१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

‘नेपालले उत्कृष्ट खेल्नेमा आशावादी छौं’

खेल पदाधिकारीका साथ नेपाली राष्ट्रिय फुटबल टोली। तस्बिर :नागरकि

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आगामी विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपालले प्रतिस्पर्धात्मक खेल खेल्ने बताएका छन्।

कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको पहिलो खेलका लागि भएको बिदाइ कार्यक्रममा प्रशिक्षक कालिनले नेपालले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्ने बताएका हुन्। कुवेत र चाइनिज ताइपेइसँगको छनोट खेलका लागि गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्दको टोलीमा आगमनसँगै थप बलियो हुनुका साथै नेपालले प्रतिस्पर्धात्मक चुनौती प्रस्तुत गर्ने प्रशिक्षक कालिनको भनाई छ।

कुवेतसँग हुने ‘अवे’ खेलका लागि एन्फाले शुक्रबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी भवनमा नेपाली टोलीलाई बिदाइ गरेको थियो। सोमबार हुने खेलका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाल र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली टोलीलाई बिदाइ गरेका हुन्। शुक्रबार बिदाइ भए पनि टोली आइतबार मात्र कुवेत प्रस्थान गर्ने तालिका रहेको छ।

यसअघि नेपालमा नै पहिलो खेल हुने तालिका रहे पनि पूर्वाधारका कारण नेपालले पहिलो अवे खेल खेल्न लागेको हो। प्रशिक्षक कालिनले सिनियर खेलाडीको आगमनसँगै टोली थप बलियो भएको उल्लेख गरेका छन्। ‘किरण र रोहित टोलीमा समावेश भएसँगै टोली बलियो बनेको छ,’ प्रशिक्षक कालिनले भने, ‘कुवेतसँग विगतमा पनि खेलेका छौं। अनुभवी खेलाडीसमेत भएकाले नतिजा राम्रो आउनेप्रति आशावादी छु।’

नेपालले गत बिहीबार नै कुवेत र चाइनिज ताइपेइसँग हुने प्रतिस्पर्धाका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ। छनोटअन्तर्गत नेपालले ताइपेइसँग भदौ २४ गते उसैको मैदानमा दोस्रो छनोट खेल खेल्नेछ। विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा विश्वकपमा सहभागिता जनाइसकेको अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्।

यता, मुख्य प्रशिक्षक कालिनले विराज महर्जनको तुलनामा अन्य खेलाडी राम्रो भएकाले उनी टोलीमा समावेश नभएको उल्लेख गरे। ‘विराजको अनुपस्थितिमा टोलीका सबै खेलाडीमा कप्तानी गर्नसक्ने क्षमता छ,’ मुख्य प्रशिक्षक कालिनले थपे, ‘मेरो लागि सबै २३ खेलाडी नै कप्तान हुन्। टिम खेल भएकाले टिमको प्रदर्शनले अर्थ राख्दछ। सबै खेलाडी क्षमतावान छन्।’

बिदाइ कार्यक्रममा एन्फाका अध्यक्ष शेर्पाले अस्ट्रेलियाबाहेक अन्य टोलीसँग नेपालले खेलिसकेको कारण उत्कृष्ट प्रदर्शन गरेर स्वदेश फर्किनेमा आशावादी रहेको बताए। ‘राम्रो खेलेर आउनुस, हामी पुरस्कारको व्यवस्था गर्छौ,’ अध्यक्ष शेर्पाले भने, ‘विश्वकप छनोटका लागि यो अवसर हो। अवसरलाई सदुपयोग गर्नुस।’ नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले सम्हाल्ने भएका छन्।

दुई सिनियर खेलाडीको आगमनसँगै नेपाली टोली थप बलियो भएको प्रशिक्षक योहान कालिनले उल्लेख गरेका छन्।

नेपाली टोली:
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
रक्षक : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर :  सुजल श्रेष्ठ, रोहित चन्द, सुनील बल, रवि पासवान, अन्जन विष्ट, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्ड : विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रकाशित: १४ भाद्र २०७६ ०५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App