१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

भीडकाे मनाेविज्ञान

डा. युवराज लुइँटेल

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरूत्साहनको अभियोग लागी अनुसन्धान गर्न सञ्चारकर्मी रवि लामिछाने प्रहरी हिरासतमा रहँदाका ११ दिन र रिहाईपछिका दुई दिनसम्म चितवनका सडक विरोध प्रदर्शनस्थलका रूपमा रूपान्तरित भए। जनसहभागिताको आकार, विरोध प्रदर्शनको प्रकृति र प्रदर्शनकारी परिचालनका दृष्टिले यो परिघटना नेपालको राजनीतिक इतिहासमा बहसको एउटा विषय बन्ने देखियो।

राष्ट्रिय राजनीतिको मूलधारमा रहेका कुनै दलको प्रत्यक्ष आह्वानबिना, स्थापित राजनीतिक शक्तिको प्रत्यक्ष संलग्नताबिना, रविमाथि ‘अन्याय हुँदै छ’ वा रविलाई ‘फसाइँदै छ’ भन्ने कुराको कुनै प्रामाणिक र विश्वसनीय आधारबिना र आत्महत्या गरेका पुडासैनीको परिवारप्रति सहानुभूति दर्शाउने मानवीय सौजन्यको समेत हेक्का नराखी हजारौँ मानिस जो सडकमै आइपुगे र प्रदर्शनमै सहभागी भए यसले समकालीन नेपाली समाजको तरल राजनीतिक स्वभावलाई मात्र प्रतिबिम्बिन गर्दैन, बरु सामाजिक रूपान्तरणको तीव्र वेगमा रहेको समाजको सार्वजनिक असुरक्षा भावको गहिराइलाई समेत अभिव्यक्त गर्छ।

प्रश्न यत्तिमै टुंगिँदैन। आत्महत्याको केही घन्टाअघि रेकर्ड गरिएको भिडियोमा नाम किटिएका रवि लगायतका व्यक्तिलाई प्रहरीले तत्कालै हिरासतमा नलिएको भए शालिकरामको परिवारले पनि न्यायप्रणालीप्रति असन्तुष्टि राख्थ्यो नै। त्यो अवस्थामा चितवनका सडकमा ओर्लिएको जनताको विशाल पंक्ति ‘शालिकरामलाई न्याय दे’ भन्दै ११ दिनसम्म सडकमा उत्तेजक प्रदर्शन गरिराख्थ्यो होला ? मलाई त्यस्तो लाग्दैन। भनेपछि त्यो भीडको निर्माण, आक्रोशको पुनर्उत्पादन र सञ्चार कसले, किन र कसरी ग¥यो भन्ने प्रश्न महत्वपूर्ण छ ? प्रस्तुत आलेखमा भीडशास्त्रको दृष्टिले यस परिघटनालाई विश्लेषण गर्ने प्रयास गरिएको छ।

चितवन परिघटनामा एउटा जिम्मेवार नेतृत्व वा संयोजनकारी समूह प्रकट रूपमा अगाडि नआउनु तर ११ दिनसम्म प्रदर्शनलाई भीडतन्त्रकै रूपमा रहन दिई पर्दा पछाडिबाट कसैले प्रभावकारी संयोजन र परिचालन गरिरहनु सुरक्षा संवेदनशीलताको दृष्टिले पनि मिहीन विश्लेषण गरिनुपर्नेे विषय हो।

असुरक्षाभावको गहिराइ
प्रहरी हिरासतमा राखिएका रवि चितवनको सट्टा अरू कुनै जिल्लामा राखिन्थे भने त्यहाँ पनि यस्तै प्रकृतिको साथ सायदै पाउँथे होलान् ! चितवन राष्ट्रिय सडक सञ्जालको मुटुमा छ। यो नेकपाका अध्यक्ष ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजनीतिक क्षेत्र पनि हो। जस्तो कि फेसबुकका भित्ता भरिएका थिए– प्रचण्डका पूर्व सुरक्षाकर्मी दानबहादुर मल्ल नै हाल चितवनका प्रहरी प्रमुख पनि छन्। प्रचण्ड–पुत्री रेणु दाहाल पनि भरतपुर महानगरपालिकाको मेयरका रूपमा चितवनमै राजनीतिकर्म गरिरहेकी छन्। चितवन राजनीतिक रूपमा सचेत त मानिन्छ नै, यो नेपालका बाँकी ७६ वटै जिल्लाबाट बसाइँ सरी आएकाहरू (परस्पर अपरिचित) हरू बहुसंख्यक भएको र तीव्र रूपमा सहरीकरण बढिरहेको जिल्ला पनि हो। यसर्थ पनि असुरक्षाको भावनाले चितवनवासी प्रशस्त गाँजिएका छन्। चितवनबासी भित्रै पनि एउटा तह र तप्काले आफूभित्र गाँजिएको असुरक्षाभावको प्रतिबिम्बन रविको सम्भावित असुरक्षामा देखे। यसलाई मलजल गर्ने र उछाल्ने काम फेसबुक, फेसबुक लाइभ र युट्युबले गरिरहे। यसकारण पनि चितवनवासीले सडकमा ओर्लन सडकको तापक्रम पर्खेर बसेनन्।

भीडतन्त्रको समाजशास्त्र
कुनै खास आवेग, उत्तेजना, आश वा सन्त्रासका कारण एकाएक एकैठाउँमा खचाखच हुनपुगेका तर अपरिचित व्यक्तिहरूको एउटा जुन सामूहिक बन्छ, त्यसलाई भीड भनिन्छ। भीडको खास साझा र निर्दिष्ट उद्देश्य पनि हुँदैन। आश वा सन्त्रासले नै उनीहरूलाई आवेगात्मक रूपमा एक ठाउँमा ल्याइदिएको हुन्छ। फेरि पनि उनीहरू परस्परमा बहुधा अपरिचित नै हुन्छन्। साझा र निर्दिष्ट उद्देश्य बनिसकेका आवेगात्मक र क्षणिक उपस्थितिले एक खालको जोश र उत्तेजना थपेको तर उपस्थित व्यक्ति (भीडालु) हरूबीच परस्पर चिनाजानी पनि नभएको तरल अवस्था भीड निर्माण र परिचालनका दृष्टिले जोखिमयुक्त अवस्था हो। भीडको आकार जति बढ्दै जान्छ, भीडमा त्यति नै उत्तेजना थपिँदै जान्छ र जोखिम पनि।

जुन प्रयोजनका लागि भीड एकत्रित भएको हुन्छ खास त्यसै प्रयोजनका लागि स्वीकार्य, परिचित र स्थापित नेतृत्व नभएको अवस्था छ भने भीड व्यवस्थापनका दृष्टिले त्यो पेचिलो अवस्था हो। यस्तो भीड कुनै पनि समयमा अराजक समूहमा रूपान्तरण भई ध्वंसात्मक, हिंसात्मक र हिंस्रक हुनसक्ने सम्भावना रहन्छ। टीकापुर काण्ड, गौर काण्ड, ऋतिकरोशन काण्ड, ०४७ सालको जनआन्दोलनको अन्तिम दिनको टेकु काण्ड हाम्रो अगाडि छर्लंग छन्।

भौतिक र शारीरिक रूपमा मानिसको बाक्लो उपस्थिति, परस्पर उत्तेजनाको सञ्चार, भीडको असंगठित र अस्थायी चरित्र तथा व्यक्तिगत जवाफदेहिताको अभाव कुनै पनि भीडको सामूहिक चरित्र हो। तर्क र कारणभन्दा उत्तेजना र संवेदनाको सामूहिकीकरण र माहौलको असामान्यीकरणले भीडको मनोदशालाई उछालिरहेको हुन्छ। उत्तेजनाको तह घट्न थाल्यो भने भीड सामान्यीकृत हुँदै विकेन्द्रित र स्खलित हुनथाल्छ। भीडको उत्तेजनामा व्यक्तिहरू असामान्य गतिविधिका लागि उक्सिरहेका हुन्छन्। त्यस्ता गतिविधिले सामूहिकतामा जीवन्तता थपिरहेको हुन्छ र यसले भीडलाई टिकाई राख्छ। भीडमा व्यक्तिगत जवाफदेहिता छोपिने हुँदा भिडालुहरू आफ्नै अन्र्तनिहित व्यक्तिगत स्वभावसँग मेल नखाने र सामान्य अवस्थामा नगरिने खालका भीडमुखी अराजक र उच्छृंखल व्यवहार गर्न थाल्छन्। एउटा व्यक्तिको त्यस्तो व्यवहार अर्को व्यक्तिका लागि उत्प्रेरक भइदिन्छ र क्रमशः उच्छृंखल र अराजक व्यवहारको शृंखला सुरु हुन्छ।

अपरिचित नै भए पनि भिडालुहरूबीच सहिष्णुताको अभिवृद्धि भइरहेको अवस्थामा उक्त भीडले विपक्षीका रूपमा चित्रण गरेको अर्को पक्षप्रतिको प्रतिरोध, अविश्वसनीयकरण र दानवीकरण भीडतन्त्रको अर्को नियमक चरित्र हो। त्यति गरेन भने भीड ‘भीड’ रहँदैन। जिम्मेवारीबोध ह्रास हुँदै जाँदा, उत्तेजना बढ्दै जाँदा र स्वैरकल्पनाको सामूहिकीकरण हुँदै जाँदा भीडभित्रै पनि सूचना, बिम्ब, उत्तेजना र आक्रोशका छालहरू तरंगित भइरहन्छन्, जसले भीडको विविधतामा रक्तसञ्चारको काम गरिरहेको हुन्छ।

डा. युवराज लुइँटेल

यस्तो भीडतन्त्रमा आक्रोश ओकल्न र भिडालुहरूको संवेदनालाई अभिव्यक्ति दिन वा त्यसलाई उछाल्न सिपालु ‘आक्रोशकार’हरूको उपस्थितिले पनि मलजल गरिरहेको हुन्छ। यस्ता आक्रोशकारहरूले भीडकोे संवेदनालाई विस्तारित गर्दै उनीहरूको प्रवक्ता जसरी काम गरिरहेका हुन्छन्।

सबैभन्दा महत्वपूर्ण कुरा भीडको पाश्र्वभागमा बसेर योजनाको तानाबाना बुन्ने, संयोजन गर्ने, परिचालन गर्ने, रणनीति बनाउने, नारा तय गर्ने र त्यसलाई उत्तेजनामा रूपान्तरण गर्ने काम एउटा संगठित समूहले (वा त्यस्ता समूहको नेटवर्कले) गरिरहेको हुन्छ। त्यो समूह र तिनका उद्देश्यको पहिचान भीडतन्त्रको नियमनका लागि ज्यादै महत्वपूर्ण हुने निश्चित छ।

भीडतन्त्र अराजक हुँदै जाँदा निहित स्वार्थी समूह र शक्ति केन्द्रहरू वा भीडमा पस्छन् र त्यसलाई दिग्भ्रमित गर्छन्। वा तिनीहरू पाश्र्वक्षेत्रमा रहेर काम गर्ने संयोजन समूहमै घुसपैठ गर्छन् र त्यसलाई विद्रोह, विध्वंस, हिंसा, लुटपाट र आमहत्याका लागि उक्साउँछन्, जुन यसपटक चितवनमा हुन पाएन।

भीडतन्त्रको कसीमा चितवन परिघटना
‘रविलाई फसाइँदैछ’ भन्ने कुराको कुनै विश्वसनीय आधार नभईकनै, लहैलहैको भरमा, अथवा भनौँ फेसबुके प्रोपोगण्डाकै भरमा जति धेरै मानिस चितवनका सडकमा झरेका थिए, त्यो आश्चर्यजनक रह्यो। फेसबुके अफवाहका पछाडि दुई वस्तुगत आधारचाहिँ थिए। एक, राज्यसंयन्त्र र प्रशासनप्रतिको गहिरो अविश्वास। राज्यसंयन्त्रले वस्तुगत आधारभन्दा पनि अमूक शक्तिकेन्द्रको दबाब र प्रभावमा काम गर्नसक्छ भन्ने भयको मानसिकता। यो आम मानिसकता यसअघिका सरकारहरू र पञ्चायतकालीन सरकारका व्यवहारको कारण पनि विकसित भइरहेको स्थिति हो। दोस्रो, गत वर्ष कञ्चनपुरमा घटेको निर्मला हत्या प्रकरण र त्यसमा प्रहरीको संशयपूर्ण असफलताले सचेत नेपालीहरूबीच प्रहरी–प्रशासनप्रति गहिरो अविश्वास कायमै छ। पञ्चायतकालीन नमिता–सुनिता प्रकरण समेत यहाँ जोडिन आइपुग्छ। प्रहरी–प्रशासनको त्यो चरित्र कतै चितवनमा रविमाथि दोहोरिने त होइन भन्ने भयभाव पनि चितवनको सडकमा भीडतन्त्रमार्फत् छताछुल्ल भएकै हो।

यसबाहेकै पनि चितवनको जनप्रदर्शन, त्यसको संरचना र परिचालनले भीडको सामूहिक चरित्रलाई उजागर गरी नै रह्यो। भीड जम्मा हुने गतिलो आधार आशाभन्दा पनि भय र त्राश बनेको देखियो। लहैलहैमा लाग्नु, प्रमाणभन्दा भावनामा बग्नु, तर्कभन्दा उत्तेजना फैलाउनु भीडको सामूहिक चरित्रका विशेषता हुन्। चितवनमा रविको नाममा यसपालि जे जस्तो देखियो, त्यो भीडतन्त्रको सबल अभिव्यक्ति थियो।

संस्थापन पक्षप्रतिको असन्तुष्टिले जब प्रभावकारी अभिव्यक्तिको बाटो पाउँदैन त्यो यदाकदा भीडतन्त्र र लहैलहैवादमा अभिव्यक्त हुन्छ। पञ्चायती शासन घनिभूत भइरहेको समयमा काठमाडौँमा नानीमैयाँ दाहालको राजनीतिक उदय यसको ज्वलन्त उदाहरण हो। बुझ्नुपर्ने कुरा के हो भने भीडतन्त्रको स्थायी चरित्र हुँदैन। ढिलो वा चाँडो यसको ध्वंसात्मक रूपान्तरण वा पटाक्षेप नै हुन्छ।

नेपाली समाजमा महिला विरोधी हिंसा बढिरहेको समयमा राज्यका तर्फबाट त्यसको स्थायी सम्बोधन हुन नसकेको समयमा रविले ‘जनतासँग सीधा कुरा’ कार्यक्रममार्फत् २–४ वटा घटनामा महिलालाई न्याय दिलाएको सम्झनाले महिलाहरूको मन–मस्तिष्कमा व्यक्ति–केन्द्रित शक्तिमा गहिरो विश्वास पलाएको पनि देखियो। राज्यसंयन्त्रले गरेका तमाम काममा ध्यान नजाने, राज्यलाई गाली नै गरिराख्ने र व्यक्तिले गरेका एकांकी घटनालाई नै प्रधान र विश्वसनीय मान्ने ‘लहैलहै’ चरित्र चितवनको परिघटनामा महिलाहरूको आवेगपूर्ण सहभागितामार्फत् राम्रैसँग अभिव्यक्त भएको पाइयो। राज्यले हैन बरु अमूक व्यक्तिले सुरक्षा गरिदिने सामथ्र्य राख्छन् भन्ने स्वैरकल्पना भीडतन्त्रको अन्तर्यका रूपमा अभिव्यक्त भयो।

भीडतन्त्रको अर्को विशेषता यसको खास उद्देश्य नहुनु र क्षणिक आवेगमा (निर्माणभन्दा पनि विनिर्माणमा) आधारित हुनु पनि हो। न्यायिक प्रक्रियाअन्तर्गत चितवन जिल्ला अदालतले रवि लामिछाने सहितका अभियुक्तहरूलाई धरौटी सहित पूरक आदेश समेत दिएको अवस्थाबाट अदालतले प्रहरीको मागदावीलाई प्रारम्भिक अवस्थामा सही नै ठहर गरेको प्रमाणित हुन्छ। चितवन परिघटनाको पटाक्षेपका रूपमा गत मंगलबार गरिएको धन्यवाद सभालाई विजयोत्सवका रूपमा जसरी प्र्रस्तुत गरियो त्यहीं लहैलहैवादको कलेवरमा भीडतन्त्र प्रकट भइरहेकै थियो।

‘हल्लाकारहरू’को उपस्थितिबिना भीडतन्त्रले ऊर्जा प्राप्त गर्दैन। शंकालाई उछालेर आवेग सिर्जना गर्न, राज्यसंयन्त्रलाई शत्रुको रूपमा चित्रण गरी प्रतिरोधी भावनालाई जीवन्त राख्न र प्रोपोगण्डाहरूलाई फ्याँकेर उत्तेजना कायम राखी भीडको आकार घट्न नदिन ‘हल्लाकारहरू’को प्रभावकारी उपस्थिति आवश्यक हुन्छ। चितवनको परिघटनामा ज्ञानेन्द्र शाही, रमेश प्रसाई, पुण्य गौतम जस्ता वाचाल वक्ताहरूले प्रवक्ताकै रूपमा ‘हल्लाकार’को भूमिका प्रभावकारी रूपमा पूरा गरेका छन्। यीमध्ये केही व्यक्तिको संदिग्ध पृष्ठभूमिको कारण चितवनको परिघटनामा खास शक्तिकेन्द्रहरू स्वयम् नै पानी धमिलो बनाउन उद्यत त थिएनन् भनी आशंका उब्जिएकै छ। बाह्य शक्तिको घुसपैठ हुनु भीडतन्त्रको अर्को परिचायक प्रवृत्ति हो। कैलाली घटना यो सन्दर्भमा गहिरो पाठ हुनसक्छ।

सामाजिक–राजनीतिक सन्देश
गएको दुई हप्ता चितवनका सडकमा ओर्लेका जनताको आकार, त्यसको बनोट र संरचना, पृष्ठभूमिमा रहेर त्यसको संयोजन, प्रचार र परिचालन सबै समग्रमा गम्भीर प्रकृतिको छ। यसलाई कुनै एउटा मात्रै कोणबाट बुझ्ने र अर्थ लगाउने प्रयास आंशिक, अधुरो र प्रत्युत्पादक हुनसक्छ।

यो परिघटनालाई स्वतःस्फूर्त र व्यक्ति–केन्द्रित वा व्यक्तित्व–केन्द्रित मात्रै मानेर अथ्र्याउन र त्यसैकारण नकार्न मिल्दैन। यो सरकारविरोधी, खास पार्टीविरोधी, खास नेताविरोधी अभियान मात्रै पनि होइन। यसका स्वभाव र चरित्रहरू गम्भीर र बहुआयामिक छन्। गम्भीर यसकारण कि यसले भीडतन्त्रको रूपमा हस्तक्षेप खोज्यो। भीडतन्त्रको आँखाबाट हेर्दा यो वर्तमान राजनीतिक परिदृश्यप्रति असन्तुष्ट जमातको सग्लो अभिव्यक्ति पनि हो। तर, यो भीडले जनमत बनाउने चेष्टा पनि गरेको कुरा जगजाहेर छ।

चितवन परिघटना समाजमा रहेको असुरक्षा भावको सोलोडोलो प्रतिबिम्बन र सुरक्षाका वैकल्पिक उपायहरूको खोजी पनि हो। चितवन परिघटना चितवनकै विशिष्टता र यसका विविध राजनीतिक आयामहरूको गुम्फन पनि हो। भीडतन्त्रको रूपमा त्यसको अभिव्यक्ति फेरि पनि गम्भीर छ। यो परिघटनामा मूलधारका राष्ट्रिय मिडियाभन्दा सामाजिक सञ्जालहरू बढी वाचाल र प्रभावकारी देखिए। सञ्चार र प्रोपोगण्डा ‘टुल’ का रूपमा तिनको प्रभावकारी उपयोगलाई प्रजातान्त्रीकरणको अभ्यासका रूपमा मान्न बुझ्नु झनै ठूलो भ्रम हुने छ। भीडतन्त्रलाई यस्ता माध्यमले कसरी उक्साउँछन् र स्वैरकल्पनाको खेती गर्छन् भन्ने बुझ्न ढीला गर्नु प्रत्युत्पादक हुनेछ।

चितवन परिघटनामा एउटा जिम्मेवार नेतृत्व वा संयोजनकारी समूह प्रकट रूपमा अगाडि नआउनु तर ११ दिनसम्म प्रदर्शनलाई भीडतन्त्रकै रूपमा रहन दिई पर्दा पछाडिबाट कसैले प्रभावकारी संयोजन र परिचालन गरिरहनु सुरक्षा सम्वेदनशीलताको दृष्टिले पनि मिहीन विश्लेषण गरिनुपर्नेे विषय हो।
एउटा प्रश्न फेरि पनि अनुत्तरित नै छ– चितवन जिल्ला अदालतले रवि लामिछानेलाई थुनामै राखी पुर्पक्ष गर्ने आदेश दिएको भए त्यहाँका सडकमा अहिले के बगिरहेको हुन्थ्यो होला ? भीडतन्त्रलाई यसरी पनि सपाट रूपमा बुझ्न जरूरी छ।

प्रकाशित: १४ भाद्र २०७६ ०४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App