१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुई दशकपछि जनता माझमा हिमायती

धनकुटाको छिन्ताङमा ३७ औं शहीद दिवसमा गीत गाँउदै हिमायतीका कलाकारहरु ।

छन्ताङ–निरंकुश पञ्चायती व्यस्वथा र सामान्ती विरुद्ध किसान विद्रोह गर्दा तत्कालीन राज्य सत्ताले २०३६ सालमा धनकुटाको खाल्सा क्षेत्र(आँखीसल्ला, खोकु र छिन्ताङ) छिन्ताङमा क्रुर दमन गरेको थियो।  प्रहरीले डेढ दर्जनको क्रुरतापूर्वक हत्या गर्यो भने थुप्रैलाई थुनामा पुर्यायो । नेपालमा यो घटना छिन्ताङ काण्डले चर्चित छ।

त्यही घटना (छिन्ताङ काण्ड) मा आधारित भएर पचासको दशकमा सिर्जना गरिएको गीत खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउदा.. लाई नेपाली जनताले औधी रुचाए। यो गीत सिर्जना हुँदासम्म निरंकुश पञ्चायत ढलिसकेको थियो र प्रजातन्त्रको उदय भइसकेको थियो । तर, नेताहरु देश, जनता र शहिदको सपना पूरा गर्न भन्दा पनि सत्तामा लिप्त हुन थालिसकेका थिए। गीतले भने धनकुटेलीहरुलाई आफ्नो घाउ सँधै सम्झिरहन, आफ्नो नशाभित्र तातो रगत बगाइरहन भन्यो। यस्तो, जनप्रिय गीतको सिर्जना हिमायती जनसाँस्कृतिक समूह धरानले गरेको थियो। समूहमा आवद्ध गणेश इजमको रचनालाई शिव सुब्बाले संगीत भरेका थिए।

प्रजातन्त्रको लागि आहुती दिएका शहिदको वलिदानलाई गीतको माध्यमबाट भुल्न नदिने हिमायती र त्यसमा आवद्ध कलाकारहरु भने खाल्सा क्षेत्रसम्म पुगेनन्। कलाकारसँग खाल्साबासीहरुको पनि कहिल्यै साक्षात्कार हुन पाएन । अझ २०५४ साल यता हिमायतीका कालाकारहरु विविध कारणले तितरवितर हुन पुगे। हिमायती सुस्तायो। खाल्साली जनता र हिमायतीबीच साक्षात्कार हुने सम्भावना झनै न्युन बनेको थियो।

बाह्र बर्षमा पनि खोलो फर्कन्छ भन्ने नेपाली उखान छ। समय सँधै एकनाशको हुँदैन। ०५४ सालदेखि सुस्ताएको हिमायती झण्डै दुई दशकपछि सोमबार ऐतिहासिक भूमि खाल्सा क्षेत्रमा पुग्यो, आफ्नो जनवादी सांगीतिक प्रस्तुती लिएर। खाल्साली जनताले पहिलो पटक खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउदा..गीतका वास्तविक नायकहरुलाई नजिकबाट हेर्न, सुन्न र साक्षात्कार गर्न पाए। उनीहरुमा हर्षको सीमा थिएन। हिमायतीका हरेक गीतलाई धैर्यपूर्वक सुने, र अन्त्यमा कलाकारहरुसँगै नाचे।

हिमायतीले पनि शहिद भूमिबाट आफू पुनः ब्युँतिएको घोषणा गर्यो। ‘छिन्ताङ काण्ड भएको ३७ वर्ष लागेछ, हाम्रो संस्था स्थापना भएको ३५ बर्ष भयो। अहिले फेरि हामी ३५ बर्षअघिकै जनताको प्रिय गीतसंगीत लिएर जनतामाझ जाने प्रण गर्दैछौं । हामी देश र जनता बिउझाउने यात्रामा निरन्तर अघि बढीरहनेछौं’, हिमायतीका संस्थापक एवं अध्यक्ष हर्क चुम्मेले भने, ‘खोकु छिन्ताङको गीत धेरै गायौं, तर यो पवित्र शहीद भुमि आएका थिएनौं । शहीद दिवसमा यहाँ आएर जनताको गीत गाउन पायौं, हामी धेरै नै खुशी छौं।’

सोमबार हिमायतीले आफ्नो टाइटल गीत बर्ष है बित्यो युद्धको खेलमा..बाट जनसांगीतिक कार्यक्रम सुरु गरेको थियो। त्यसपछि, हिमायतीकी हर्षु राईले चेलीको सिन्दुर पुछियो..,सीमाना पारी नौ डाडा पारी..अबिरल जीवनका यात्राहरुमा..जनवादी गीत गाइन् भने समिर सिंगकले चर्चित गीत खोकु छिन्ताङ दुख्यो कि.. फिरेन सुदिन..गाए ।

यस्तै, जीवन भट्टराईले अन्त्मि हुदैन कल्यिै संसार बनाउने यात्रा..गाए भने समुहका कलाकाहरुले सामुहिकरुपमा अन्तिम हुदैन कहिल्यै संसार बनाउने यात्रा..प्रस्तुत गरेका थिए । धरानका गायकद्वय राईमन राई र लक्ष्मण अधिकारीले पनि गीत गाएका थिए। गायक राइमन, लक्ष्मण र समिर भने हिमायतीका शुभचिन्तक कलाकार हुन्। सांगीतिक प्रस्तुती दिन हर्क चुम्मे, कुन्ती योञ्जन, सुरेश श्रेष्ठ, जीवन भट्टराई, हर्षु राई, समिर, लक्ष्मण, राईमनसँगै काठमाण्डौंबाट आएका सहयोगी सुसिल श्रेष्ठ छिन्ताङ पुगेका थिए ।

धरानका जुझारु युवाहरु मिलेर ०३८ सालमा शुक्रपथ अध्ययन समूह गठन गरेका थिए। त्यही साल समूहको फेरिएर हिमायती जनसाँस्कृतिक समुह बन्यो । चालिसको दशकमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध जागरण र परिवर्तनको गीतहरु गाउदै हिमायती गाउँ वस्तीमा पुग्थ्यो।

हिमायती तत्कालीन नेकपा मालेको विचार, सिद्धान्तसँग नजिक थियो, र गीत संगीतको माध्यमबाट जनातामाझ विचार पुर्याउने अभियानमा हिमायती हिडेको थियो। देश र जनताको सार्थक एवं जनवादी गीतहरु संकलन गर्ने, संगीत भर्ने र जनताको माझमा गीत, संगीतको माध्यमबाटै विकृति, विसंगतिविरुद्ध जागरण ल्याउन जुझारु युवा कलाकारहरु सक्रिय थिए। ०५४ सालपछि सुस्ताएको हिमायती शहिद भूमिमा पुगेर ब्युतिएको घोषणा गरेको हो।

 

प्रकाशित: १ मंसिर २०७३ ०६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App