१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वाग्मती सफाइको नेतृत्व महानगरले लिने

फाइल फोटो

ललितपुर–वाग्मती सफाइ नेतृत्व ललितपुर महानगरपालिकाले लिने भएको छ।वाग्मती नदीको ललितपुर क्षेत्रतर्फको सफाइको जिम्मेवारी लिने भएको भएको हो। वाग्मती सफाइ महाअभियानको ३ सय २९औँ हप्तामा थापाथली पुलमुनिको नदी किनारको ललितपुर क्षेत्रको सफाइका अवसरमा नगरप्रमुख चिरीबाबु महर्जनले महानगरका सबै वडालाई परिचालन गरी स्थानीयवासीको सहभागितासमेत जुटाएर सफाइ अभियान चलाउने प्रतिबद्धता जनाएको छ।

नदीमा फोहर गर्नेलाई स्थानीय सरकारले कारवाही गर्ने गरी तयारी गरिरहेको जानकारीसमेत उनले दिएको छ। सफाइमा २२ संस्थाका ५०० भन्दा धेरै अभियानकर्मीको सक्रियता छ। शनिबारको सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन भएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले बताए।

सफाइमा पूर्वराजदूत किशोर थापा, भिक्ट्रीशम्शेर राणा, अधिकारसम्पन्न वाग्मतीका आयोजना प्रमुख आशीष घिमिरे, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, ललितपुर महानगरपालिका–२ का अध्यक्ष राजेश महर्जन लगायतको सहभागीता थियो।

सफाइका अवसरमा नेपाल नदी संरक्षण संस्थाले थापाथली पुलबाट सुन्दरीघाटसम्म जलयात्रासमेत चलाएको हो संस्थाले वाग्मती सफा बनाउन उद्देश्यले दुई दशकअघिदेखि वाग्मतीमा जलयात्रा गराउँदै आएको अध्यक्ष मेघ आलेले बताए।
मुहानदेखि नै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २ सय ९१ औँ हप्ताको सफाइ गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गरेको हो।

शुक्रबार गोकर्णे औँशीका अवसरमा जम्मा भएका लाखौँ भक्तजनले गरेको फोहोर व्यवस्थापन गर्न मन्दिर परिसरमै सफाइ गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए। कुहिने फोहोरलाई गत वर्ष मन्दिर क्षेत्रमा राखिएको कम्पोष्ट विनमा राखिएको हो नकुहिने फोहोर भने गोकर्णेश्वर नगरपालिकाको गाडीले व्यवस्थापन गरेको थियो।

मन्दिरमा लागेको मेलामा साढे तीन लाखभन्दा बढी भक्तजनको भीड लागेकाले फोहर सफाइ गर्न कम्तीमा एक हप्ता लाग्ने मञ्चले जनाएको छ। गत वर्ष गोकर्णे औँशीको अवसरमा यो क्षेत्र सफा गर्न डेढ हप्ता लागेको थियो। यस वर्ष भक्तजनले विगत वर्षमा भन्दा कम फोहोर गरेकाले एक हप्तामै सकिने जनाइएको छ ।
 
 विष्णुमती सफाइको २ सय ५६औँ हप्तामा टोखा नगरपालिका वडा नं ९ र १० क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको संयोजक शोभाकान्त पाण्डेले जानकारी दिएको छ। वाग्मतीको सुन्दरीघाट खण्ड सफाइको १ सय ३९औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी १ सय ३४ जनाको सहभागितामा कार्यक्रम गरियो। सफाइबाट एक टन फोहोर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले  बताए।

साथै मनोहरा नदी सफाइको १ सय २८औँ हप्तामा बालकुमारी पुल क्षेत्रमा एक ट्रक फोहोर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले बताएको छ। सफाइमा जिल्ला समन्वय समिति काठमाडौँकी उपप्रमुख सरिता दाहालले नदीमा फोहोर फाल्नेलाई स्थानीय सरकारले कडा कारवाहीको व्यवस्था गर्न लागेको जानकारी दिइन्। चक्रपथ सफाइ २०७१ ले आज वाफलबाट कलङ्की क्षेत्रमा १०८औँ हप्ताको सफाइ गरेको छ। झरी परिरहेका बेलासमेत जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए।

यसैगरी प्रत्येक हप्ताको आइतबार सफाइ हुँदै आएको ललितपुरको गोदावरी नदीको कार्यक्रम गरिएको संयोजक बेवी राजभण्डारी थापाले बताए। २६औँ हप्ताको आजको सफाइ महालक्ष्मी नगरपालिकाको वडा नं ६ र ८ बाट गोदावरी नगरपालिकाको वडा नं १४ सम्म गरिएको छ।

नेपाल प्रहरीको सक्रियतामा भएको सफाइबाट एक टन फोहोर व्यवस्थापन गरिएको छ। कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं ८ र ९ का अध्यक्ष क्रमशः विश्वराज श्रेष्ठ र वासु शर्माले नदी किनारमा नफाल्न आह्वान गर्नुभएको हो। यसैगरी आज चक्रपथको उत्तरखण्ड र आलोकनगरमा १ सय २७औँ हप्ताको सफाइ गरिएको छ।रुद्रमती, तिलगङ्गा र गुह्येश्वरी क्षेत्रको वाग्मतीमा पनि सफाइ अभियानलाई निरन्तरता दिइएको छ। रासस

प्रकाशित: १४ भाद्र २०७६ १२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App