१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अध्यक्षमा उमेशलाल र जीवनरामको दाबेदारी

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्ष पदका लागि यसपटक उमेशलाल श्रेष्ठ र जीवनराम श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ।

आगामी भदौ २० गते हुने एनओसीको नयाँ नेतृत्वका लागि उमेशलाल र वर्तमान नेतृत्व जीवनरामबीच प्रतिस्पर्धा हुने भएको हो। यसअघि नै यी दुईबीच नै प्रतिस्पर्धा हुने सार्वजनिक भए पनि मंगलबार दुवैले सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी भवनमा रहेको निर्वाचन समितिसमक्ष मनोनयन दर्ता गराएपछि उमेशलाल र जीवनरामबीचको प्रतिस्पर्धा दोहोरिने पक्का भएको छ।

उमेशलाल नेपाली हक्की संघका र जीवनराम स्की संघका अध्यक्ष हुन्।  चार वर्षअघिको निर्वाचनमा उमेशलाल आठ मतले पराजित भएका थिए। यस पटक भने आफूले जित्ने दाबी गर्दै उमेशलालले नेपाल ओलम्पिक कमिटीमा आर्थिक पारदर्शिताका लागि पुनः निर्वाचनमा होमिएको बताए।

‘खेल क्षेत्रमा आर्थिक पारदर्शिता कम छ। त्यो आरोप एनओसीमाथि पनि लाग्दै आएको छ। एनओसीमा हरेक समय आर्थिक पारदर्शितासम्बन्धी प्रश्न उठ्ने गरेका छन्,’ उमेशलालले भने, ‘त्यहीं आर्थिक पक्ष पारदर्शी बनाउनका लागि मैले जोड दिएको हुँ।  नेतृत्वमा आएको खण्डमा खेलकर्मीमाझ आर्थिक पक्ष पारदर्शी बनाउनेछु।’

जीवनरामले नेपालमा ओलम्पिकको अभियानलाई थप उचाइमा पु-याउनका लागि आफ्नो उम्मेदवारी दोहोरिएको बताए। ‘मेरा केही योजनाहरू अझै पूरा भएका छैनन्,’ जीवनरामले भने,‘त्यसलाई पूरा गर्न दोहोरिएको छु। खेलकुद र ओलम्पिकलाई एकताबद्ध तरिकाबाट अगाडि बढाउने मेरो प्रमुख जिम्मेवारी छन्।’

जीवनराम श्रेष्ठ, उमेशलाल श्रेष्ठ

त्यस्तै उनले एनओसी दुई÷चार जना व्यक्तिबाट चल्ने संस्था नभएको भन्दै अब निर्वाचित हुने १९ सदस्यले नै काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन्। १९ जनाको कार्यसमितिमा कुल २७ प्रतिनिधिमध्ये २६ जनाले एनओसीका विभिन्न पदका लागि उम्मेद्वारी दिएका छन्। वर्तमान कार्यसमिति १७ जनाको भए पनि गत महिनाको विशेष साधारणसभाले पदाधिकारी थप गर्दै कार्यसमितिको सदस्य बढाएको थियो।

पाँच उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेद्वारी परेको छ। वर्तमान उपमहासचिव राजीव श्रेष्ठ, ह्यान्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङ, सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ, फेन्सिङका अध्यक्ष सुनीलकुमार श्रेष्ठ, टेनिसकी अध्यक्ष ज्योति राणा, टेबल टेनिसका अध्यक्ष चतुरानन्दराज वैद्य, पौडीका अध्यक्ष अशोकरत्न वज्राचार्य र तदर्थको अस्तित्वमा रहेको कुस्तीबाट समिम मियाँ अन्सारीले उपाध्यक्षमा उम्मेद्वारी दिएका हुन्। टेबल टेनिस पनि दुई संघको अस्तित्वमा छ।

पीताम्बर तिम्सिनाको संयोजकत्वमा रहेका संघ विवाद समाधान समितिले राखेपमा दर्ता भएको नारायणदेव राणा नेतृत्वको कुस्ती संघलाई विघटन गर्दै तदर्थ कमिटी गठन गरेको थियो। एनओसीको एक महासचिव पदका लागि दुई उम्मेद्वारी परेको छ। करातेबाट पुरेन्द्रविक्रम लाखे र ट्रायथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले महासचिवमा दाबेदारी प्रस्तुत गरेका छन्। लाखेले पनि तदर्थको अस्तित्वमा रहेको करातेबाट प्रतिनिधित्व गरेका हुन्।

एनओसीको उपमहासचिवमा भने एक मात्र उम्मेद्वारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पीताम्बर तिम्सिनाले दिएका छन्। करिब दुई महिनाअगाडि राखेपले विघटन गर्ने संकेत देखिएपछि एथ्लेटिक्स संघका वर्तमान अध्यक्ष राजीवविक्रम शाहले राखेप उपाध्यक्ष तिम्सिनालाई ओलम्पिकको प्रतिनिधि पठाइदिने वचन दिएका थिए।

जसको एथ्लेटिक्सको निर्वाचन भएपछि एथलेटिक्स संघले तिम्सिनालाई ओलम्पिकमा प्रतिनिधिका रूपमा पठाएको थियो। बुधबारसम्म दाबी विरोध नपरेको खण्डमा तिम्सिना सहमहासचिवमा निर्विरोध चयन हुनेछन्। एनओसीको कोषाध्यक्षका लागि एक मात्र उम्मेदवारी वर्तमान कोषाध्यक्ष रतनकुमार टण्डनले दिएका छन्। दाबीविरोध नआएमा उनी पनि निर्विरोध चयन हुनेछन्। 

यता, तीन सचिवका लागि भने चार उम्मेद्वारी परेका छन्। राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव एवं उसुका अध्यक्ष केशवकुमार विष्ट, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, जुडोका अध्यक्ष दीपकहर्ष वज्राचार्य र नेकपाका उपाध्यक्ष वामदेव गौतमकी पत्नीसमेत रहेकी कबड्डी संघकी अध्यक्ष तुलसा थापाले सचिवका लागि उम्मेद्वारी दिएका छन्।

यद्यपि, सात सदस्यका लागि आठ जनाको उम्मेद्वारी परेको छ। फुटबलका दीर्घबहादुर केसी, आर्चरीका रमेशप्रसाद शिवाकोटी, बास्केटबलका होम दोङ, गल्फका टासी घले, साइक्लिङका गोपालसुन्दर कक्षपति, बक्सिङका राम अवाले, भलिबलका मनोरञ्जनरमण शर्मा र तेक्वान्दोका प्रकाशमशेर राणाको उम्मेदवारी परेको छ। एनओसीका पूर्वअध्यक्ष ध्रुबवहादुर प्रधानले मात्र कुनै पनि पदमा उम्मेद्वारी दिएनन्।  कुल २७ संघका १/१ प्रतिनिधिले मतदान गर्न पाउनेछन्।

१९ जनाको कार्यसमितिमा कुल २७ प्रतिनिधिमध्ये २६ जनाले एनओसीका विभिन्न पदका लागि उम्मेद्वारी दिएका छन्।

प्रकाशित: ११ भाद्र २०७६ ०४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App