी कसिलो बनाइदिएको छ ।

पुरुष वा महिलाको मञ्जुरी नभई भएको विवाह, हाडनाता करणीमा सजाय हुने नाताका व्यक्तिहरूबीच भएको विवाह, अंशवण्डा गरी भिन्न भएको अवस्थामा बाहेक विवाहित पुरुष वा महिलाले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा गरेको अर्को विवाह अर्थात् बहुविवाहलाई प्रारम्भदेखि नै अमान्य हुने उद्घोष पनि ऐनमा गरिएको छ ।  

विवाहका धेरै आयामहरु छन् । कसैले घोषित रुपमा विवाह नगर्ने वा सहमतिमा शारीरिक सम्पर्क त गर्ने तर त्यसको परिणाम व्यहोर्न तयार नहुनेहरुका हकमा समेत स्पष्ट व्यवस्था गरिएको छ । दफा ७३ बमोजिम झुक्याएर विवाह गरे वा गराएमा, कुनै महिला गर्भवती भएमा वा निजबाट शिशु जन्मिएमा निजको मञ्जुरी भएमा मात्र विवाह बदर हुन सक्नेछ भने कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिनेछ ।

तर जबर्जस्ती करणी र हाडनाताका व्यक्तिबीचका व्यक्तिको शारीरिक सम्बन्धका आधारमा शिशुको जन्म भए तापनि सो बाट स्वतः विवाह भएको मानिने छैन । विवाह गर्ने उमेर पूरा नभएको र बहुविवाह कायम हुने अवस्था कायम रहेमा त्यस्तो सम्बन्धबाट शिशु जन्मिएकै आधारमा विवाह मानिन नसक्ने पनि स्पष्ट व्यवस्था छ ।

बर्जित शारीरिक सम्बन्धबाटै शिशु जन्मिएमा पनि त्यस्तो शिशुको कानुनी हकमा भने असर नपर्ने सुनिश्चित गरिएको छ । पारम्पारिक विवाहका अतिरिक्त दर्ताद्वारासमेत विवाह गर्न सकिने व्यवस्था संहिताले गरेको छ । कुनै पुरुष र महिलाले दर्ताद्वारा विवाह गर्न चाहेमा आफ्नो नाम, थर, उमेर, ठेगाना, पेशा, बाबु, आमा, बाजे, बज्यैको नाम, अघि विवाह भए वा नभएको र विवाह भएको भए वैवाहिक सम्बन्ध अन्त्य भएको व्यहोरा तथा कम्तीमा दुईजना साक्षीको नामसमेत खुलाई नेपालभित्र भए सम्बन्धित जिल्ला अदालत र नेपाल बाहिर भए नेपालको राजदूतावासमा वा महावाणिज्य दूतावाससमक्ष निवेदन दिनुपर्छ ।

कानुनबमोजिमको निवेदन परेपछि सम्बन्धित अधिकारीले सात दिनभित्र विवाह दर्ता गराई प्रमाणपत्र दिनुपर्छ । विवाह गर्न सक्ने अवस्था रहेनछ भने सम्बन्धित अधिकारीले एक साताभित्र उपयुक्त निर्णय गर्न सक्नुपर्छ भन्ने व्यवस्था छ ।

विवाह भएपछि विवाहिता महिलाले बाबु वा आमाले प्रयोग गरेको थर वा निजको पतिको थर वा दुवै थर प्रयोग गर्न सक्ने लचिलोपना अपनाइएको छ । विवाहिता महिलाको थरको सम्बन्धमा कुनै प्रश्न उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजले आफ्नो पतिको थर प्रयोग गरेको मानिनेछ भने पतिको थर प्रयोग गरेकी महिलाको सम्बन्ध विच्छेद भएमा निजले चाहेमा निजको बाबु वा आमाले प्रयोग गरेको थर प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।  
मुलुकी अपराध संहिता २०७४ को दफा १७५ को उपदफा (४) मा बहुविवाहसम्बन्धी कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

अँग्रेजी साहित्यकार जर्ज बर्नाड शाले विवाहको विषयमा रमाइलो व्यङ्ग्य गरेका छन् । ‘म्यारिज इज एन अलायन्स इन्टर्ड इन्टु बाइ ए म्यान हु कान्ट स्लिप वीथ द विण्डो सट, एण्ड ए वुमन हु कान्ट स्लिप वीथ द विण्डो ओपन ।‘ अर्थात् पुरुष त्यस्तो सम्बन्धमा प्रवेश गरेको क्षण विवाह हो कि उसले झ्याल बन्द गरेर सुत्नै सक्दैन भने महिलाले झ्याल खुला गरेर सुत्नै नसक्ने सम्बन्ध नै विवाह हो । हेर्नुछ, छवि–शिल्पाले गरेको बहुविवाहले कानुनको ढोका थुनिन्छ या खोलिन्छ । अस्तु ।

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad