१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

वाइन बाजे

पदम विश्वकर्मा

मन्दिर परिसरमा एक तमासाको भीड थियो। पूजाका लागि सहरका विभिन्न भागबाट मानिसको ओइरो लागेको थियो। हातहातमा पूजाको थाली। रातो सारीमा उभिएका मान्छे हेर्दा तीजको मेलाजस्तै लाग्थ्यो। केही वर्ष पहिलाको कुरा, पुजारी बाजे एक–दुई हप्ता बिराएर मेरो घर आइरहन्थे। शनिबार वा आइतबार साँझ बाजेको बास मेरो घरमा हुन्थ्यो।

यस क्षेत्रमा नेपाली र भुटानी नेपालीको संख्या करिब दस हजार जति पुगिसकेको थियो। संसारको जुनसुकै कुनामा पनि आफ्नो धर्म, संस्कृति, परम्परा, रीतिरिवाज बोकेर पुग्छन् नेपाली। नेपालीहरू चाडपर्वमा हिन्दू मन्दिर धाउँथे। सधैँ टाढाटाढाका मन्दिरमा जानु पर्दाको पीडा अर्कै थियो। भाषा नमिल्ने, पूजाविधिको प्रक्रिया नमिल्ने, मन्दिर खुल्ने र बन्द हुने समय नमिल्ने, दान ग्रहण नगरिदिने आदि समस्या थिए। नेपाली पूजामा मात्र सीमित हुँदैनन्, उनीहरू दानदक्षिणा गर्ने, सामाजिक, सांस्कृतिक संस्था गठन गर्ने, मन्दिर निर्माण गर्ने आदि काममा उत्तिकै सक्रिय देखिन्छन्। नेपालीको संख्या बढ्दै जाँदा सबैलाई आफ्नो ठाउँमा मन्दिरको खाँचो महसुस भयो। लगत्तै केही नेपाली, व्यापारी र बुद्धिजीवी मिलेर मन्दिर बनाउने सहमति भयो। धर्म गुरुहरूसँगको रायपश्चात् मन्दिर स्थापनाको अभियान सुरु भयो।

मन्दिर शुभारम्भ गर्ने बेला हप्ता दिनसम्म महापुराण लगाइयो। भक्तजन हप्तैभरि पूजा र दान–दक्षिणा गरे। मन्दिरको माग पूरा भयो। सबैमा एक किसिमको प्रशन्नता छायो। मन्दिर स्थापनासँगै पुराणका लागि नेपालबाट झिकाइएका एक पुजारीलाई सधैं यतै बस्न आग्रह गरियो। उनको खाने, बस्ने आदि खर्च मन्दिर व्यवस्थापन समितिले बेहोर्ने निर्णय भयो।

मन्दिरमा पुजारीको प्रवेशाज्ञाका लागि समितिले व्यवस्था मिलायो। केही वर्षपछि नेपालबाट श्रीमती र बालबच्चा अमेरिका आइपुग्ने आशामा पुजारीका दिन बित्न थाले। पुजारीले बनारस विश्वविद्यालयबाट शास्त्री पास गरेका थिए। आश्रमबाट वेद–वेदादि, नित्यकर्म, पूजाआजा, विधि आदि पढेका र गुरुहरूको आशीर्वचन, भिक्षा आदि पनि प्राप्त गरेका थिए। ६ वर्षको उमेरमा बनारस पुगेका उनले करिब चालीस वर्ष यिनै काममा जीवन समर्पण गरेका थिए। कथा वाचन, पूजाआजा, व्रतादि, मन्त्रोच्चारण आदि सबै काममा उनी पोख्त थिए।

भक्तजनबाट प्राप्त हुने माया, सद्भाव र परिवारबाट पाइने माया, ममतामा आकाश–जमिनको फरक हुन्छ नै। श्रीमती, बालबच्चा अमेरिका आउन नसक्ने निश्चित भएपछि उनी झन् विचलित बन्दै गए।

पूजाका निमित्त उनी अन्य राज्यमा पनि भ्रमण गर्न पुगे। उनलाई भ्याइनभ्याई हुन थाल्यो। दिन बित्दै गए। वर्ष बित्दै गए। श्रीमती र परिवार अमेरिका ल्याउने र बाँकी जीवन सँगै बिताउने आकांक्षा पनि बिलाउँदै गयो। उनमा दिन–प्रतिदिन निराशाका रेखा थपिँदै गए। सानै उमेरमा घर त्यागेका पारिवारिक स्नेहबाट टाढिँदै गएकाले उनको मनमा अधैर्य र विचलन पैदा हुनु स्वाभाविकै थियो। यी चिन्ता, वेदना र रोदन बिसाउने ठाउँको आवश्यकता बढ्दै गयो। स्नेह र पारिवारिक माहोल खाँचो महसुस हुँदै गयो।

मन्दिरमा पूजाआजा, व्रत, धर्म आदिका लागि भक्तजनको प्रवेश बढ्न थाल्यो र उनले भक्तजनसँग सम्बन्ध बढाउँदै लगे। अलिकति भए पनि उनलाई परिवारको अभाव बिर्सन सजिलो भयो। भक्तजनहरू मेवा मिष्ठान्न बोकेर मन्दिर पुग्थे। मन्दिरमा आएका प्रसाद बोकेर भक्तजनकहाँ पुग्थे पुजारी। समुदायमा उनी लोकप्रिय बने। यो क्रम चलेको झन्डै चार वर्षपछि उनको परिवार अमेरिका आउने आशा एक किसिमले टुंगियो।

भक्तजनबाट प्राप्त माया, सद्भाव र परिवारबाट प्राप्त हुने माया, ममतामा आकाश–जमिनको फरक हुन्छ नै। श्रीमती, बालबच्चा आउन नसक्ने निश्चित भएपछि उनलाई वियोगको पीडाले विचलित बनाउँदै लग्यो। मनमा पारिवारिक पीडाको आगो दन्कन थाल्यो। परिवारबाट दिनहुँ आउने फोनले घरै फर्कन कर गरिरहेको थियो। विछोडको पीडा सहज थिएन। भित्री मनले नेपाल फर्कन भनिरहेको थियो।

घर फर्कने या केही समय प्रतीक्षामा बिताउने ! उनमा दोधारे मानसिकता विकास हुन थाल्यो। उनी हस्तरेखा विज्ञानमा पनि खप्पिस थिए। मन्दिरमा आफ्नो भाग्यरेखा हेर्नेको लाम लागिरहन्थ्यो। भाग्यरेखा हेराउँदा हामीलाई पनि भाग्यशाली नम्बरहरू लेखेर सुटुक्क दिएका थिए। मन्दिरको आवास, खाना, सुविधा कस्तो छ भनेर म बरोबर सोध्थें। दाल, चामल, सागसब्जी, दूध, घ्यू, सिरक, हिटर आदि बोकेर बेलाबेलामा मन्दिरमा जान्थें। मन्दिरमा पूजा नभएको दिन उनी हाम्रो घरमा आउँथे। घरमा बनेको खाना खानु उनको सौखकै विषय थियो। उनी प्रायः शनिबार र आइतबार आउने गर्थे। लिन जाने र पु-याउन जाने मेरो दायित्व थियो। घरमा आउँदा पारिवारिक बिछोडको वेदना पोख्थे। उनको वेदनाले हाम्रो मन विह्वल बन्थ्यो। उनको पीडामा हामी पनि समाहित बन्थ्यौँ। हामीलाई पीडा सुनाएर हलुँगो बन्ने प्रयास गर्थे उनी। 

दिनहरू क्रमशः बित्दै गए। गर्मीको याम थियो। साँझ छोराहरू घर पछाडि चउरमा भलिबल खेल्थे। बगैँचामा पुजारी र म सुख–दुःखका भावना आदान–प्रदान गथ्र्यौं। सधैंजस्तो एक साँझ पुजारी घरमा आइपुगे। हामी घर पछाडिपट्टिको टेबलमा बस्यौँ। उनले मसँग प्वाइन मागे। मैले अहिलेसम्म नसुनेको कुरा मागेको सुनेर आश्चर्यचकित भएँ। के मागेका हुन् बुझ्न सकिनँ। उनले दोहो-याए, तेह-याए तर मेरो शब्दकोशमा प्वाइनको अर्थ खुलेन। मैले बुझ्न नसकेपछि बाजेले सुटुक्क कानमा भने– वाइन क्या हजुर।

गलासम्म आएको हाँसोलाई गलामै रोकेँ मैलें। त्यसपछि छोरालाई वाइन लिन लिकर स्टोर पठाएँ। उसले वाइन ल्याएर टेबुलमा राखिदियो। उनले स्टिलको गिलास मगाए। सायद बाहिरबाट वाइन नदेखिने भएर उनले स्टिल गिलास मगाएका होलान् ! कण्ठी लगाएको हुनाले मासुचाहिँ खाँदैनथे। तर, मनको वह मेट्न हरेक पटक ‘अंगुरको रस त हो नि !’ भन्दै वाइन सेवन गर्थे। ‘कसैलाई नभनिदिनू है !’ भनेर मलाई बेलाबेलामा अनुरोध पनि गर्थे। वाइन टन्न पिएपछि उनी कोठामा जान्थे।

हामी उनलाई ‘प्वाइन बाजे !’ भनेर गिज्याउँथ्यौं। एकदिन सानो छोराले सोध्यो– पापा ! प्वाइन बाजे कहिले आउनुहुन्छ ? छोटो उत्तरमा भनें, ‘शनिबार।’

पुजारी बाजेको विदेश बसाइ तनावग्रस्त थियो। तनावको प्रमुख कारण पारिवारिक विछोड थियो। रात बित्थ्यो, फेरि दिन आरम्भ हुन्थ्यो। उनका लागि दिन र रातमा कुनै अन्तर थिएन। ‘रातमा पनि म जागै रहन्छु हजुर !’ भन्थे। उनको शरीरको पारो चढेर सधैँ सय नाघ्थ्यो। आधा परदेश र आधा घरदेशमा मन विभक्त थियो। भित्री ज्वरोको कारण सधैँ चिटचिट पसिना बगिरहन्थ्यो र नदी बनेर चिउँडोबाट बगेको देखिन्थ्यो।

पुजारीलाई अंगुरको रस हरेक दिन पिउने बानी परिसकेको थियो। त्यो समरभरि प्रायः उनको बास मेरै घरमा बित्यो। केही महिनापछि उनी फेरि घरमा आए। टन्न वाइन खाए। ‘यो अन्तिम रात हो’ भन्दै उनी घुँक्कघुँक्क रोएर बिदा भए। त्यसपछि कहिल्यै फर्केनन् उनी।

प्रकाशित: १४ भाद्र २०७६ ०४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App