वन, बाँदर र बिहानी

बुधबार, ११ भदौ २०७६, ०९ : ५० हरिकृष्ण उप्रेती

आराध्यदेव पशुपतिनाथको पवित्र भूमि पाशुपत क्षेत्रस्थित  श्लेष्मान्तक वन, हिन्दूहरूको मनै हर्ने अद्वितीय स्थलहरूमध्ये एक हो। यहाँको मृगस्थली क्षेत्रमा जालीयुक्त बार–बन्धनको सीमित घेराभित्र नै भए पनि दुईवटा कोष क्रमशः पशुपति क्षेत्र विकास कोष र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त पहलमा केही वर्षअघि मृगहरू पनि छाडिएका छन्। जसले यस क्षेत्रको सौन्दर्यमा निखार ल्याउन मद्दत गरेका छन्। त्यसैगरी रातो बाँदर यस क्षेत्रका रैथाने जन्तुकै रूपमा विचरण गरेको देखिन्छ। त्यसो त नेपालका प्रायः सबै मठमन्दिरवरपर बाँदरको बाक्लो उपस्थिति हुने गरेको छ। तिनले कैयन् भक्तजन विशेषगरी महिलाका पूजा सामग्री खोसेका थुप्रै दृश्य जोकोहीले देखेकै छन्।

विश्वका समस्त हिन्दूका लागि पशुपति मन्दिर परिसर, किरातेश्वर महादेव क्षेत्र, मृगस्थली, गुह्येश्वरी र विश्वरूपा मन्दिरवरपर फैलिएको श्लेष्मान्तक वन युगौंदेखि आस्थाको केन्द्र बनेका छन्। विश्व सम्पदा सूचीमा समेत परेको यो क्षेत्रलाई सम्पदा अभियन्ताहरूले बेलाबखत यसमा आउन सक्ने विचलनप्रति सरकार वा सम्बन्धित निकायलाई सचेत गर्न/गराउन सर्वोच्च अदालतसम्मको सहारा लिने गरेको देखिन्छ।

सरकारले घोषणा गरेको वृक्षरोपण वर्ष’लाई सघाउन केही दिन अघि मात्रै विश्वरूपा मन्दिरवरपरका क्षेत्रमा विभिन्न प्रजातिका १० हजार बिरुवा रोपिएको बताइए पनि ती सर्ने र मर्ने अवस्थामा पनि देखिएका छन्, यतिबेला। वरपरका कैयन् सज्जन दिनचर्या ताजगी, फूर्तिलो र चुस्त–दुरुस्त राख्न हरेक बिहान सोही क्षेत्र भएर हिँडडुल गर्ने गर्छन्। सार्वजनिक बिदाका दिनमा त हिँड्नेहरूको घुँइचो नै हुन्छ।

एक बिहान सायद सम्पदा अभियन्ता समूहका सदस्यहरू नै हुन् कि !  भर्खरै रोपिएका बिरुवाहरूको फोटो मोबाइलले खिच्दै गरेको यो पंक्तिकारले पनि बिहानी हिँडाइकै क्रममा देख्यो। उनीहरूले सरेका भन्दा मरेका बिरुवाका तस्बिर लिँदै थिए। रोपिएका बिरुवा तत्काल सर्नुको सट्टा बर्खे झरीका कारण खाडलमा जमेको पानी निकासको उपयुक्त प्रबन्ध नहुँदा मरेको जस्तो देखिन्थे। लाग्थ्यो– उनीहरू त्यस्तै बिरुवा खोजी गर्दै निरीक्षणमा हिँडिरहेका थिए र वृक्षरोपण गरेका तर हेरचाहमा सरिक नभएकालाई सचेत बनाई पुनः वक्षरोपण गर्न÷गराउन जुटिरहेका थिए।

अर्काथरी सज्जनहरू वनमा आआफ्नै हिसाबले विचरण गर्ने, डार्बिनको सिद्धान्तअनुसार प्रकृतिको छनोटमा परेका र अनुकूल हुने गरी बाँच्न सक्षम (न्याचुरल सेलेक्सन वा सर्भाइबल अफ द फिटेस्ट) जीवजन्तुमध्ये बाँदर प्रजातिको रक्षा गर्ने म मात्रै हुँ। मबिना यो बाँच्न सक्दैन भने जसरी आऽऽऽऽ आऽऽऽऽ आऽऽऽऽ गरेर आफूतर्फ बोलाउँदै सायद मिति गुज्रेका अपर्याप्त मात्रामा बिस्कुट, पिठोका डल्ला, हिजोअस्ति पाकेका खाद्य सामग्रीका रहलपहल वा कुहिएका केरा, हरियो मकैलगायत वस्तुहरू  बिहानीपख रमाएर मानिस हिँडिरहेकै छेउछाउ बाँड्ने वा तह लगाउने गरेको देखिन्छ। यसले दानी ती सज्जनहरूको आत्मा अनि एकाबिहानै खानेकुरा खोज्न निस्केका बाँदरका सीमित झुन्डलाई शान्ति त मिल्छ होला तर त्यसले अन्य पैदल यात्रीलाई सास्ती दिएको भेउ ती सज्जन मित्रहरूले पाएजस्तो लाग्दैन।

अन्यथा अरू हिँडिरहेकै वरपर त्यस्ता खाद्य सामग्री तह लगाउने प्रयासले दुई÷तीन पक्षलाई एकैचोटि नकारात्मक असर पु¥याइरहेको छ। पहिलो त दानी सज्जनहरूले त्यस क्षेत्रमा रहेका सबै बाँदरको भोक–प्यास मेटाउन सकेका छैनन् भन्ने कुरा खाद्य पदार्थ  बाँडिरहेकै दृश्यले देखाउँछ। नभए बलियो बाँदर खासगरी  भालेहरूले सज्जनले बाँडेका खानेकुरा एक्लै खाने दुस्साहस गर्दै गर्दा सीमित रूपमा प्राप्त खाना खोस्ने क्रममा उनीहरूकै सदस्यबीच झगडाले उग्र रूप लिने गरेको र बलिया बाँदरको आक्रमणबाट कमजोर बाँदरको ढाडैभरि नंग्राले कोतरेर घाउ भएको र हातखुट्टा भाँचिएको कटु सत्य त्यसमा थोरै मात्र चासो राख्ने जोकोहीले सहजै देख्न सक्छ।

दोस्रो र अझ कहाली लाग्दो अवस्था त त्यतिखेर देखिन्छ जतिखेर झगडिया बाँदरको हुलमा दानी बनेका पात्र आफूले ल्याएका खानेकुरा बाँडेर हिँडेपछि उनकै पछिपछि हिँडिरहेका तर खानेकुरा नबाँड्ने अर्का सरल पैदल यात्री अनायासै बिनाकसुर त्यो परिवेशको साक्षी बन्दै उक्त द्वन्द्वमा एकाएक फस्न पुग्छन्। अपर्याप्त खानेकुराको झोंकमा आक्रामक बनेका तिनै बाँदरका हुलले ती पैदल यात्रीलाई झम्टन आउँदा जोगाउन एकाधपटक पंक्तिकारले बोकेको हाते छडीले धपाउनुपरेको क्षण पनि बिर्सन नसकिने खालेका छन्।

एउटाले ‘धर्म’ कमाएको महसुस गरिरहँदा अर्कोले पीडा भोग्न बाध्य हुने र नजाने रेबिजको सुई लगाउन पनि विवश हुनुपर्ने अवस्थाबाट बच्ने र बचाउने उपाय खोजी गर्न अब ढिला गर्नु हुँदैन। यस क्षेत्रको व्यवस्थापनका लागि राज्य मातहतका अधिकारप्राप्त नियामक निकाय(पशुपति क्षेत्र विकास कोष)ले यसको पहल गर्नैपर्छ। किनभने जंगली जनावरबाटै हो– समाजमा रेबिजजस्ता प्राणघातक रोग फैलने। यसको हेक्का सायद सम्बन्धित सबैमा छ होला ! 

अर्को एउटा दृष्टान्तले पनि यसको पुष्टि गर्न थप बल पु¥याउँछ होला। अर्काथरी सज्जनहरूले घरपालुवा कुकुर डुलाउन पनि सोही क्षेत्र उपयोग गर्ने गरेको भेटिन्छ। जंगली र झगडालु जनावरको सामीप्यमा वा संसर्गमा कुकुरजस्ता घरपालुवा जनावर पुग्दा तिनमा रेबिजजस्तो गम्भीर रोग संक्रमण हुने र तीमार्फत त्यसको असर समुदायसम्म फैलिन सक्ने खतरातर्फ कोही पनि सचेत नभएको देख्दा हाम्रो हेलचक्र्याइँपनको पुष्टि गर्छ।

जनावरलाई सडेगलेका वा विकारयुक्त खानेकुरा बाँडेर धर्म कमाउन लालायित धर्मभिरुहरूले एकातर्फ डार्बिनको सिद्धान्तलाई चुनौती दिइरहेका छन् भने अर्कातर्फ उनीहरू वन्यजन्तुलाई घरेलु खानाको लत लगाएर त्यसवरपरका बस्तीमा बाँदरको आउजाउ र आक्रमणलाई नियमित गराउने र रोग फैलाउने अपराधमा सरिक भएका छन् भन्न करै लाग्छ। तिनले बाँडेका खानेकुराले सबै बाँदरको पेट नभरिने मात्र होइन, कन्दमूल खाएर आफ्नो ज्यान तन्दुरुस्त राख्ने र प्राकृतिक तवरले बाँच्न पाउने वन्यजन्तु (बाँदर) को अधिकार हनन गर्दै घरेलु खानेकुराबाट फैलिन सक्ने रोगको संक्रमण र जोखिममा पार्ने काम गरिरहेका छन् र त त्यस क्षेत्रमा देखिने बाँदरहरू सम्भवतः रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएर होला, रौं झरेको, ढाड खुइलिएको, विभिन्न भागमा खटिरा आएको र खाना खोसाखोस गर्न हुने आपसी झगडाका कारण हातखुट्टा भाँच्चिएको अवस्थामा देखिन्छन्। तर तिनको उपचारमा खटेको कोही भेटिँदैन ! यस्तो देख्दा लाग्छ– जो जसले खानेकुरा बाँडेर बाँदर बचाउन र धर्म कमाउन खोजेका छन् तिनले बाँदरको अस्तित्व नै संकटमा पार्ने कर्म गरिरहेका छन् भन्दा  अतिशयोक्ति हुने छैन।

केही वर्षअगाडि अन्तर्राष्ट्रिय स्तरमा हुने र भइरहेका अध्ययन÷अनुसन्धानमा सहयोग पु¥याउने नाममा नेपालले बाँदर निकासी गरेर वैदेशिक मुद्रा आर्जन गर्न खोजेको भन्दै विरोध गर्ने वन्यजन्तु अधिकारकर्मीको पनि यसतर्फ ध्यानाकर्षण हुन जरुरी छ। यसो हुन र गर्न सके बिहानी हिँडाइमा सामेल हुने मानिस र कुकुरलगायत घरपालुवा जनावरलाई बाँदरबाट हुन सक्ने आक्रमणबाट बच्न÷बचाउन र ‘मर्निङ वाक’ आनन्ददायक बनाउन सहयोग पुग्ने मात्र नभई बाँदरलाई प्राकृतिक वातावरणमै फर्काउन पनि मद्दत पुग्नेछ। साथै खानाका लागि आपसी झगडाबाट हुने क्षतिबाट समेत उनीहरूलाई जोगाउन सकिन्छ। यसै पनि दयालु मित्रहरूले सबैलाई पेटभर ख्वाउन सकेका छैनन्।

खानेकुरा बाँड्नै पर्ने भए जंगल बीचतिर अर्थात् चलनचल्तीको बाटोभन्दा कम्तीमा ५ सय मिटरभित्र बाँड्ने गर्नु उपयुक्त हुन्छ। यो प्रबन्ध तालुक निकायले मिलाउन सक्नुपर्छ। अन्यथा पशुपति विकास कोषले निर्माण गरिरहेको सम्पदा क्षेत्रको पैदलमार्ग (हेरिटेज ट्रेल) र योगाभ्यास स्थल अपेक्षित उपयोगी हुन सक्दैनन् कि ?








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad