१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राजनीतिसँगै पशुपालनलाई पनि निरन्तरता दिदैं युवा नेता

दमौली- तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटका काशीनाथ भट्टराई राजनीतिसँगै गाईपालनमा सक्रिय छन्। उनले राजनीतिलाई समाजसेवा र गाईपालनलाई जीवनयापनको माध्यम बनाएका छन्।

राजनीतिलाई उत्पादनसँग जोड्नुपर्छ भन्ने उद्देश्यका साथ गाईपालन र राजनीतिलाई सँगसँगै अगाडि बढाएको भट्टराईले बताए। “समाजसेवा गर्नका लागि राजनीतिमा होमिएँ, समाजसेवाले मात्रै घरखर्च चलाउन सकिन्न, त्यसैले जीवनयापनका लागि गाईपालन गरिरहेको छु” भट्टराईले भने।     

नेपाल कम्युनिष्ट पार्टी बन्दीपुर गाउँपालिका–५ को वडा कमिटी सचिव रहेका उनको गाईफार्ममा अहिले २९ गाई छन्। ती गाईबाट दैनिक दुई सय लिटर दूध उत्पादन भइरहेको र दूध बिक्रीबाट दैनिक ११ हजार रुपैयाँ आम्दानी हुने गरेको छ। सबै खर्च कटाएर मासिक एक लाख ३२ हजार रुपैयाँ आम्दानी हुने गरेको छ। नेकपाको वडा तहको संरचना एकीकरण हुनुअघि भट्टराई तत्कालीन नेकपा एमालेको वडा कमिटीको अध्यक्ष थिए।

अहिले पार्टी एकतापछि सो वडा पूर्वमाओवादी केन्द्रको भागमा परेको कारण उनले वडा सचिवको जिम्मेवारी पाएका छन्। विद्यार्थी कालदेखि अनेरास्ववियुमा आबद्ध भएका भट्टराई विद्यार्थी कालमै गाईपालनमा लागेका थिए। “क्याम्पसको अध्ययनदेखि नै गाईपालन शुरु गरेको थिए,” उनले भने, “विदेश जान मन लागेन, गाईपालनमै रमाउन थालेँ।”    

भट्टराईलाई गाईपालनमा श्रीमती कल्पनाले साथ दिएकी छन्। श्रीमान् पार्टीको काममा जाँदा गाईको स्याहारसुसार आफूले गर्ने गरेको कल्पनाले बताइन्। पार्टीको कामसँगै गाउँमा हुने अन्य सामाजिक काममा पनि भट्टराई नियमित पुग्ने गर्छन्। आफू सरहका युवाहरु देशमा

काम पाइएन भन्दै वैदेशिक रोजगारीमा होमिएका बेला इच्छा शक्ति भए स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश भट्टराईले दिएका छन्। कृषि विकास बैंकमार्फत इजरायलमा पुगेर एक महीनासम्म त्यहाँको व्यावसायिक कृषि र पशुपालनको अवलोकन गर्ने मौका पाएका उनले त्यसपछि गाईपालनमा थप व्यावसायिक ज्ञान हासिल भएको बताए।

इजरायलबाट फर्केपछि घरमै दूध डेरीे स्थापना गर्दै आएका उनले डेरीलाई भने निरन्तरता दिन सकेनन्। “गाईपालन र डेरी सञ्चालन दुवै काम एकसाथ गर्न नसकिने रहेछ भन्ने सोचेर पछिल्लो समय डेरी बन्द गरेको छु,” भटृराईले थपे। पार्टीका उच्च तहका नेताहरुले गाईफार्म अवलोकन गर्दै हौसला प्रदान गर्नाका साथै कृषि मन्त्रालयका सचिव, विभागीय प्रमुख र अन्य विज्ञहरुले समेत बेला–बेलामा उनको फार्म अवलोकन गर्ने गरेका छन्।     

यसैगरी भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्ल पनि राजनीतिसँगै पशुपालनमा आबद्ध छन्। उनले बाख्रापालनबाट वार्षिक ५० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। विसं २०६९ मा सोही वडाको नावरुङमा प्रकाश एग्रीकल्चर प्रालि फार्म दर्ता गरी २० वटा बाख्राबाट व्यवसाय शुरु गरेका उनले कृषकसँगै वडाध्यक्षको भूमिका निर्वाह गरिरहेका छन्।   

मल्लको फर्ममा अमेरिकन सानन जातका र अष्ट्रेलियन बोयर जातका एक सय बाख्रा र पचासभन्दा बढी पाठापाठी छन्। ती बाख्रालाई खुवाउन एक सय पचाँस रोपनी जमीनमा घाँसखेती गरिएको छ। घर नजिकैको जग्गामा बडहरे, डालेघास, बकाइनो, पाखुरी, निवारो,राईखनियो, नेपिएर, किम्बुलगायत घाँस लगाइएको छ। बाख्राका लागि चार वटा छुट्टाछुट्टै खोरको व्यवस्था गरिएको छ।

फार्ममा हालसम्म तीन करोड रुपैयाँ लगानी भएको मल्लले जानकारी दिए। उनले भने, “वैदेशिक रोजगारीको राम्रो जागिर छाडेर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ बाख्रापालन शुरु गरेको थिए। पछि राजनीतिलाई पनि अगाडि बढाए र वडाध्यक्षमा निर्वाचित भए।”

मल्लले घाँस काट्न फर्ममा पाँच जनालाई रोजगारी दिएका छन्। उनको फार्ममा बाख्रासँगै मौरी, कुखुरा र दुई अस्ट्र्चि छन्। साथै फार्म अवलोकन गर्न आउनेहरुलाई बस्नको लागि होमस्टेको व्यवस्था पनि मिलाइएको छ। बाख्रापालनबाट पहिचान बनाएका उनले विभिन्न पुरस्कार पाइसकेका छन्।

युवा स्वरोजगार पुरस्कार, गट मिसन पुरस्कार र २०७४ मा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट उनी पुरस्कृत भइसकेका छन्।रासस  
 

प्रकाशित: ११ भाद्र २०७६ १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App