१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पार्टी प्यालेस र क्याफेलाई तत्काल सुधार गर्न निर्देशन

बनेपा- खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले गरेको अनुगमनका क्रममा काभ्रेपलाञ्चोकको व्यापारिक केन्द्र बनेपामा रहेको दुई पार्टी प्यालेस र एक क्याफेलाई तत्काल सुधार गर्न निर्देशन दिएको छ।     

उपभोक्तासँग प्रत्यक्ष जोडिने पार्टी प्यालेस, होटल र क्याफेको गरी १५ वटाको अनुगमन निरीक्षण गरिएकामा ती तीन वटा मापदण्ड नै पूरा नगरी सञ्चालन गरेको पाइएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, बनेपा नगरपालिका, उद्योग वाणिज्य सङ्घ र काभ्रे होटल तथा रेस्टुराँ व्यवसायी सङ्घ लगायतको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा पुलबजारमा रहेको पञ्चकन्या बैक्वेट प्राली र चैतन्य रोडमा रहेको बनेपा पाटी भेन्यु रहेको छ भने बनेपा तीन दोबाटोमा रहेको सिटी फुड क्याफे रहेका छन्।

ती पार्टी प्यालेसमा न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएकाले दुवैलाई तीन दिनभित्रमा कार्यालयमा उपस्थित हुनका लागि निर्देशन दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलका प्रमुख शिवप्रसाद भण्डारीले बताए।     

भण्डारीका अनुसार सिटी फुड क्याफेले सरसफाइ नगर्नुका साथै मापदण्डसमेत पूरा नगरेको पाइएको उनले बताए। भण्डारीले भने, “१५ दिनभित्रमा उनीहरुलाई सुधार गर्न निर्देशन दिएका छौँ, यदि त्यो समयभित्रमा पनि सुधार गरेन भने बन्द गर्नका लागि सिफारिस गर्नेछौँ।”     

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जारी गरेको खाद्य स्वच्छताका आधारमा होटल स्तरीकरण एवं लोगो वितरण कार्यक्रम अन्तर्गत निर्देशिकाले उल्लेख गरेका ५० वटा सुचकका आधारमा बनेपाको होटल तथा पार्टी प्यालेसको अनुगमन तथा निरीक्षण गरेको हो।

सो क्रममा ५० नम्बरभन्दा माथि अङ्क प्राप्त भएमा मात्रै तिनीहरुलाई स्तरीकरण गरेर लोगो वितरण गर्न सकिने आधार भएकाले सोअनुसार काम गरेको छ। ती दुवै पार्टी प्यालेसले ३८ अङ्कभन्दा माथि नल्याएको जनाएको छ।     

पार्टी प्यालेसको भान्सा घर सुरक्षित नभएको, फोहर व्यवस्थापनमा कमजोर रहेको, भान्सामा काम गर्ने कुक र कामदारले प्रयोग गर्नुपर्ने एप्रोनलगायत सुरक्षाका लागि प्रयोग गर्नुपर्ने सामग्री प्रयोग नगरेको पाइएको अनुगमन टोलीले जनाएको छ।

जसमध्ये बनेपा पाटी भेन्युले नगरपालिकामा नक्सा नै पास नगरी संरचना निर्माण गर्नुका साथै नगरपालिकामा व्यवसायी दर्तासमेत नगरी सञ्चालन गरिरहेको पाइएको अनुगमन टोलीले जनाएको छ।रासस

प्रकाशित: १२ भाद्र २०७६ ०७:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App