१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पुँजी बजारमा सुधार, कारोबार रकम खुम्चियो

स्राेत :नेपाल स्टक एक्सचेन्ज।

करुण ढकाल
काठमाडौं – लामो समयसम्म निरन्तर ओरालो लागेको पुँजीबजारमा मंगलबार भने सुधार देखिएको छ। यस दिन नेप्से ४.८७ बिन्दुले बढेर १२०८ बिन्दुमा उक्लेको छ। अघिल्लो दिनको तुलनामा नेप्से ०.४१ प्रतिशतले उकालो लागेको हो। यसैगरी ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.०३ बिन्दुले बढेर २६३.३९ पुगेको छ।

नेप्सेमा सुधार देखिए पनि कारोबार रकमले भने साथ दिन सकेको छैन। अघिल्लो दिनको तुलनामा कारोबार रकम ३५.७ प्रतिशतले खुम्चिएको छ। सोमबार ३८ करोड पाँच लाख ९६ हजार पाँच सय ७१ रुपैयाँको सेयर किनबेच भएकोमा मंगलबार कारोबार रकम २४ करोड ४६ लाख ६८ हजार दुई सय नौ रुपैयाँमा सीमित भएको छ। कारोबार रकमले साथ नदिँदा नेप्सेको वृद्धि टिकाउ हुनेमा लगानीकर्ता दुक्क हुन सकेका छैनन्।

यस दिन कारोबार भएका ११ वटा समूहमध्ये आठवटाको सूचक उकालो लागेको छ। सबैभन्दा बढी वित्त समूहको सूचक उकालो लागेको छ। यो समूहको सूचक ०.८९ प्रतिशतले बढेर ५८४.१५ बिन्दुमा पुगेको छ। अंगगत हिसाबले हेर्दा जीवन बिमा समूह सबैभन्दा बढी १५.३ बिन्दुले बढेको छ। यसैगरी उत्पादनमूलक समूह ११.३६, लघुवित्त समूह ९.९५, जलविद्युत् समूह ८.०५, वित्त समूह ५.१६, बैंकिङ ५.२, विकास बैंक ४.५४ र अन्य समूह १.३९ बिन्दुले उकालो लागेका छन्।

नेप्सेमा सुधार देखिए पनि कारोबार रकमले साथ दिन सकेको छैन। कारोबार रकम सोमबारको तुलनामा ३५.७ प्रतिशतले खुम्चिएको छ।

बढ्दो बजारमा पनि यस दिन होटल्स समूह ८.९४ बिन्दुले र निर्जीवन बिमा समूह १२.८८ बिन्दुले ओरालो लागेका छन् । म्युचुअल फन्ड समूहको सूचक भने स्थिर रह्यो।

कारोबार रकममा एनआइसी एसिया अगाडि
कारोबार रकमका आधारमा मंगलबार एनआईसी एसिया अग्र स्थानमा देखिएको छ। यस बैंकको दुई करोड ३६ लाख २८ हजार एक रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकमका आधारमा दोस्रोदेखि पाँचौंसम्म क्रमशः नेपाल बैंक, प्रभु बैंक, महालक्ष्मी विकास बैंक र सिटिजन्स बैंक रहेका छन्। नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल लाइफ इन्सुरेन्स, कुमारी बैंक, कृषि विकास बैंक र मेगा बैंक पनि उच्च कारोबार हुने १० कम्पनीभित्र परेका छन्। कारोबार भएको सेयर संख्याका आधारमा पनि एनआइसी एसिया बैंक नै अग्रस्थानमा छ। यस बैंकको ५२ हजार सात सय एक कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबार संख्याका आधारमा भने सान्जेन जलविद्युत् कम्पनी अगाडि छ। यस कम्पनीको पाँच सय ८५ वटा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
यस दिन दुई लघुवित्त कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। सबैको लघुवित्तको सेयर मूल्य ९.९४ प्रतिशत र आँधीखोला लघुवित्तको सेयर मूल्य ९.८९ प्रतिशतले वृद्धि हुँदा सर्किट ब्रेक लागेको हो। यी दुवै कम्पनी केही दिनअघिमात्रै सूचीकृत भई बजारमा कारोबार खुलेको हो। यस दिन प्रोग्रेसिभ फाइनान्सको मूल्य पनि आठ प्रतितशभन्दा बढीले उकालो लागेको छ। यसैगरी सिन्धु विकास बैंक, समता माइक्रोफाइनान्स र दिव्येश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि पाँच प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

बढ्दो बजारमा पनि यस दिन सेन्ट्रल फाइनान्स कम्पनीका सेयरधनीले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीको मूल्यमा झन्डै सात प्रतिशतले गिरावट आएको छ। यसैगरी अरुण काबेली पावर, एक्सल डेभलप्मेन्ट बैंक, युनियन हाइड्रोपावर र सिटिजन्स म्युचुअल फन्ड १ को सेयर मूल्य पनि तीन प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

१०३ कम्पनीको मूल्य बढ्दा ३८ को घट्यो
मंगलबार एक सय ६७ कम्पनीको सेयर कारोबार भएकोमा एक सय तीन कम्पनीको मूल्य बढेको छ भने ३८ वटाको घटेको छ। २६ वटा कम्पनीको क्लोजिङ मूल्यमा भने कुनै परिवर्तन आएन। यस दिनको एडी रेसियो (मूल्य बढेका कम्पनी र घटेका कम्पनीको अनुपात) २.७  छ। यसले बजार बियरिस अवस्थामा रहेको संकेत गर्छ। यस दिन उल्टो हथौडा आकारको हरियो महिनबत्ती बनेको छ। यसले बजार उकालो लाग्न सक्ने संकेत गर्छ तर यो पूर्ण निश्चित भने हुँदैन। यो महिनबत्तीले बजारमा विक्रेताको तुलनामा क्रेता सक्रिय बनेको संकेत पनि गर्छ।

प्रकाशित: ११ भाद्र २०७६ ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App