१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पूर्वाधार विकासमा इँटा उद्योगको योगदान महत्वपूर्णः मन्त्री यादव

रौतहट– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पूर्वाधार निर्माण तथा घरको निर्माणमा इँटा उद्योगको महत्वपूर्ण योगदान रहेको बताएका छन्। नेपाल इँटा उद्योग महासंघको ११ औँ वार्षिक साधारणसभालाई रौतहटको चन्द्रपुरमा सम्बोधन गर्दै मन्त्री यादवले इँटा उद्योगलाई नयाँ प्रविधियुक्त र  वातावरणमैत्री बनाएर लैजान उद्योगीहरु तयार भए मन्त्रालय समन्वय गर्न र उद्योगीका अन्य समस्या समाधानका लागि तयार रहेको स्पष्ट पारे।

मन्त्री यादवले नयाँ प्रविधिको प्रयोग गरेर इँटा उद्योग सञ्चालन गर्नु व्यावसायी, सर्वसाधारण तथा देशलाई पनि फाइदा हुने भएकोले यसका लागि मन्त्रालयको तर्फबाट आफू सहयोग गर्न तयार रहेको बताए।  मन्त्री यादवले इँटाबिना पूर्वाधार निर्माण सम्भव नभएकोले देशको लागि महत्वपूर्ण उद्योगको रुपमा स्वीकार गरेका छन्।

इँटा उद्योगमा कार्यरत मजदुरलाई बैंकमार्फत भुक्तानी दिन सरकारले बल गर्नुमा नेपालीले अधिकतम रोजगारी पाऊन् भन्ने मनसाय प्रकट गर्दै मन्त्री यादवले इँटा उद्योगलाई मर्यादित उद्योगको रुपमा विकास गर्न आग्रह पनि गरेका छन्।

देशमा बन्द रहेका अन्य प्रकृतिका उद्योगहरु पनि सञ्चालनको प्रक्रियामा रहेको जानकारी गराउँदै मन्त्री यादवले काँग्रेस सरकारले जनकपुर चुरोट कारखाना प्रदेश नम्बर २ को सरकारलाई बस्न दिएकोले सञ्चालनमा समस्या रहेको आरोप पनि लगाए। 

विभिन्न २४ जिल्लाका इँटा उद्योगीहरुको सहभागिता रहेको साधारणसभामा देशभर एक हजार दुई सय इँटा उद्योग सञ्चालनमा रहेको नौ सय महासंघमा आबद्ध रहेको जानकारी आयोजकले गराएका छन्। पाँचवटा प्रदेशमा महासंघको प्रादेशिक समिति गठन भइसकेको पनि जानकारी गराइएको थियो।

प्रकाशित: १५ भाद्र २०७६ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App