१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रशासन कार्यालय बन्द, सेवाग्राही प्रभावित

सोलुखुम्बु – खुम्बुमा स्थापित सीमा प्रशासन कार्यालय महिनौंदेखि बन्द हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ। कार्यालय प्रमुख नवदीप राईले परीक्षा दिन भन्दै साउनमै खुम्बु छाडेका र कार्यालय सहयोगीसमेत एक सातादेखि काठमाडौं रहेकाले सेवाग्राहीले सास्ती खेप्नुपरेको हो।

अधिकृत तहका एक र कार्यालय सहयोगी गरी दुईजना कर्मचारी कार्यरत सो कार्यालयमा लामो समयदेखि कार्यालय प्रमुख बिदामा बसेपछि नागरिकता वितरण तथा राहदानी सिफारिसमा समस्या भएको छ। सोही कामका लागि सर्वसाधारणले तीनदिनको बाटो धाएर सल्लेरी पुग्नुपर्ने बाध्यता छ।

अहिले नागरिकता बनाउन सल्लेरी झर्नुपर्ने बाध्यता रहेको छ भने प्रतिलिपि बनाउन पुरानो रेकर्ड हेर्ने कर्मचारीसमेत नहुँदा सल्लेरीको बसाइ लम्बिएको भन्दै एक सेवाग्राहीले गुनासो गरे। कार्यालय सहयोगी पेम्बाछिरी शेर्पाले एक महिनादेखि कार्यालय प्रमुख बिदामा रहेको स्वीकार गरे। उनले भने, ‘भदौको पहिलो साता आउँछु भन्नुभएको थियो। अहिलेसम्म आउनुभएको छैन।’ उनले आफू पनि घरायसी कामले बिदामा काठमाडौं रहेको बताए।

कार्यालय सहयोगी पेम्बाछिरी शेर्पाले एक महिनादेखि कार्यालय प्रमुख बिदामा रहेका र आफू पनि घरायसी कामले काठमाडौंमा रहेको बताए।

कार्यालय प्रमुख परीक्षाका लागि बिदामा बसेको भने पनि कुनै निकायमा आधिकारिक बिदा स्वीकृत गराएको जानकारी छैन। जिल्ला प्रशासन कार्यालयमा समेत बिदाबारे लिखित जानकारी नभएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए। गृह मन्त्रालयमा बुझ्दा नवदीप राईले अन्यत्र जानका लागि सहमति लिइसकेको जानकारी पाएको प्रजिअ खनालले बताए। उनले भने, ‘राईको टेलिफोन अफ छ। यथार्थ पत्ता लगाउने गरी खोजी कार्य सुरु गर्नेछु।’ खुम्बु पासाङल्हामु गाउँपालिकाले पनि कुनै जानकारी नपाएको बताएको छ।

प्रवक्ता ल्हाक्पाछिरी शेर्पा कार्यालय बन्द हुँदा सर्वसाधारणले दुःख पाएको विषयमा जानकार भए पनि सीमा प्रशासनले स्थानीय सरकारसँग कुनै पनि समन्वय नगरेको बताए। भौगोलिक कठिनाइका कारण त्यस भेगका नागरिकलाई प्रशासनिक सेवा दिन स्थापना गरिएको सीमा प्रशासन कार्यालयमा नियमित कर्मचारी नबस्दा नागरिक पटकपटक सल्लेरी झर्नुपर्ने बाध्यता सिर्जना हुँदै आएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालयमा प्रजिअ तथा सहायक प्रजिअ नहुँदा कामको चाप हेरेर सो कार्यालयले सीमा प्रशासन कार्यालय प्रमुखलाई जिम्मेवारी दिँदै आएको थियो।

प्रकाशित: १८ भाद्र २०७६ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App