१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ।  आयोगले सोमबार विभिन्न कारणले पद रिक्त भएका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा हुन लागेको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको हो।

आयोगका अनुसार संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएका वा सोही ऐनको दफा १० बमोजिम एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दललाई भदौ मसान्तसम्म दर्ता हुनका लागि निवेदन दिन आह्वान गरिएको छ।  तर २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य वा स्थानीय तह सदस्य निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता भएका राजनीतिक दलले यो उपनिर्वाचन प्रयोजनको लागि पुनः दर्ता हुनुनपर्ने आयोगले जनाएको छ।

  आयोगको यो निर्णयसँग तत्कालीन एकीकृत माओवादी र एमालेबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नयाँ शक्ति र संघीय समाजवादी फोरम एकीकरण भई बनेको समाजवादी पार्टी नेपाल दर्ता हुनुपर्नेछ।  त्यसैगरी सिके राउत नेतृत्वको जनमत पार्टी पनि निर्वाचनमा भाग लिन चाहे आयोगमा दर्ता हुनुपर्नेछ।

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार दल दर्ताको लागि निवेदन दिँदा दलसम्बन्धी विवरण (नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, दलको पछिल्लो महाधिवेशन सम्पन्न भएको मिति, स्थान र केन्द्रीय कार्यालयको नाम र ठेगाना, दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी तथा संख्या, लेखा परीक्षण प्रतिवेदन, भाग लिन चाहेको उपनिर्वाचनको नाम, यसअघि प्राप्त गरेको चिह्को सट्टा अर्काे निर्वाचन चिह्न चाहेको भए कुनै तीनवटा चिह्न प्राथमिकता अनुसार, दलको संगठनात्मक स्वरूप बुझाउनुपर्नेछ।

सरकार र आायोगले विभिन्न कारणले रिक्त भएका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका पदहरुमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरेका थिए।  यसअघि २०७४ सालमा विभिन्न चरणमा प्रतिनिधिभास, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन भएको थियो।  उक्त निर्वाचनपछि विभिन्न कारणले तीनवटै तह गरी रिक्त भएका ५१ पदको आयोगले मंसिरमा उपनिर्वाचन गराउनेछ। 

आयोगका अनुसार हाल प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहअन्र्तगतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ४, नगरपालिका प्रमुख १ र वडाध्यक्ष ४२ गरी ५१ पदमा उपनिर्वाचन हुनेछ।  यसरी पद रिक्त भएर उपनिर्वाचन हुन लागेका जिल्लाको संख्या ३६ छ।

प्रकाशित: १७ भाद्र २०७६ ०१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App