१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्वास्थ्य चौकीमा पहिलो टेलिमेडिसिन

बनेपा - काभ्रेपलाञ्चोक जिल्लामै पहिलो पटक सरकारी स्वास्थ्य सेवा प्रदायक संस्था (हेल्थ–पोस्ट) मा टेलिमेडिसिन सेवा सुरु भएको छ। मण्डनदेउपुर–११ (साविक जैसीथोक गाविस) स्थित स्वास्थ्य चौकी (हेल्थ–पोस्ट) मा हालैबाट यो सेवा सुरु भएको हो।

हेल्थ–पोस्टमा आएका बिरामीहरूले काठमाडौं मोडेल अस्पतालका विशेषज्ञ चिकित्सकहरूसँँग ‘रियल टाइम भिडियो कन्फेरेन्सिङ’ पद्धतिमा रहेर स्वास्थ्य परामर्श लिइरहेका छन्। सोमबारको सेवामा काठमाडौं मोडेल हस्पिटलका वरिष्ठ सर्जन डा. उदय कोइराला, छालारोग विशेषज्ञ डा. सुपर केसी र फिजिसियन डा. विज्ञान आचार्यसँग काभ्रेका बिरामीले स्वास्थ्य समस्याहरू राखेका थिए र तत्कालै समाधानका उपायसमेत पाएका थिए।

‘गोडाका नसाहरू फुल्ने समस्याले धेरै समयदेखि पीडित थिएँ। आफ्नो समस्यालाई भिडियोबाट देखाएँ,’ जैसीथोक–३ की सावित्री न्यौपानेले भनिन्, ‘मेरो रोग पत्ता लाग्यो। उहाँहरूले मोडल अस्पताल आउन या नभ्याउने भए धुलिखेल अस्पतालमा जानू भनी सल्लाह दिनुभयो।’ जैसीथोक हेल्पोस्टमा सोमबार आएका बालबालिकादेखि जेष्ठ नागरिकसम्म सबैले त्यहाँ जडित भिडियो कन्फेरेन्सिङमार्फत काठमाडौं मोडेल अस्पतालमा रहेका विशेषज्ञ चिकित्सकहरूसँग आफ्ना समस्याहरू राखेका थिए। चिकित्सकहरूले पनि भिडियोबाटै घाउचोट तथा लक्षणहरू नियाल्दै समाधानका उपायहरू बताएका थिए।

काठमाडौंबाटै प्रत्यक्ष सम्पर्कमा बिरामीको समस्या सुन्दै÷हेर्दै उपचार सेवाका बारेमा सल्लाह दिन पाउँदा ज्यादै खुसी लाग्छ। बिरामीहरूलाई पनि सबै सूचना र जानकारीहरू दिइने भएकाले अस्पताल आएपछि अलमल हुँँदैन।

‘हाम्रो हेल्थ–पोस्टमा पारामेडिकलहरूमात्रै कार्यरत छौं। टेलिमेडिसिनको माध्यमले हामीभन्दा पनि धेरै विज्ञता भएका डाक्टरसाबहरूसँग बिरामीले प्रत्यक्ष कुराकानी गर्दै समाधान पनि पाउन थाल्नुभएको छ। यो खुसीको कुरा हो,’ हेल्थ–पोस्ट इन्चार्ज अस्मिता चौलागाईले भनिन्।

बिरामीमात्रै नभई हेल्थ–पोस्टमा कार्यरत स्वास्थ्यकर्मीलेसमेत सेवा लिने अवसर पाएकोमा उनीहरू पनि खुसी छन्। ‘बिरामीहरू खाली भएलगत्तै हाम्रै कर्मचारीहरूले पनि डाक्टरहरूसँग परामर्श लिन थाल्नुभएको छ। किनकि बिदाका दिनबाहेक उहाँँहरू हेल्थ–पोस्टबाट निस्कन पाउनुहुन्न, अनि बिदाको दिनमा अस्पतालका ओपिडीहरू बन्द हुन्छन्। अहिले हामीलाई पनि सुविधा मिलेको छ,’ चौलागाईले थपिन्।

सरकारी हेल्थ–पोस्टमा यो सेवाका लागि सन् २००७ का म्यागासेसे अवार्ड विजेता महावीर पुन, काठमाडौं मोडेल अस्पताल, नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरइएन) र मण्डन–देउपुर नगरपालिकाले सहकार्य गरेका छन्। पुनले भिडियो कन्फेरेन्सिङका उपकरणहरू प्रदान गरेका छन् भने प्राविधिक सहयोग एनआरइएनले गरेको छ।

‘नगरपालिकाकै वडा भनिए पनि साविकको जैसीथोक गाविसका अधिकांश भूभागमा अहिले पनि गाडी चल्दैन। बिरामीहरू हिँडेर हेलम्बु राजमार्ग आउन र त्यहाँबाट सहरका अस्पतालसम्म पुग्न निकै कठिनाइ छ,’ तत्कालीन जिल्ला विकास समितिका सदस्य आत्माराम पराजुलीले भने, ‘हाम्रो हेल्थ–पोस्टमा सुरु भएको टेलिमेडिसिन सेवाले दूरदराजका बिरामीले बढी फाइदा लिन सक्ने भए,’ उनले थपे।

काठमाडौं मोडेल हस्पिटलका वरिष्ठ सर्जन एवं एनआरइएनका कार्यसमिति सदस्य डा. उदय कोइराला पनि काभ्रेमा पहिलो पटक टेलिमेडिसिन सेवा सुरु गर्न पाएकोमा खुसी देखिन्छन्, ‘काठमाडौंबाटै प्रत्यक्ष सम्पर्कमा बिरामीको समस्या सुन्दै÷हेर्दै उपचार सेवाका बारेमा सल्लाह दिन पाउँदा ज्यादै खुसी लाग्छ। सानोतिनो समस्यामा हेल्थ–पोस्टबाटै समाधानका उपाय दिइने भएकाले रेफरल अस्पतालसम्म आउनु नपर्ने हुन्छ। यदि आइहाल्नुपर्ने बिरामीहरूलाई पनि सबै सूचना र जानकारीहरू दिइने भएकाले अस्पताल आएपछि अलमल हुँँदैन,’ उनले थपे।

एनआरइएनका सिस्टम तथा नेटवर्क एड्मिनिस्टर निराजन पराजुलीका अनुसार महावीर पुनको सहयोगमा हेल्थ–पोस्टमा पोलिकमको एचडिएक्स ४००० भिडियो कन्फरेन्सिङ प्रणाली जडान गरिएको छ। यो प्रणालीलाई मोडल अस्पतालमा रहेको पोलिकमकै एचडिएक्स ७००० प्रणालीमा आबद्ध गरिएको छ। हेल्थ–पोस्टसम्म काभ्रेकै पहिलो आइएसपी अल्ट्रानेट कम्युनिकेसनको फाइबर अप्टिकल केबुलबाट इन्टरनेट उपलब्ध गराइएको छ।

‘टेलिमेडिसिनमा क्यामरा जडित कम्प्युटरको प्रयोग हुने भएकाले बिरामीले गाउँमै रहेर आफ्नो शारीरिक अवस्था, रोग आदि सम्बन्धित विशेषज्ञलाई देखाउन, परामर्श लिन र औषधिको नाम लेखाउन सक्छन्। टेलिमेडिसिनलाई ‘रियल टाइम भिडियो कन्फरेन्सिङ’ र ‘स्टोर एन्ड फर्वाड’ दुई तरिकाबाट गर्न सकिन्छ। हामीले जैसीथोकमा पहिलो तरिकाबाट सेवा सुरु गरेका हौं,’ उनले थपे।

टेलिमेडिसिन सेवा दिने क्रममा स्वास्थ्य चौकीमा कार्यरत पारामेडिकलहरूले समेत विशेषज्ञहरूबाट ‘रिफ्रेसर’ ज्ञान र सिप पाउन थालेका पराजुलीको भनाइ छ, ‘बिरामीसँगको वार्तालापको क्रममा स्वास्थ्यकर्मीहरू पनि भिडियो कन्फरेन्समा सहभागी हुनुहुन्छ। यसबाट उहाँहरूको सिकाइलाई ताजा बनाउनमा पनि मद्दत पुगेको छ,’ उनले थपे।

काभ्रेमै पहिलो पटक सुरु भएको टेलिमेडिसिन सेवाले ‘डिजिटल हेल्थ’ मा पनि जिल्ला अघि बढेको सूचक देखिएको क्यान महासंघ काभ्रेका अध्यक्ष जयराम हुमागाईको भनाइ छ, ‘मुलुकले डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) स्वीकृत गरेकोमा डिजिटल हेल्थ पनि एउटा ‘कम्पोनेन्ट’ का रूपमा रहेको छ। यसको कार्यान्वयन काभ्रे जिल्लामा पनि सुरु हुँदा सूचना प्रविधिक्षेत्रका हामी सबै खुसी भएका छौं,’ उनले भने।

काभ्रे जिल्लामै र नगरकै हेल्थ–पोस्टमा पहिलो पटक टेलिमेडिसिन सेवा सुरु भएकोमा नगर स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले खुसीव्यक्त गर्दै भने, ‘जैसीथोकलगायत नगरभरिका हेल्थ–पोस्टहरूलाई कम्प्युटरलगायत सामग्रीहरू उपलब्ध गराउने र प्रविधिमा आधारित स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै जाने योजना राखेका छौं।’

प्रकाशित: १४ भाद्र २०७६ ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App