१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लाजले मदिरा सेवनकर्ता स्वाट्टै घटे, जग्गा बेचेर पिउने गाेरे भन्छन् 'गाउँमा मेरै उदाहरण दिन्छन्'

बाजुरा- गौमुल–६ सटेडाका गोरे मिजारले तीन दशक बढी मदिरा सेवन गरिरहे। २० वर्षको जवानीदेखि सुरु गरेका मिजारले ५० नाघिसक्दापनि मदिरा खान छोडेनन्। श्रीमतीका गह गहना समेत विक्री गरे, भएको जग्गा जमिनसमेत मदिरा पिउनमै उडाए। मिजार कुनै दिन नबिराई मदिरा सेवन गर्थे।

गरिबीले भोको पेट बस्नुपर्ने त्यसमै गाली कुटपिट दिनहुँ सहनुपर्ने श्रीमती पीडा सहन नसकी पोइला गइन्। मिजार एक्लो भए, तरपनि मदिरा सेवन गर्न छोडेनन्। तर ६ महिनादेखि भने उनले मदिरा सेवनको नाममा छोएका पनि छैनन्।

ठूलै दुःख र कष्ट सहनु परेकै कारण भने मिजारले मदिरा छोडेका होइन्, जब गौमुल गाउँपालिकाले मदिरा सेवन कार्डको नीति बनायो, तब उनी छोड्न बाध्य भए। गाउँपालिकाले मदिरा सेवनकर्ताको हकमा अनिवार्य मदिरा सेवन कार्ड बनाउनुपर्ने र खाँदा साथमा बोक्नु पर्ने प्रावधान ल्याएको छ।

गाउँपालिकाले नीति बनाए लगत्तै सुरुमा मदिरा कार्ड पनि बनाए। एक केही समय कार्ड घाँटीमा राखेरै सेवन पनि गरे। जब गाउँ घर आफन्तहरुले जड्याको नामले बोलाउन थाले, उनलाई सबैभन्दा ठूलो हिनता लाग्यो र मदिरा खानै छोडिदिए।

'सम्पत्ति सकेर श्रीमती पोइला जाँदा पनि मदिरा छोड्न मन लागेन्, जब घाँटीमा जड्याहा लेखेको कार्ड झुण्ड्याएर पसल छिर्नुपर्ने र मदिरा सेवन गर्नुपर्ने भएपछि आत्मादेखि नै लज्जाबोध भयो, विगत बिर्सेर मदिरा पनि चटक्कै छोडेँ' नागरिक न्यूजसँग गोरे मिजारले भने 'एक वर्षजति भो मैले मदिरा छोएकै छैन्, गाउँमा सबैले मेरै उदारण दिएर सुध्रिएको भन्छन्, खुसी लाग्छ मिजारले थपे।'

गौमुल गाउँपालिकाले मदिरा कार्ड विना मदिरा सेवन गर्नेलाई १५ हजार जरिवाना लिने गरेको छ। ५ सय तिरेर कार्ड लिनुपर्ने र प्रत्येक वर्ष नविकरण गर्नुपर्ने प्रावधान राखिएको गाउँपालिका उपाध्यक्ष सिता थापाले बताईन्। गाउँपालिकाले मदिरा कार्ड प्रयोग गर्न थालेको २ वर्ष बितेको छ।

२ वर्षको अवधीमा गोरे मिजारजस्तै धेरैले लाजले मदिरा खानै छोडेका छन्। मदिरा सेवन कार्डको प्रयोगपछि गौमुल–२ का भरत धामी र गौमुल–१ का रामबहादुर रोकाया पनि खुसी छन्। १५ वर्षदेखि मदिरा सेवन गर्दै आएका भरत धामीले हाल मदिरा सेवन गर्न चटक्कै छोडेका छन्।

'धेरैले सिकाउँदा र नगर्न भन्दा सम्झिन मन लागेन्, जब घाँटीमा मदिरा कार्ड बोकेर जड्याहाको सूचीमा नाम लेखियो, त्यसैदिन देखि नखाने संकल्प गरियो' रोकायाले भने। गाउँपालिकामा यस्तै दर्जनौ उदारण छन्। गाउँपालिकाले पनि जड्याहा सूची भने राख्ने गरेपछि कर्मचारी देखि शिक्षकहरुले पनि खान छोडेका छन्।

मदिरा निषेधित क्षेत्र घोषणा गर्दैमा खानेको संख्या कमी हुने थिएन्, जब मदिरा सेवन कार्डको प्रयोगपछि कमी हुँदै गएको गाउँपालिकाका प्रशासन सहायक गणेश रोकायाले बताए। गाउँमा गाली झगडा र विवादका घटना नै सुनिन छोडेको रोकायाले बताए।

पहिलो वर्ष १ हजार ३ सय ५४ जनाले मदिरा कार्ड प्रयोग गरेका थिए। भने यो वर्ष भदौ १६ गतेसम्म ३ सय ७७ जनाले मात्र नविकरण गरेका छन्। लाजकै कारण मदिरा कार्ड नविकरण गर्न छोडेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन्। कडाइ गर्दैमा मदिरा सेवन गर्नेक्रम नघट्ने देखेपनि नयाँ तरिका अपनाउँदा सहज भएको रोकायाको भनाई छ।

गौमुल गाउँपालिकाको मानाकोट क्षेत्र जिल्लाकै बढी आपसी विवाद हुने सूचीमा थियो। तर विगत एक वर्षयता त्यो क्रम घटेको प्रहरीको भनाई छ। महिला हिंसा, गाली बेइज्जती र आपसी विवाद तथा मदिरा सेवन गरेर बाटोमा शिक्षक सुतेको जस्ता घटनाहरु पनि सुनिन छोडेको उपाध्यक्ष सिता थापाको भनाई छ।  ६ वटा वडा रहेको गाउँपालिकामा २९ वटा मदिरा पसललाई मात्र अनुमति दिएको छ। घाँटीमा मदिरा सेवन कार्ड नभएको व्यक्तिलाई मदिरा दिएको भेटिए दुबैलाई कारवाही गर्ने गरिएको छ।

हाल ३ लाख ५० हजार बढी कारवाहीबाटै गाउँपालिकामा राजस्व संकलन भएको छ। मदिरा कार्ड लिएकालाई पनि ८ बजेदेखि १० बजेसम्म १ सय ८० एमएल बढी नदिने निर्णय छ। निर्णय कार्यान्वयनका लागि सिभिलमा प्रहरी, जनप्रतिनिधीलाई अनुगमनमा खटाउने गरिएको छ।

अघिल्लो वर्ष शिक्षक, कर्मचारी मदिरा कार्ड लिनेमा बढी थिए, यो वर्ष उनीहरु कसैले पनि नविकरण गरेका छैनन्। सार्वजनिक रुपमै नाम टाँसिने भएपछि बाध्य भएर मदिरा छोड्नुपर्ने अवस्था छ। जसले सामाजिक शान्तिमा परिवारिक मेलमिलाप आर्थिक आम्दानीमा सजिलो भएको गौमुलकी रचना विकले बताएकी छन्। उसोत गौमुल गाउँपालिकाका निर्णयले राष्ट्रियसभामै चर्चा पाएको थियो।

प्रकाशित: १७ भाद्र २०७६ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App