१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ल्याप्चे युग अन्त्य हुने संकेतसँगै लगानीकर्तामा उत्साह

करुण ढकाल
काठमाडौं – लगातार ओरालो लागेको पुँजीबजारमा साताको तेस्रो दिन मंगलबार भने सुधार देखिएको छ। सस्तो मूल्यमा सेयर उठाउने लगानीकर्ता सक्रिय हुँदा बजार उकालो लागेको छ। कारोबार अवधिभरि नै तीव्र उतारचढाव देखिएको नेप्से यस दिन २०.५७ बिन्दुले बढेर बजार बन्द भएको छ। ११७०.३४ मा खुलेको बजार मध्याह्न १२ बजेतिर ११५६.७ बिन्दुमा ओर्लेको थियो। त्यसपछि उकालो लागेर आधा घन्टामै ११७५ बिन्दुमा पुगेको बजार फेरि ओरालो लाग्न सुरु गरी ११६१.५ मा झरेको थियो। पछिल्लो डेढ घन्टामा भने क्रेता सक्रिय हुँदा बजार निरन्तर बढेर बन्द भएको हो। बजार अघिल्लो दिनको तुलनामा १.७६ प्रतिशतले बढेर ११९०.९ बिन्दुमा पुगेको छ। एकै दिन यति धेरै बिन्दुले नेप्से बढेको गत वैशाख ८ यता पहिलो पटक हो। वैशाख ८ गते नेप्से ३२ बिन्दुले उकालो लागेको थियो।

सिडिएससीले ‘ल्याप्चे युग’ अन्त्य गर्न लागेको संकेत दिएपछि लगानीकर्ता उत्साहित हुँदा बजार बढेको ब्रोकर नम्बर ३८ को कार्यालयमा भेटिएका लगानीकर्ता भीम श्रेष्ठले बताए। सिडिएससीले आफ्नो सफ्टवेयर आधार मूल्य प्रविष्ट (इन्ट्री) गर्न मिल्नेगरी विकास गरेको सूचना मंगलबार बिहान प्रवाह गरेको थियो। गत साउन १ यता लगानीकर्ता आफूले बेचेको सेयरको आधार मूल्य घोषणा गर्न ब्रोकर कार्यालयसम्म धाएर फारम भरी त्यसमा औंठा छाप (ल्याप्चे) लगाउन बाध्य छन्। यस्तो प्रावधानले अनलाइन युगमा प्रवेश गरिसकेको नेपालको सेयर बजारलाई पछाडि धकेलेको विश्लेषण गर्दै लगानीकर्ता असन्तुष्ट बनेका छन्। सिडिएससीको कदमले यस्तो बाध्यताबाट मुक्ति मिल्ने आशा लगानीकर्ताको छ।


सिडिएससीले आधार मूल्य प्रविष्ट गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको सूचना प्रवाह भएपछि लगानीकर्ता उत्साहित देखिएका छन्।

मंगलबार नेप्सेसँगसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५३ प्रतिशतले बढेर २६०.२३ बिन्दुमा पुगेको छ। यस दिन कारोबार भएका ११ वटा समूहमध्ये अन्य र म्युचुअल फन्ड समूहबाहेक सबैका सूचक उकालो लागेका छन्। सबैभन्दा बढी जीवन बिमा समूहको सूचक २.७७ प्रतिशतले उकालो लागेको छ। यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि २.७५ प्रतिशतले उक्लेको छ। बिन्दुगत आधारमा हेर्दा पनि सबैभन्दा बढी जीवन बिमा समूह १४५.५ बिन्दुले उकालो लागेको छ। यसैगरी निर्जीवन बिमा समूह १२३.५३ बिन्दुले उक्लेको छ। उत्पादनमूलक समूह ४७.९९, लघुवित्त ३३.४३, होटल्स २३.६१, जलविद्युत् २१.९३, विकास बैंक २१.५९, बैंकिङ १८.९८ र वित्त समूह ६.५७ बिन्दुले माथि उक्लेका छन्। बढ्दो बजारमा पनि अन्य समूह ०.०५ र म्युचुअल फन्ड समूह ०.०१ बिन्दुले ओरालो लागेका छन्। 

कारोबार रकममा निरन्तर वृद्धि
मंगलबार कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। यस दिन ५१ करोड पाँच लाख ५२ हजार ४१ रुपैयाँको सेयर किनबेच भएको छ। यो अघिल्लो दिनको तुलनामा २५.३ प्रतिशत बढी हो। सोमबार ४० करोड ७५ लाख ६९ हजार सात सय १२ रुपैयाँको सेयर किनबेच भएको थियो। यस्तै आइतबार २९ करोड ७३ लाख ९८ हजार तीन रुपैयाँको सेयर किनबेच भएको थियो।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल बंगलादेश बैंक प्रमोटर सेयरको भएको छ। यो सेयर पाँच करोड ७२ लाख ३० हजार रुपैयाँको किनबेच भएको हो। कारोबार रकमका आधारमा दोस्रोदेखि पाँचौंसम्म क्रमशः नेपाल बैंक, नेपाल लाइफ इन्सुरेन्स, एनआइसी एसिया र सानिमा बैंक छन्। कृषि विकास बैंक, मेगा बैंक (प्रमोटर), कुमारी बैंक, प्रभु बैंक र शिवम सिमेन्ट पनि कारोबार रकमका आधारमा उत्कृष्ट १० कम्पनीभित्र परेका छन्।

युनिभर्सल पावरमा पोजेटिभ सर्किट
यस दिन सबैभन्दा बढी मूल्य बढ्ने कम्पनीमा युनिभर्सल पावर परेको छ। यो कम्पनीको सेयर मूल्य ९.४६ प्रतिशतले बढेर सर्किट लागेको छ। यस्तै सूर्या लाइफ इन्सुरेन्स, महिला सहयात्रा लघुवित्त, एसियन लाइफ इन्सुरेन्स र आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि सात प्रतिशतभन्दा बढीले उकालो लागेको छ। उच्च मूल्य बढ्ने १० कम्पनीभित्र लुम्बिनी जनरल इन्सुरेन्स, सिद्धार्थ इन्सुरेन्स, नेसनल लाइफ इन्सुरेन्स, युनाइटेड इन्सुरेन्स र नेसनल हाइड्रोपावर कम्पनी पनि परेका छन्।

बढ्दो बजारमा पनि सिटी एक्सप्रेसका लगानीकर्ता सबैभन्दा बढी गुमाउनेमा परेका छन्। यो कम्पनीको सेयर मूल्य ४.८ प्रतिशतले ओरालो लागेको छ। यस्तै रिडी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर र ग्रिन डेभलप्मेन्ट बैंकको सेयर मूल्य पनि दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

यस दिन एक सय ७१ कम्पनीको कारोबार भएकोमा एक सय ३७ वटाको मूल्य उकालो लागेको छ भने १९ वटाको खस्केको छ। यस दिनको एडी रेसियो ७.२ छ। यसले बजार बुलिस अवस्थामा रहेको संकेत गर्छ। नेप्सेले तलपट्टि लामो छाया र ठूलो शरीर भएको हरियो महिनबत्ती बनाएको छ। यसले बजारमा विक्रेतामाथि क्रेता हावी भएको संकेत गर्छ। बजारको दिशाबारे निश्चित हुन भने बुधबार बन्ने महिनबत्ती कुर्नुपर्ने हुन्छ।

प्रकाशित: १८ भाद्र २०७६ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App