१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चाडपर्व नजिकिँदै गर्दा अनुगमन तीव्र

धादिङबेसी बजार क्षेत्रमा अनुगमन गरिँदै। तस्बिर : नागरिक

धादिङ – चाडपर्व नजिकिएको छ। बजार भाउ अकासिएको छ। दैनिक उपभोग्य सामानले उपभोक्ताको ढाड सेकाइरहेको छ। खाद्यान्नमा मिसावट र उपभोक्ता ठगिएको गुनासो बारम्बार आइरहेका छन्। उपभोक्ताको गुनासो सुनुवाइका लागि जिल्ला प्रशासन कार्यालयले अनुगमनको कार्यलाई तीव्रता दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको संयोजकत्वमा सदरमुकाम धादिङबेसी र राजमार्ग क्षेत्रमा अनुगमन गरेको छ।

चाडपर्वमा विशेष गरेर महँगी ह्वात्तै बढ्ने गरेको छ। जसको सिकार आम उपभोक्ता नै हुने गरेका छन्। प्रत्येक वर्ष चाडपर्वमा व्यापारीले चौथी हान्ने गर्छन्। सडकदेखि सदनसम्म, खेतको आलीदेखि थालीसम्म, नुनदेखि सुनसम्म, अचारदेखि घिउसम्म, पानीदेखि तेलसम्म कुनै वस्तु तथा ठाउँ चोखो भेटिँदैन। प्रत्येक वर्ष उपभोक्ता ठगिने र लुटिने क्रम बढ्दै जाँदा पनि प्रभावकारी अनुगमन र कारबाही नहुँदा ठगीमा सुधार आउन सकेको छैन। मिसावट गर्ने, गुणस्तरहीन बेच्नेलाई जेल सजायसम्मको कानुनी व्यवस्था भए पनि व्यवहारमा लागू हुन नसक्दा यो देखाउने दाँत मात्र भएको छ।

चाडपर्वको मौका छोपेर बजारभाउ अकासिने र उपभोक्ता बढी मूल्य तिर्न बाध्य भएको जनगुनासोपछि अनुगमनलाई तीव्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए। ‘चाडपर्वमा अत्यधिक महँगी हुने र उपभोक्ता मारमा पर्ने भएकाले पनि यस समयमा विशेष जोड दिएर अनुगमन गरेका हौं,’ उनले भने, ‘धादिङबेसी र बजार क्षेत्रमा हामीले नियमित रुपमा अनुगमन गर्ने गरेका छौं।’ अनुगमनका क्रममा भेटिएका कमीकमजोरी सुधार गर्न व्यवसायीलाई सचेत समेत गराएका छौं।

प्रत्येक वर्ष चाडपर्वमा व्यापारीले चौथी हान्ने गर्छन्। सडकदेखि सदनसम्म, खेतको आलीदेखि थालीसम्म, नुनदेखि सुनसम्म, अचारदेखि घिउसम्म, पानीदेखि तेलसम्म कुनै वस्तु तथा ठाउँ चोखो भेटिँदैन। प्रत्येक वर्ष उपभोक्ता ठगिने र लुटिने क्रम बढ्दै जाँदा पनि प्रभावकारी अनुगमन र कारबाही नहुँदा ठगीमा सुधार आउन सकेको छैन।

उपभोग्य वस्तुको कृत्रिम अभाव, अतिशय आर्थिक मोह र खर्चिलो संस्कारको दबाब र प्रभाव, माफिया प्रवृत्ति आदि कारणले उपभोक्ता महँगीको मारमा परेका छन्। चाडपर्वको समयमा उपभोक्ताले दैनिक उपभोग्य सामान किन्दा कोही पनि नठगिऊन् भन्ने उद्देश्यले अनुगमनलाई तीव्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए। ‘चाडपर्वको समयमा व्यवसायीले उपभोक्ताको ढाड सेक्ने काम गरिरहेका छन्,’ उनले भने, ‘त्यसैले अनुगमन कार्य चाडपर्वको समयमा मात्र नभई जुनसुकै समयमा पनि निरन्तर रुपमा प्रशासनले गरिरहेको छ।’

जिल्ला प्रशासन धादिङ, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसहितको टोलीले धादिङबेसी बजारका विभिन्न पसलमा अनुगमन गरेका छन्। बजार क्षेत्रमा सञ्चालित मासु र तरकारी पसल, होटल, व्यवसाय तथा सवारी साधनमा समेत अनगुमन गरेका छन्। बजार क्षेत्रका १५ भन्दा बढी किराना पसल तथा होटलमा अनुगमन गरिएको छ।

अनुगमनका क्रममा कतिपयको व्यवसाय दर्ता नभएको र सरसफाइमा ध्यान नदिएको पाइएको छ। बजारका पसलमा मूल्यसूची नराखेको, म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थसमेत बेच्न राखेको पाइएको समितिले बताएको छ। बजारबाट म्याद नाघेका खाद्य सामग्री, तेल तथा बेकरी आइटम बरामद समेत गरिएको छ। चाडपर्व नजिकिँदै गर्दा प्रशासनले अनुगमनलाई तीव्रता दिने गरेको छ।

विगतमा पनि राजमार्ग र बजार क्षेत्रमा अनुगमनका क्रममा होटलमा मूल्यसूची नराखेको, सरसफाइमा ध्यान नदिएको तथा मनपरी मूल्य लिएको भेटिएको थियो। अनुगमनलाई निरन्तरता दिँदै दसैं–तिहार तथा मौसमी अनुगमन मात्र नभई सधैंभर यसलाई निरन्तरता दिने बताएका थिए। मासु पसल तथा होटलमा फोहोर तथा गुणस्तर कम भएको भन्दै यसलाई कडाइका साथ अनुगमन गरी व्यापारीलाई करको दायरामा ल्याउन निर्देशन पनि दिएका थिए। तर, उपलब्धि शून्य देखियो। यसपालि पनि उही क्रम देखिएको छ।

चाडपर्वको मौका छोपेर विशेष त पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लामा सञ्चालित होटलले खाना र खाजाको मूल्य बढी लिने गरेको गुनासो यात्रुले गर्दै आइरहेका छन्। बढी नै मूल्य तिरे पनि यात्रुले स्वच्छ, ताजा र गुणस्तरीय खाजा तथा खाना खान पाएका छैनन्।

प्रकाशित: ११ भाद्र २०७६ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App