१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भारतबाट आयात गरिने अझै महँगो

प्रेम पुन्थोकी

काठमाडौं – एक्कासि चुलिएको तरकारीको मूल्यमा आन्तरिक उत्पादन बढेसँगै सुधार आएको छ। देशकै ठूलो कृषि उपज खरिद–बिक्री स्थल कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो एक महिनामा अधिकांश तरकारीको मूल्य ५०  प्रतिशतसम्म कम भएको हो।

‘वर्षाको समय र आन्तरिक उत्पादनमा कमी आएको कारण मागअनुसार तरकारी आपूर्ति हुन सकेको थिएन,’ समितिका सूचना अधिकृत विनय श्रेष्ठले भने, ‘यो धेरै तरकारी फल्ने सिजन भएको र स्थानीय उत्पादन पर्याप्त भएको कारण मूल्य घटेको हो।’

बेमौसमी र भारतबाट आयात गरिने केही फलफूल र तरकारीको मूल्यमा भने कमी आएको छैन। श्रेष्ठले भने, ‘कतिपय तरकारी तथा फलफूल भारतबाट आयात गरिने र तिनको मूल्य भारतमै उच्च रहेकाले महँगो हुन गएको हो।’ श्रेष्ठका अनुसार अधिकांश फलफूल र आलु, प्याज, कागती, माछा भारतबाट र स्याउ चीनबाट आउँछ।

एक महिनाअगाडि एक सय २५ रुपैयाँ प्रतिकिलो रहेको गोलभेंडा ९५, रातो आलु ६५ बाट ५८, भन्टा र बोडी एक सय पाँचबाट ५५, घिउ सिमी (लोकल) एक सय पाँचबाट ७५, घिउ सिमी (हाइब्रिड) एक सय पाँचबाट ७५, तिते करेला एक सय पाँचबाट ४५, लौका ६५ बाट ४५ रुपैयाँमा झरको छ। त्यस्तै, परवर प्रतिकिलो ९५ बाट ६५, चिचिण्डो ६५ बाट ४५, फर्सी एक सय २५ बाट ४५, रायो र पालुंगो एक सय २५ बाट ७५, इस्कुस ८५ बाट ४५, हरियो साग एक सय ९० बाट ७५, भेडे खुर्सानी एक सय ४० बाट ७५ रहेको छ। तर, प्याज प्रतिकिलो ५५ बाट ६८, कागती प्रतिकिलो तीन सय ४० बाट तीन सय ९० पुगेको छ। धनियाँ, बन्दा र काउलीको मूल्य पनि उच्च छ भने अनार, स्याउ, मौसम लगायत फलफूलको मूल्यमा सामान्य कमी आएको छ।

सरकारले सीमा नाकामा फलफूल तथा तरकारीको विषादी चेकजाँचमा कडाइ गरेको कारण मूल्य नबढेको उनको भनाइ छ। ‘अहिले पूर्ववत् अवस्थामै मागका आधारमा कृषि उपजहरु आयात भएको छ,’ श्रेष्ठले भने, ‘कतिपय हरिया तरकारी आन्तरिक उत्पादन नै पर्याप्त हुने हुनाले आयात कम भएको हुन सक्छ।’ विशेष गरी, पर्वको समयमा तरकारी तथा फलफूलको माग बढ्ने हुँदा तीज पछाडि मूल्य अझै केही कम हुन सक्ने श्रेष्ठको अनुमान छ। श्रेष्ठले भने, ‘तर आलु, प्याज, टमाटर जस्ता उपजको मूल्य भने नघट्न सक्छ।’

अघिल्लो महिनाको तुलनामा कृषि उपज सस्तो देखिए पनि गत वर्षको यसै अवधिको तुलनामा अधिकांशको मूल्य बढी छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार गोलभेंडा, प्याज, मुला, काँक्रो, लसुन, स्याउ, अनार लगायतको मूल्य ५० प्रतिशत हाराहारी बढी देखिन्छ। घिरौंला, फर्सी, परवर, इस्कुस लगायतको मूल्य पनि यस वर्ष बढी छ। त्यस्तै, सेतो आलु, बोडी, सिमी, तितेकरेला, हरियो साग, भेडे खुर्सानी, खुर्सानीको मूल्य गत वर्षको तुलनामा कम छ।

प्रकाशित: १७ भाद्र २०७६ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App