१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘बर्मा’मा मनाइयो तीज

काठमाडौँ- म्यान्मामा रहेका नेपालीभाषी महिलाले नाचगान र मन्दिरमा पूजा गरी तीज पर्व मनाएका छन्। यान्गुनस्थित नेपाली दूतावासले तीजका अवसरमा नेपालीभाषी महिलालाई दूतावासमा निम्त्याएर दर खाने कार्यक्रम पनि राखेको थियो।     

कार्यक्रममा चार सयभन्दा बढी नेपालीभाषी म्यान्माली महिलाको सहभागिता थियो। नेपालमा रेकर्ड गरिएका नेपाली गीतबाहेक त्यहाँ रेकर्ड गरिएका नेपाली गीतमा पनि उनीहरुले नाचगान गरेका थिए।    

यस्तै तीजकै अवसर पारेर नेपाली दूतावासमा नेपाली हस्तकलाका सामग्रीसहितको मेला पनि लागेको थियो। मेलामा नेपाली खाना तथा म्यान्मा र नेपालका हस्तकलाका सामग्रीका बीस कक्ष थिए। कार्यक्रमका लागि नेपालबाट हस्तकलाका सामग्री लिएर १६ महिला उद्यमी ‘बर्मा’ पुगेका थिए।    

यान्गुन सरकारका पर्यटनमन्त्री ना पान थिन्जार मिउले मेलाको उद्घाटन गर्दैै नेपाली हस्तकलाको प्रशंसा गर्नाका साथै दुवै देशले व्यापार र पर्यटनबाट फाइदा लिन सक्ने बताए।    

कार्यक्रममा म्यान्माका लागि नेपाली राजदूत भीमकृष्ण उदासले नेपाल र म्यानमाबीचको सुमधुर सम्बन्ध नागरिकस्तरमा पनि विस्तार भइरहेको बताए। उनले सन् २०२० मा नेपालले पर्यटन वर्ष मनाउन लागेकाले बुद्धभूमि नेपाल ‘बर्मेली’ पाहुनालाई स्वागत गर्न आतुर छ भने।   

कार्यक्रममा राजदूत पत्नी रञ्जना उदासले विभिन्न सामाजिक संस्थामा योगदान गर्ने नेपालीभाषी महिलालाई थैली उपहार दिएर सम्मान गरेका थिए। म्यान्मामा एक लाखभन्दा धेरै नेपालीभाषी छन्। नेपालीभाषीले म्यानमाभर करीब चार सय मन्दिर स्थापना गरेका छन्।रासस

प्रकाशित: १७ भाद्र २०७६ १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App