१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘गौहत्या’ प्रकरणः नेपालगन्ज स्तब्ध, निष्पक्ष छानविनको माग

नेपालगन्जस्थित कान्जी हाउसमा राखिएका गाई । तस्बिर : नागरिक

नेपालगन्ज– छाडा चौपायाले दिनहुँ सडक दुर्घटना निम्त्याउन थालेपछि नेपालगन्ज उपमहानगरपालिका क्षेत्र एक वर्षयता अस्तब्यस्त बनिरहेको छ। छाडा चौपायाको रुपमा रहेका गाई, गोरु तथा खच्चड ब्यवस्थापनका लागि भन्दै उपमहानगरपालिका कार्यालयले वडा नम्बर २१ मा करिव ३ विघा क्षेत्रफलमा कान्जी हाउस निर्माण गर्यो। झण्डै ५० वटा अट्ने क्षमता रहेको उक्त कान्जी हाउसमा उपमहानगरपालिकाले ४ सयदेखि ५ सयको हाराहारीमा चौपाया लगेर राख्यो। तर, चौपायाका लागि खानपान र औषधि उपचारको ब्यवस्था गरिएन। 

कान्जी हाउसभित्र थुनिएका चौपाया धमाधम मर्न थाले। चौपायालाई घाँस, पानी र उपचारको ब्यवस्था नगरेका कारण मरेको भन्दै उपमहानगरपालिकाको चर्को बिरोध भयो। स्थानीय सामाजिक अभियन्ताले फेसबुकमार्फत ‘गाई बचाउ अभियान’ सञ्चालन गर्दै सम्बद्ध सरोकारवालाको ध्यान केन्द्रीत गरे। गाई संरक्षणमा रचनात्मक काम गरेको भन्दै शहरी विकास मन्त्री एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सांसद मोहम्मद ईस्तियाक राईले दुई साताअघि प्रशंसा स्वरुप अभियन्तालाई ५० हजार रकम हस्तान्तरण गरे। साथै नेपालगन्ज उपमहानगरपालिकाले आवश्यक प्रक्रिया अगाडि बढाएमा संसद विकास कोषबाट ब्यवस्थित कान्जी हाउस निर्माणका लागि एक करोड रुपैयाँ दिने घोषणा पनि गरे। 

अभियन्ताको सक्रियता र मन्त्री राईको घोषणापश्चात उपमहानगरपालिकाले कान्जी हाउसमा केही कर्मचारी खटाएर घाँस, पानीको जोहो गर्न थाल्यो। नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा कान्जी हाउस ब्यवस्थापन समिति गठन गरियो र चौपाया संरक्षणका लागि भन्दै खोलियो। त्यसयता उपमहानगरपालिका र अभियन्ताले कान्जी हाउस पुगेर चौपायालाई नियमित रुपमा घाँस, पानी र औषधि उपचारको ब्यवस्था गर्दै आएका थिए। 

कान्जी हाउसभित्र राखिएका मध्ये करिब २ सय ९० जति चौपायालाई उपमहानगरपालिकाले बिहीबार राती अचानक ८ वटा ट्रकमार्फत दैलेखतर्फ पठाएको सूचना बाहिरियो। त्यसपछि शुक्रबार बिहानपख सुर्खेतमा करिब ३ दर्जन जति गाईलाई ‘भिरबाट खसालेर मारिएको’ र दर्जनौं संख्यामा घाइते रहेको भन्ने खबर सामाजिक सञ्जालमा भाइरल भयो। सुर्खेतको कटकुवामा मरेका चौपायाको तथ्यांक अहिलेसम्म पनि एकिन छैन।  

उक्त घटनाले नेपालगन्जबासी स्तब्ध भएका छन्। यहाँका सर्बसाधारण तथा सम्वद्ध सरोकारवालाले घटनालाई विभिन्न कोणबाट विश्लेषण गरिरहेका छन्। अधिकांशले एकै पटक त्यति ठूलो संख्याका गाई मर्नु र घाइते हुनुलाई अस्वभाविक मानेका छन्। हत्या गर्ने उद्देश्यले नै नेपालगन्जबाट रातारात गाईलाई दैलेख पुर्याउन खोजिएको हुन सक्ने अड्कल गरेका छन्। 

सामाजिक अभियन्ता हेमन्तराज काफ्लेले कान्जी हाउसभित्र राखिएका गाई कसैलाई थाहै नदिएर दैलेखतर्फ लैजानु र ठुलो संख्यामा गाई मर्नु तथा घाइते हुनुले शंका उब्जाएको बताए। ‘हामीलाई थाहै नदिएर कान्जी हाउसका गाई उठाइयो र भिरबाट खसालेर मारियो,’ उनले नागरिकसँग भने। 

यस्तै कान्जी हाउस ब्यवस्थापन समितिका उपाध्यक्ष एवम् अभियन्ता डा. विनोद कर्ण पनि घटनाको सत्य, तथ्य छानविन हुनुपर्ने बताउँछन्। ‘एकातिर कान्जी हाउस ब्यवस्थापन समिति बनाउने, अर्कोतिर समिति भित्रैका हामीलाई थाहा नदिएर सुटुक्क बाहिर पठाउने, उपमहानगरपालिकाको नियत के हो?’ कर्णले प्रश्न गर्दै भने ‘गाईलाई भिरबाट खसालेर मारिएको हो आफै मरेका हुन्, यसको सत्य तथ्यकुरा छानविन हुनुपर्छ।’ 

कान्जी हाउसभित्र राखिएका गाईको उचित लालन पालन गरिरहेका बेला एक्कासी आफूलाई जानकारी नदिएरै बाहिर पठाइएको भन्दै समितिका सचिव एवम् अभियन्ता समिरमान श्रेष्ठले राजीनामा नै दिइसकेका छन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘गाई बचाउ अभियानमा लागेको म यसरी झारो टार्न मात्र बनेको ब्यबस्थापन समितिमा बसिरहन कुनै औचित्य नदेखेको हुँदा सचिव पदबाट राजिनामा दिएको जानकारी गराउँछु।’ 

यसैबीच शहरी विकास मन्त्री एवम् बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईस्तियाक राईले पनि घटनाको छानविन गर्न माग गरेका छन्। मन्त्री राईले एक विज्ञप्ति जारी गर्दै कान्जी हाउसमा राखिएका गाई भिरबाट खसालेर मारिएको भनि विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। घटनाको विषयमा स्थानीय जनताबाट आक्रोश ब्यक्त भइरहेको भन्दै अविलम्व सम्बन्धित निकाय एवम् जिम्मेवार पक्षमाथि छानविन एवम् कारबाही गर्न अनुरोध गरेका छन्।

‘गौहत्या’ प्रकरण चर्किरहेका बेला उपमहानगरपालिकाका नगर प्रमुख राणा र उपप्रमुख उमा थापामगर भने जिल्ला बाहिर छन्। कार्यबाहक नगर प्रमुखको जिम्मेवारी सम्हालेका वडा नम्बर २ का वडाध्यक्ष सुनिलसिंह हमालले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासन समेतको समन्वयमा कान्जी हाउसमा रहेका छाडा पशु चौपायालाई सुर्खेतहुँदै दैलेख जिल्लाको सुरक्षित स्थानमा पुर्याउने ‘पवित्र’ उद्देश्य बमोजिम सुरक्षितसाथ त्यसतर्फ पठाइएको जनाएका छन्। ‘नेपालगन्जको कान्जिहाउसमा रहेका छाडा पशु चौपायालाई सुर्खेत हुँदै दैलेखसम्म लैजाने क्रममा केही पशु चौपायाहरु मरेको भन्ने विषयमा विभिन्न सन्चार माध्ययम तथा सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा उल्लेख छ।

सुर्खेतको कटकुवासम्म ट्रकमा र त्यहाँबाट पैदलै दैलेखको श्रीस्थान समेतका क्षेत्रमा पुर्याउने क्रममा केही पशु चौपायाको मृत्यु हुन गएको भन्ने जानकारी आएको दाबी गर्दै उपमहानगरपालिकाले सो पशु चौपायाको अशक्त, रोगी भएर स्वभाविक मृत्यु भएको हो वा अन्य कारणले हो भन्ने विषयमा यथार्थ छानविनका लागि प्रशासनसँगको समन्वयमा छानविन समिति गठन गरिने जानकारी दिएको छ। 

नगर प्रमुख राणाले कान्जी हाउसभित्र राखेर मात्रै चौपायाको ब्यवस्थापन गर्न सम्भव नभएपछि सबै निकायको समन्वयमा दैलेख पठाउने निर्णय गरिएको बताए। काठमाडौंमा रहेका उनले टेलिफोनमा भने, ‘कान्जी हाउसभित्र पनि गर्मीले गाई धमाधम मर्ने अवस्थामा थिए, बरु बाहिरै पठाउँदा राम्रो होला भनेर राम्रै सोचेर पठाइयो, तर ट्रकभित्रै मरेपछि रोडको साइडमा फालिएको हो।’ उपमहानगरपालिका कार्यालयका अनुसार नेपालगन्जका सडकमा अझै १५ सयको हाराहारीमा छाडा चौपाया रहेका छन्। खुल्ला सीमाका कारण भारत उत्तरप्रदेशका जिल्लाबाट चौपाया नेपालगन्ज प्रवेश हुने गरेको उपमहानगरपालिकाको दाबी छ।  

प्रकाशित: १४ भाद्र २०७६ ११:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App