१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘अमेरिका–तालिबान वार्ता निष्कर्ष नजिक’

काबुल – अफगानिस्तानमा वर्षौंदेखि जारी सशस्त्र संघर्ष अन्त्य गर्ने उपायको खोजी गर्न संयुक्त राज्य अमेरिका र अफगान विद्रोही समूह तालिबानबीचको वार्ता अन्तिम चरणमा पुगेको विद्रोहीले जनाएका छन्।

अमेरिकी सेनाले भने अफगानिस्तानमा आतंककारीको संरक्षणस्थल बन्न दिनु नहुनेमा जोड दिइरहेका छन्। अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी सैनिक तैनाथ छन्। अमेरिका र तालिबानबीच कतारको दोहामा केही महिनादेखि वार्ता जारी छ। वार्तामा तालिबान समूहले अफगानिस्तानलाई आतंकवादको अखडा बन्नबाट आफूहरुले रोक्ने विश्वासिलो आधार प्रस्तुत गर्न प्रयासरत रहेको बताइएको छ।

‘हामी सम्झौताको अति निकटमा छौं। हाम्रा मुस्लिम दाजुभाइ तथा स्वतन्त्रता पक्षधर सबैलाई हामी एउटा खुसीको समाचार ल्याउने आशामा छौं,’ तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्विट गरेका छन्।

उता अमेरिकी जनरल जोसेफ डनफोर्डले अमेरिकी सेनाले अफगानिस्तान छाड्नुअघि केही विषयमा सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्। उनले सम्झौताबमोजिम सेना फिर्ता हो भनेर अहिलै नै भन्न नसकिने बताए। ‘हामी अफगानिस्तान आतंकवादीको अखडा नबनोस् भन्ने चाहन्छौं। अफगानिस्तानमा शान्ति र स्थिरता हाम्रो चाहना हो,’ उनले भने।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले पनि तालिबान विद्रोहीले अफगानिस्तानलाई आतंकवादीको अखडा बन्नबाट रोक्नुपर्नेमा जोड दिएका छन्।  उनले अमेरिकाविरुद्ध हुने कुनै पनि प्रकारका आक्रमण आफूहरुलाई स्वीकार्य नहुने पनि बताए।

अल–कायदाले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आतंकबादी हमला गरेलगत्तै संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा आक्रमण गरी सेना पठाएको थियो। अफगानिस्तानमा तत्कालीन तालिबान सरकारले अल–कायदालाई आश्रय दिएको अमेरिकी आरोप थियो।

वासिङ्टनले हाल सैनिक संलग्नता अन्त्य गर्न चाहेको छ। यसै सिलसिलामा सन् २०१८ देखि तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादको नेतृत्वमा वार्ता जारी छ। अमेरिका र तालिबानबीच हुने भनिएको सम्झौतामा अफगानिस्तानबाट अमेरिकी सेना चरणबद्धरुपमा फिर्ता हुने, अफगानिस्तानलाई जिहादीको सुरक्षित आश्रयस्थल बन्न नदिइने, अफगानिस्तान सरकारसँग वार्ता गर्ने तथा अन्ततः युद्धविराम गर्ने बुँदा रहेका छन्। अमेरिकी जनरल डनफोर्डले तालिबानसँगको सम्झौता सर्त–सहितको हुने बताए।

विद्रोही नेताहरु भने अफगानिस्तान–पाकिस्तानको सीमावर्ती क्षेत्रमा पछिल्लो सम्झौताको मस्यौदामाथि विचारविमर्श गर्न थालेका छन्। पाकिस्तानमा रहेका तालिबानका एकजना वरिष्ठ कमान्डरले भने, ‘सबै सदस्यलाई सम्झौताको मस्यौदा दिइएको छ र उनीहरुले यसमाथि गम्भीर अध्ययन गरिरहेका छन्। दोहामा रहेको तालिबान टोलीलाई अझै सम्झौताका बारेमा अघि बढ्न आदेश दिइएको छैन।’

‘यसका लागि अझै एक वा दुई दिन लाग्नेछ किनभने तालिबानका नेताहरुले फिल्डमा खटिएका कमान्डरको विश्वास लिन केही दिन लाग्नेछ,’ उनले बताए। अमेरिकी विशेषदूत जाल्मे खलिलजाद पनि सम्झौताका बारेमा अफगान राष्ट्रपति असरफ घानीसँग कुराकानी गर्न एक दुई दिनभित्रै काबुल आउने कार्यक्रम तय भएको छ।

प्रकाशित: १३ भाद्र २०७६ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App