१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

देख्दा पनि राम्रो, स्वाद पनि मिठो

स्याउ टिप्दै जुम्लाका किसान

जुम्ला - स्याउले राम्रो रङ लिएको छ। बोटमै स्याउ पाकेर बगैंचा राताम्य छ। पाकेको राम्रो स्याउ टिपेर बजारसम्म लैजान सके मूल्य पनि राम्रो पाइन्छ, जुम्ली स्याउको गुणस्तर र पहिचान पनि फैलिन्छ। जुम्ला चन्दननाथ–३ का स्याउ किसान रामकृष्ण बुढ्थापाले भन्े, ‘परिपक्व स्याउ बजारसम्म पु¥याउँदा किसान– व्यापारी कसैले धोका खानुपर्दैन।’

गत वर्ष जिल्ला समन्वय समितिमा बसेको स्थानीय सरकारसहितको बैठकले भदौ १० देखि मात्र स्याउ टिप्न पाउने निर्णय गरेको थियो। जुम्लाका अधिकत्तर किसानले सोही निर्णयलाई मानेर स्याउ टिप्न थालेका छन्। ‘यो समय व्यावसायिक स्याउ किसानको पक्षमा छ। म पनि स्याउ टिप्ने तयारीमा छु। बगैंचामै आएर लैजाने व्यापारी खोज्दैछु। स्याउले कलर दिइसकेको छ। राताम्मे छ बगैंचा,’ बुढ्थापाले भने, ‘जुम्ली स्याउ हेर्नमात्र सुन्दर होइन्, स्वादिष्ट र स्वस्थकर पनि छ भन्ने राम्रो सन्देश फैलँदै गएको छ। यो जुम्ली स्याउका लागि निकै सकारात्मक उपलब्धि हो।’

बुढ्थापाको बगैंचामा स्याउका तीन सय बोट छन्। दुई सय बोटमा फल लागेको छ। एक रुखबाट ४० केजीसम्म आउँछ। यो समय स्याउ टिप्न उपयुक्त छ। ‘रेड डेलिसियस’ जातको स्याउ पाकेर झर्न खोज्दैछ। ‘रोयल’ जातको स्याउ दुई सातापछि पाक्छ। पोहोर साल स्याउ कमै फलेकाले आफन्तलाई बाँड्दैै ठिक्क भो। २०२४ सालतिरबाट स्याउखेती थालेका बुढ्थापाले नपाकेका स्याउ बजार लैजाने परिपाटी अहिले अन्त्य भएको बताए। ‘स्याउ भरपर्दो आम्दानीको स्रोत बन्न सक्छ। राम्रो फल लिन उपयुक्त मलजल, रेखदेख र उपचारमा ध्यान दिनुपर्छ। मल रुखलाई हाल्नुपर्दैन भन्ने मानसिकता छ। यो सोच राम्रो होइन।’

तिला– ९ का कालीबहादुर थापा पनि स्याउ टिप्ने थाल्ने समय निर्धारण गरिएकाले खुसी लागेको बताउँछन्। उनी भन्छन्, ‘टिप्ने समय निर्धारण नगर्दाताका नपाकेकै अवस्थामा यहाँको स्याउ नेपालका ठूला सहरसम्म पुगिसकेको हुन्थ्यो। त्यो देख्दा पनि राम्रो हुन्थेन्, स्वाद पनि टर्रो हुन्थ्यो। उपभोक्ताले खासै रुचाउँदैनथे। तर गत वर्षदेखि पाकेको स्याउमात्र बजारमा लैजान स्याउ टिप्न थाल्ने समय तोकियो। यसले गर्दा पाकेको स्याउ बजारमा जान थाल्यो, जुम्ली स्याउको असली स्वाद उपभोक्ताले लिन पाए। बजारमा पाकेको स्याउ जान थालेपछि गुनासो पनि कम आउन थालेको छ।’

कृषि ज्ञान केन्द्रका प्रमुख बालकराम देवकोटा अहिले बगैंचामा जुम्ली स्याउ कति फलेको छ भन्ने यकिन तथ्यांक निकाल्न नसकेको बताउँछन्। असोज पहिलो साता स्थानीय तहका कृषि प्राविधिकले पठाएपछि यकिन तथ्यांक आउने उनले बताए। यस वर्ष ६ हजार १ सय मेट्रिक टन स्याउ फलेको अनुमान भने गरिएको छ। गत वर्ष ५ हजार ६ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो।

‘ढिलो स्याउ टिप्दा गुलियोपना बढ्छ। पूरै रङ चढ्छ। बजारमा लैजान परिपक्व हुन्छ। दाना ठूलो लाग्छ। हेर्दा आकर्षक देखिन्छ,’ प्रमुख देवकोटाले भने, ‘स्याउ टिप्नका लागि सामाजिक थिति विकसित हुँदै गइरहेको छ। स्याउ पाकेपछि टिप्नुपर्छ भन्ने भावना विकसित भएको छ। नपाकेको स्याउ बजार पठाउँदा राम्रो स्वाद पाइँदैन।’

यस पटक पनि जिल्ला समन्वय समितिले गत वर्ष गरेको निर्णयलाई सदर गर्दै भदौ १० बाट किसानले स्याउ टिप्न थालेका छन्। कसैले नपाकेको स्याउ टिपेर बजार पठाए रोक्न सडक आसपासका प्रहरीचौकीसँग समन्वय गरिएको छ। किसानलाई पनि केन्द्रले स्याउको गुणस्तरबारे सचेत गराउँदै आएको छ। जुम्ली स्याउ अर्गानिक उत्पादन हो। तर अर्गानिक प्रमाणीकरण हुन सकेको छैन।

व्यापारीले बगैंचामा पुगेर प्रतिकिलो ५० रुपैयाँमा खरिद गरिरहेका छन्। जुम्लाको एक नगरपालिकासहित ८ वटै स्थानीय तहका ६० वटै वडामा स्याउ फल्छ। जिल्लाको ३ हजार ४ सय ५० हेक्टर जमिनमा स्याउ खेती हुन्छ। जसमध्ये ९ सय हेक्टरको स्याउले फल दिन्छ। स्याउ बेचेरै यहाँका किसानले बर्सेनि १८ करोड रुपैयाँसम्म जिल्ला भित्र्याउँछन्। छोराछोरीको अध्ययन, ओषधोपचारलगायत जीविकोपार्जनमा स्याउले ठूलो साथ दिएको छ। हरेक स्थानीय तहले स्याउ खेतीलाई महत्वका साथ हेर्न थालेका छन्। ‘एक घर, एक स्याउ बगैंचा’ अनिवार्य हुनुपर्नेमा जोड दिइएको छ। जुम्ली स्याउले बिरुवा रोपेको तीन वर्ष भएपछि फल दिन्छ।

अहिले जुम्ला बजारका चोकचोकमा स्याउ बेच्न राखिएका छन्। बसपार्क र विमानस्थलमा पनि स्याउ किनबेच बढेको छ। जिल्लामा व्यवस्थित स्याउ भण्डारस्थल नहुँदा लामो समयसम्म सुरक्षित राख्न समस्या छ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा स्याउ खेतीका लागि जुम्ला महŒवपूर्ण भएकाले स्याउ पर्यटन क्षेत्र बनाउन बहस चलाउनुपर्ने बताउँछन्। उनले भदौ १० गतेदेखि स्याउ टिप्ने निर्णयलाई सामाजिक थितिकै रुपमा विकास गर्ने तयारी भइरहेको बताए। अहिले स्याउ किसान आफैंले पनि स्याउ बिक्रीका लागि व्यापारीको काम पनि गरिरहेका छन्। ‘यो ठिक भएन्। किसानले स्याउ उत्पादन गर्ने र व्यापारीले बजारसम्म लैजाने संस्कार विकास गर्नुपर्छ,’ उनले भने। उनका अनुसार यस पटक समय अनुकूल भएका कारण स्याउ पर्याप्त फलेको छ। सडकका कारण कहिलेकाहीं बाटोमै स्याउ रोकिएर समयमै बजारमा पु¥याउन समस्या भएको उनले बताए।

यो पटक जुम्लीले चिनियाँ र भारतीय स्याउलाई विस्थापित गर्ने अपेक्षा गरिएको छ। तर ग्रेडिङ, प्याकेजिङ र लेबलिङ गर्ने साधन नहुँदा समस्यका भएको किसान बताउँछन्। पछिल्लो समयमा प्रत्येक किसानको बगैंचामा कृषि प्राविधिक पुगेर आवश्यक परामर्श दिने गरेका छन्। जुम्ली स्याउको गुणस्तरमा कुनै शंका छैन तर उचित बजार नहुँदा समस्या छ। स्याउ टिपेर प्रत्येक घरमा भण्डारण गरिएको छ। सडक पुगेका ठाउँमा बगैंचामै पुगेर गाडीले ढुवानी गरिरहेका छन्। यहाँका किसानले स्याउ हवाईमार्गबाट ढुवानी गर्ने वातावरण नबन्दासम्म यसको प्रवद्र्धन नहुने बताउँछन्।

प्रकाशित: ११ भाद्र २०७६ ०३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App