१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाई राजनीति : जंगल छाड्ने भनेका गाई भीरबाट खसालियो

वीरेन्द्रनगर नगरपालिका–८ स्थित सेल्फीडाँडा नजिकै भिडबाट खसालिएका गाईहरू। तस्बिर : नगेन्द्र /नागरिक

नगेन्द्र/गणेश विशु
सुर्खेत – दैलेख सडक खण्डको कटकुवा चोकमा खाजा पसल सञ्चालक वीरेन्द्रनगर–१४ का कृष्णप्रसाद खरेल सधैं झैं शुक्रबार बिहान पसल खोल्न जाँदा पसल वरिपरि छाडा चौपायाको बथान देखेर छक्क परे। ‘आजसम्म यो क्षेत्रमा छाडा गाईबस्तु देखेको थिइनँ, एकाबिहानै यतिधेरै चौपायाहरू देख्दा छक्कै परें,’ खरेलले नागरिकसँग भने, ‘बथानको बीचबीचमा केही चौपायाहरू मरेका पनि थिए।’

खरेलले तत्कालै जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई खबर गरे। केहीबेरमै सुर्खेतबाट दैलेख जाने र त्यहाँबाट आउनेहरू कटकुवामा जम्मा भइसकेका थिए। ‘अरू मानिस आएपछि वरिपरि पनि खोजतलास ग¥यौं,’ उनले भने, ‘नजिकैको भीरमा नौ वटा गाई मृत अवस्थामा पायौं।’ स्थानीयका अनुसार भिरालो ठाउँमा गाडी ब्याक गरेर झार्दा गाईहरू भीरबाट खसेका हुन्। भीरबाट खसेर यहाँ नौ वटा गाई मरेका थिए भने केही घाइते थिए।

वीरेन्द्रनगर नगरपालिकाको वातावरण एवम् अनुगमन शाखा प्रमुख यामलाल गिरीले गाडी ब्याक गरेर गाईहरू भीरमा खसालेको पाइएको बताए। ‘सेल्फीडाँडा भिरालो ठाउँ छ, त्यहीं नजिकैबाट गाडी ब्याक गरेर ट्रकमा राखिएका गाईहरू खसालेको देखिन्छ’ उनले भने, ‘नगरपालिकाको टिम घटनास्थल पुग्दासम्म भीरमा खसालेका सबै गाईहरू मरिसकेका थिएनन्, केही ज्युँदै थिए।’ उनले एक सय ५० भन्दाबढी गाईहरू घाइते रहेको जानकारी दिए। ‘मृतक गाईको संख्या अझै बढ्न सक्छ,’ गिरीले भने, ‘घाइते भएका मध्ये ३०–३५ वटा गाई गम्भीर अवस्थामा छन्।’

बिहान आठ बजेतिर प्रहरी घटनास्थल पुग्दा सेल्फीडाँडादेखि देवकोटा कटेजसम्मको साढे तीन किलोमिटर दूूरीमा सडकभरि चौपायाहरू थिए। प्रहरीले मरेका चौपायाहरूको मुचुल्का संकलन सुरु ग¥यो। बेलुकासम्म सो क्षेत्रमा १६ वटा गाई मृत भेटिए। कटकुवा क्षेत्रमै रहेका बेला वीरेन्द्रनगरको प्रवेशद्वार धुलियाविट नजिकैको जंगलमा थप आठ गाई मृत भेटिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट ल्याइएका दुई सय ९१ गाईहरू बिहीबार रातिदेखि शुक्रबार बिहानसम्ममा भेरी पुलदेखि देवकोट कटेजसम्मका विभिन्न जंगलमा छोडिएका हुन्। वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्र कटकुवामा शुक्रबार बिहान साढे तीनदेखि चार बजेका बीचमा गाईहरू छोडेर ट्रकहरू फिर्ता भएको प्रहरीको अनुमान छ। कोहलपुर–सुर्खेत खण्डको रत्न राजमार्गबाट कटकुवा पुग्दासम्म प्रहरीका पाँच र नेपाली सेनाका तीन वटा चेकपोस्ट छन्। यी सबैमा उनीहरूले जिल्ला प्रशासन कार्यालय बाँकेको पत्र देखाएर इन्ट्री गराएका छन्।

‘जिल्ला प्रशासन कार्यालयको पत्रका आधारमा चौपायाहरू ल्याइएकाले चेकपोस्टमा धेरै केरकार गरिएन्,’ प्रहरी नायव उपरीक्षक (डिएसपी) रवि रावलले भने, ‘दैलेखको पञ्चकोसी क्षेत्रमा लानुपर्ने गाईहरू उनीहरूले सुर्खेत क्षेत्रका विभिन्न जंगलहरूमा छोडेको पाइयो।’ प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–२१ फुलटेग्राको कान्जीहाउसबाट चितवन क्यारियरले आठवटा ट्रकमा हालेर ती चौपायाहरू ल्याएको थियो।

प्रहरीले पाँचवटा ट्रक र तीनका चालकलाई शुक्रबार पक्राउ गरेको छ। ‘सुर्खेतका विभिन्न जंगलहरूमा चौपाया छोडेर नेपालगन्ज जाँदै गरेका मध्ये पाँचवटा ट्रकलाई सुर्खेतको सिमाना बबई क्षेत्रबाट नियन्त्रणमा लिएका छौं’ उनले भने, ‘अनुसन्धान गरेर कारबाही प्रक्रिया सुरु गर्छौं।’ उनले गौहत्यामा संलग्न सबैलाई पक्राउ गरिने बताए। प्रहरीको प्रारम्भिक अनुसन्धानले भिरालो ठाउँमा ट्रकहरू रोकेर चौपायालाई खसालेको देखाएको छ।

पक्राउ परेकाहरूले प्रहरीलाई दिएको प्रारम्भिक बयानका क्रममा केही चौपायाहरू ट्रकमा ल्याउँदै मरिसकेकाले भीरबाट खसालेको बताएका छन्। केही चौपायाहरू ट्रकमा ल्याउँदै मरेको र केही चौपायाहरू ट्रकबाट झार्ने क्रममा भीरबाट झरेर मरेको उनीहरूले बयानमा बताएको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) पूर्णजन्द्र जोशीले घटनाको निष्पक्ष छानबिन गरेर संलग्नहरूलाई कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताए। ‘यहाँ छोडिएका चौपायाहरू स्थानीय तहले समन्वय व्यवस्थापन गर्छन्, अन्य पाटोको अनुसन्धान प्रहरीले गर्छ,’ उनले भने, ‘बाटोमा पर्ने प्रहरी युनिटसँगै पठाउने, जिम्मा लिने र ल्याउनेलाई अनुसन्धानको दायरामा ल्याएर कारबाही प्रक्रिया अघि बढाइनेछ। यो प्रकरणमा जो–जो संलग्न छन्, सबैलाई कारबाहीको दायरामा ल्याउँछौं।’

वीरेन्द्रनगर नगरपालिकाका प्रशासन तथा अनुगमन अधिकृत प्रकाश पौडेलले वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका विभिन्न जंगलहरूमा छोडिएका चौपायाहरू फिर्ता लिन नेपालगन्ज उपमहानगरपालिकालाई पत्राचार गरिएको बताए। ‘यहींका छाडा चौपायाहरू व्यवस्थापन गर्न हामीलाई समस्या भइरहेको छ,’ उनले भने, ‘अर्को प्रदेशका चौपायाहरू हामी व्यवस्थापन गर्न नसक्ने अवस्था नभएकाले फिर्ता लिन पत्राचार गरेका छौं।’ उनले नेपालगन्ज उपमहानगरपालिकाले वीरेन्द्रनरमा छोडिएका छाडा चौपायाहरू हिँडाएरै शनिबारसम्ममा दैलेख पु¥याउने तयारी गरेको जानकारी दिए।

प्रकाशित: १४ भाद्र २०७६ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App