१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२५ मिटरको पुल बनाउन आठ वर्ष

धादिङको थाक्रेस्थित महेश खोलामाथि निर्माण गरिएको पक्की पुल। तस्बिर:नागरिक

धादिङ - आठ वर्षको प्रतीक्षापछि पृथ्वी राजमार्ग छेवैमा रहेको महेश खोलामा निर्माण गरिएको पुल सञ्चालनमा आएको छ।  थाक्रे गाउँपालिकाको महादेवबेंसीस्थित महेश खोलामाथि निर्माण गरिएको पुल ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अलपत्र बनेको थियो।  दुई चरणमा दुईवटा ठेकेदार कम्पनीमार्फत २५ मिटर लम्बाइको सो पुल बन्न आठ वर्ष लाग्यो।

आर्थिक वर्ष २०६८/०६९ मा डिभिजन सडक कार्यालय भरतपुरसनिर्माणका लागि काठमाडौंस्थित इसान कन्सट्रक्सनले कामको जिम्मा लिइएको थियो।  इसानले सो पक्की मोटरेबल पुल एक करोड ३० लाखको लागतमा निर्माण गर्न सम्झौता गरेको थियो।  सम्झौता गरेको ६ वर्षमा पुलको ढलान गरेर छाडिएको थियो।  पुल ढलानका लागि राखिएका फर्माहरू बाढीले बगाएपछि पुल निर्माणको काम अलपत्र बनेको थियो।

मोटरेबल पुलको आसैआसमा बसेका स्थानीय निर्माण थालिएको ६ वर्षमा पनि सम्पन्न नभएपछि सांसद, जनप्रतिनिधिलाई समेत गुहारेको थाक्रेका रामचन्द्र रूपाखेतीले बताए।  ‘पुलको ढलान सकिसकेको र दायाँबायाँ बार लगाउन मात्र बाँकी थियो तर पुल सञ्चालनका लागि कसैले पनि वास्ता नगरेपछि राजनीतिक दबाब दिनुप¥यो,’ उनले भने, ‘स्थानीयको दबाबपछि आठ वर्षमा बल्ल २५ मिटरको पुल बन्यो। ’

ठेक्काको जिम्मा पाएको इसान कन्सट्रक्सनका ठेकेदारले नै पैसा खाएर भागेको स्थानीयको आरोप छ।  सुरुमा पुल बनाउन भारतबाट कामदार ल्याइएको थियो तर कामदारलाईसमेत पैसा नदिई ठेकेदार फरार भएपछि स्थानीय आफैंले पैसा उठाएर कामदारलाई तलब दिएका थिए।  पुल निर्माणका लागि बालुवा, सिमेन्ट, रडलगायत सामग्री ल्याइएको पसलमा समेत पैसा तिर्न बाँकी रहेको स्थानीयले बताएका छन्।  ठेकेदार फरार भएपछि सडक विभागले इसान कन्सट्रक्सन कम्पनीलाई कालो सूचीमा राखेको छ।

ठेक्का सम्झौता भएको दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुल ६ वर्षमा पनि निर्माण सम्पन्न नभएपछि स्थानीयको दबाबपछि प्रतिनिधिसभा सांसद भूमि त्रिपाठीलगायत स्थानीयको टोलीले सडक विभागको कार्यालयमा पुल निर्माणका लागि दबाब दिएका थिए।  दबाबपछि सडक विभागको टोलीले अनुगमनसमेत गरेको थियो।  पुल नभएका कारण वर्षाको समयमा आवतजावतमा समस्या हुने गरेको थियो।

पुल बनाउँदा बनाउँदै एक करोड खर्च गरेर ठेकेदार कम्पनी भागेपछि पुल अलपत्र बनेको थियो।  स्थानीयको दबाबपछि एक वर्षअघि मात्र निहारिका निर्माण सेवा हेटौंडाले जिम्मा दिएको थियो।  करिब ३८ लाख खर्च गरेर निहारिकाले पुल निर्माण सम्पन्न गरेको ठेकेदार प्रतिनिधि नवराज रिजालले बताए।  ‘आठ वर्षअघि निर्माण सुरु गरिएको पुल सञ्चालन भएको छ’, उनले भने, ‘हामीले जिम्मा लिएको एक वर्षमा नै काम सम्पन्न गर्न सफल भयौं। ’

पुल बने पनि सडकको समस्या भने यथावत रहेको छ।  पुल सञ्चालन भएको स्थलबाट राजमार्गसम्म आउने सडक घुमाउरो भएका कारण समस्या परेको छ।  स्थानीय जनप्रतिनिधिले छोटो दूरीबाट राजमार्गसम्म आउने बाटो निर्माणको विषयमा छलफल गरेका छन्।

पुल तरेर पुग्ने गोगनपुर, कल्लेरीलगायत क्षेत्र तरकारीको पकेट क्षेत्रको रूपमा चिनिन्छ।  पुल नभएका कारण धादिङको गोगनपानी, कल्लेरी महादेव बेंसी, नुवाकोटको दुई पीपललगायत दर्जनौं स्थानमा उत्पादित कृषि उपजहरू वर्षाको समयमा बिक्रीका लागि बजारसम्म ल्याउन अप्ठेरो हुने गरेको थियो।  अहिले उत्पादित तरकारी बारीमा नै गएर ल्याउन सकिने स्थानीय किसान वतराज बिडारीले बताए।

पक्की पुल हुँदै महेशखोला पारितिरबाट दैनिक तीनदेखि १२ टनसम्म तरकारी काठमाडौंको कालीमाटीमा लगिँदै गरेको बिडारीले बताए।  ‘पुल नहँुदा उत्पादित तरकारी बजारसम्म लैजान कठिन हुने गथ्र्यो,’ उनले भने, ‘पुल बनेको छ अब बारीमै गाडी जान्छ र तरकारी बजारसम्म लैजान्छ, यसले समयको पनि बचत हुने भयो। ’ हिउँदमा खोलाबाट नै जोखिमयुक्त तरिकाले मोटर आवातजावत गर्ने गरेको भए पनि वर्खाको समयमा बाढीका कारण आवतजावत ठप्प हुने गरेको थियो।

प्रकाशित: १५ भाद्र २०७६ ०१:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App