१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'भिडियो कन्फरेन्स बैठक जग हसाउने काम'

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरेर भिडियो कन्फरेन्सबाट बैठक सञ्चालन गर्ने निर्णयप्रति आपत्ति जनाएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री देशबाहिर रहेका बेला भिडियो कन्फरेसनबाट मनित्रपरिषद् बैठक गर्ने निर्णय अनुचित र लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको दाबी गरेका हुन्।

प्रधानमन्त्री विदेशमा रहेको भन्दै एकातिर कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्रीलाई दिएको पत्र संसद्मा सुनाएको र अर्कोतिर प्रधानमन्त्री केपी ओलीले नै बैठक सञ्चालन गरेकोमा खाँणले आपत्ती जनाएका हुन्। प्रधानमन्त्री ओली स्वास्थ्यउपचारमा जानुपहिला भदौ ४ गते संशोधन गरिएको मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि तत्काल संशोधन गर्न माग गर्दै खाँणले भने, ‘कार्यवाहक प्रधानमन्त्री पनि तोक्ने अनि विदेशमा रहेका प्रधानमन्त्रीले नै बैठक सञ्चालन गर्ने, यस्तो गम्भीर गल्ती तत्काल सच्याइयोस्।’

‘प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष र प्रधानन्यायाधीशले भिडियो कन्फरेन्समार्फत बैठक चलाए के हुन्छ ?’

प्रधानमन्त्रीले भिडियो कन्फरेन्स प्रविधिको दुरुपयोग गरेको आरोप लगाउँदै खाँणले प्रश्न गरे, ‘प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष र प्रधानन्यायाधीशले भिडियो कन्फरेन्समार्फत बैठक चलाए के हुन्छ ?’

खाँडले भिडियो कन्फरेन्सलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताउँदै सरकारले जग हँसाउने काम गरेको आरोप लगाए। ‘परम्परा बिग्रिन्छ, उच्च प्रविधिको सदुपयोग होइन, दुरुपयोग हुन्छ, कृपा गरेर मन्त्रिपरिषद्को बैठक हुँदैन। विधिको शासनका लागि कांग्रेस बोलेको हो’, उनले भने, ‘प्रधानमन्त्रीले विदेशबाटै भिडियो कन्फरेन्सबाट क्याबिनेट बैठक सञ्चालन गर्न मिल्ने हो भने सभामुख र राष्ट्रियसभा अध्यक्षले कार्यविधि र नियमावली बदलेर अब बैठक सञ्चालन गरे भइहाल्यो नि।’

डाक्टर र इन्जिनियर, व्यवसायीले भिडियो कन्फरेन्समार्फत छलफल गर्ने गरेको सुनाउँदै उनले भने, ‘मुलुकको अत्यन्त संवेदनशील मन्त्रिपरिषद्को बैठक भिडियोमार्फत गर्नु आपत्तिजनक विषय हो। यसले सूचना चुहाउने खतरा छ। गोपनीयताको सपथ खाने र अहिले गोपनीयता चुहिने गरी भिडियो कन्फरेन्स मिल्दैन।’

त्यस्तै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्रिपरिषद्को बैठक विदेशबाट बसाउने परिपाटीले गलत नजिर विकास भएको आरोप लगाए। ‘कार्यसम्पादन नियमावली संशोधन गरेर आज कार्यपालिकाको बैठक विदेशबाट चलाइएको नजिरलाई आधार मानेर भोलि सभामुखले संसद् र प्रधानन्यायाधीशले अदालत विदेशबाटै चलाउन कर्म गरे देशलाई त्यो पाच्य होला ? शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘जनताले दिएको म्यान्डेडबमोजिम पूरा अवधि सरकार चलाउनुहोस् तर विदेशबाट मन्त्रिपरिषद्को बैठक सञ्चालन गर्न मिल्ने गलत परम्परा नबसाउनुहोस्।’

स्वास्थ्य उपचारका लागि भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीले ४ गते मन्त्रिपरिषद् बैठक राखेर बैठक सञ्चालन कार्यविधि संशोधन गराउँदै विदेशबाट पनि बैठक गर्नसक्ने प्रावधान राखेका थिए। सोही अनुसार ओलीले सोमबार मन्त्रिपरिषद् बैठक राखेका थिए।

प्रकाशित: ११ भाद्र २०७६ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App