१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरमा गणेश चतुर्दशीको रौनक

भक्तपुर - घरघरमा भगवान श्री गणेशको पूजा गरी सोमबार भक्तपुरमा गणेश चतुर्दशी अर्थात चोथा पूजा गरिएको छ।  साँझ सूर्यास्तसँगै घरघरको झ्याल वा छतमा गणेशको तस्बिर राखेर भगवान गणेशको पूजा गरिएको हो।  यसलाई स्थानीय नेपाल भाषामा चोथा पूजा भनिन्छ।  पूजाको क्रममा घरघरमा पूजाआजा गर्नुका साथै गेडागुडी भुटेर खाने चलन छ।  मकै, गहुँ, भटमास, बकुल्ला, बदाम, केराउ, सिमीलगायतका गेडागुडी खाएर पर्व मनाइन्छ।  पूजाआजा सकेपछि गुडागुडी खाने चलन छ।  यसअघि पूजा सुरु गर्नुभन्दा अगाडि घरघरमा गुडागुडी भुट्ने गर्दछन्।

पर्वको विशेष विशेषता पनि रहेको छ, त्यो हो चोरेर खानु।  यसकारण यो रातमा चोरेर खाने चलन यद्यपि छ।  खेतबाट काँक्रो, लसुन, भोगटे, कागती, नरिवल, केरा, अम्बालगायतका मौसमी फलहरु रातको समयमा चोरेर खाने चलन यद्यपि बाँकी नै छ।  स्थानीय दीपकबहादुर श्रेष्ठ स्थानीयहरु अहिले पनि यो पर्वलाई चोरी खाने पर्वको रुपमा बुझ्ने बताउँछन्।  ‘हामी त उहिले युवा अवस्थामा यो पर्वका दिन रातभरि चोरी गरेर दुःख दिन्थ्यौ,’ उनले स्मरण गरे, ‘तर यो दुःख दिने नियतले थिएन।  पर्व मनाउने हिसाबमा थियो। ’

यो चलन पहिला जस्तै व्यापक नभए पनि नहराएको स्थानीय सुनाउँछन्।  यस दिनदेखि नै चन्द्रमामा दोष हुने र चन्द्रमा देखिहालियो भने केही सानोतिनो कुरा चोरेर त्यो दोष कटाउन सकिन्छ भन्ने जनविश्वासका कारण चोरीको परम्परा रहेको उनीहरुको भनाइ छ।  पर्वको अवसरमा टोलटोलका गणेश मन्दिरहरुमा भगवान् शिव–पार्वती पुत्र गणेशको जन्मोत्सव पूजा आराधना गर्न गरिन्छ।  यसदिन गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको समयबजी तथा फलफूल चढाउने चलन पनि रहेको छ।

महिनौंदेखिको तीजको रौनक रहने भए पनि नेवार वस्ती रहेको भक्तपुर नगरभित्र तीज नभई चोथाको रौनक हुन्छ।  त्यस क्रममा पर्वको बिहानदेखि नै चोथा पूजाको लागि तयारी सुरु गरिएको थियो।  साँझ भने सूर्यास्तसँगै घरघरमा पूजा गरिएको हो।  पूजाको बेला कुकुर रुने जनविश्वास रहिआएको छ।  भजन संस्कृति महागुथि भक्तपुरका अध्यक्ष जननीप्रसाद मूलका अनुसार यो पर्व जनमानसमा चोरीसँग सम्बन्ध रहे पनि वास्तविकता भने यसको ठीक उल्टो छ।  उनका अनुसार चोर होइन भन्ने प्रमाणित गर्न परापूर्वकालमा परिवारका सबै सदस्यले पर्वको दिन ज्यामिर लिएर बस्ने परम्परा थियो।

कसैकसैले यस दिनलाई विनायक चतुर्थी पनि भन्दछन्।  १०८ वटा विभिन्न नाम भएका भगवान गणेशलाई कला र साहित्यको भगवान पनि मानिन्छ।  उनको जन्मका बारेमा दुईखाले धारणा पाइन्छ।  स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार पार्वतीले आफ्नो शरीरको मयल जम्मा गरी मयलबाट बनाइएको आकृतबाट गणेश उत्पन्न भएका हुन्।

  एक दिन पार्वती स्नान गर्न जाँदा आफ्नो द्वारपालका रुपमा गणेशलाई राखे।  यी सब कुराबाट भगवान् शिव जानकार थिएनन् र सोही समय पार्वतीलाई भेटन भगवान् शिव आउँदा द्वारपाल बालक गणेशले रोकेपछि शिवले आफ्नो पुत्र हुन् भन्ने चाल नपाएरै गणेशको शिर छेदन गरिदिए।  स्नानपश्चात् पार्वतीले पुत्रको यस्तो अवस्था देखेर महादेवसँग अनेक विलौना गरेपछि देवादिदेव महादेव उत्तरतर्फ गई हात्तिको शिर ल्याएर गणेशको शरीरमा प्रतिस्थापित गरेको उल्लेख गरेको छ।

प्रकाशित: १७ भाद्र २०७६ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App