१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आफैँलाई कुरुप सम्झने ‘रोग’

चिकित्सकहरुले पछिल्लो समय आफैँलाई कुरुप सम्झने रोगीहरुलाई बढी नै झेलिरहेका छन् । यस रोगलाई बडी डिसमर्फिक डिसअर्डर (बिडिडी) भनिन्छ । यस रोगबाट पीडित व्यक्तिलाई आफू कुरुप भएको महसुस गर्छन् । एउटा अनुमानअनुसार ५० मध्येमा एक जना व्यक्ति बिडिडीबाट पीडित पाइएको छ । सर्वसाधारणलाई यस रोगका बारेमा थाहा छैन नै केही चिकित्सक पनि यसबारे उति धेरै जानकार छैनन् ।

२० वर्षकी अलइना त्यस्तै रोगीमध्ये एक हुन् । उनी लन्डनमा उपचार गराइरहेकी छन् । उनले भनिन्, ‘मलाई अरुले हेरेको मन पर्दैन । मेरो अनुहारभरि दागैदाग भएजस्तो लाग्छ तर मेरी आमाले मेरो अनुहारमा दाग देख्नु हुन्न । मेरो नाक चेप्टो भएको र टेढो लाग्छ । मेरो आँखासमेत मलाई भित्रसम्म धँसेको जस्तो लाग्छ ।’

हेर्दाकी निकै सुन्दर छिन् अलाइना तर उनले आफ्नो सुन्दरताको महसुस गर्न सकिरहेकी छैनन् । आफू कुरुप भएको भ्रममा उनले घण्टौँसम्म मेकअप गर्ने गर्थिन् । अलाइना भन्छिन्, ‘अनुहारमा चार पाँच तहसम्म म कस्मेटिक प्रयोग गर्थें । आँखामा पनि मेकअप गर्थें । गहिरो मेकअप नगरी चित्तै बुझ्थेन । थोरै मेकअपले मलाई हुँदैनथ्यो ।’

१४ वर्षको उमेरसम्म अलाइना निकै खुसी थिइन् तर उमेर बढ्दै जाँदा उनी आफू कुरुप भएको महसुस गर्न थालिन् ।

‘त्यो बेला मैले ध्यान दिइनँ तर बिडिडीको लक्षण स्पष्ट रहेछ,’ उनले भनिन्, ‘विद्यालयमा हुँदा म सबै कुराप्रति सजग थिएँ । मलाई कसले हेरिरहेको छ, को हाँसिरहेको छ, कसले मलाई हेर्दै कुरा गरिरहेको छ भनेर सबै कुरा नियालेर हेर्थें । पछि बाथरुममा गएर ममा के देखेर उनीहरु हाँसे, कुरा गरे र नियालेर हेरे भन्ने खानतलासी गर्थें ।’

पछि त अलाइना विद्यालय जानै बन्द गरिन् । छोरीको विद्यालय जाने अनिच्छा भए पनि आमा स्कार्लेटले विद्यालयसम्म छाडिदिन्थिन् र बेलुकी उनलाई ल्याउँथिन् । पछि अलाइना एक्लै एक्लै बस्न थालिन् । आफ्नी प्यारी छोरीको यस्तो अवस्था देखेर उनकी आमालाई कम चित्त दुख्दैनथ्यो ।

स्कार्लेट भन्छिन्, ‘सुरुमा त तीन वर्षसम्म हामीले छोरीलाई के भयो भनेर थाहै पाएनौँ । एउटी पढ्नमा तेज र बोलक्कड केटी यसरी कुण्ठित भएको देख्दा साह्रै चित्त दुख्थ्यो । खाली ओछ्यानमा पल्टनेबाहेक केही काम गर्दिन थिई ।’

छोरी अलाइना आफू कुरुप भएको बताउँथिन् र आमा भने उनी सुन्दर भएको प्रतिक्रिया दिन्थिन् । हरेक बाउआमाले आफ्ना सन्तानलाई सुन्दर देख्छन् नै भन्ने अलाइनालाई लाग्थ्यो । पछि स्कार्लेटलाई लाग्यो, ‘जसले आफूलाई कुरुप देख्छ, उसलाई कसैले पनि सहयोग गर्न सक्तैन ।’ त्यसैले उनले छोरीको ध्यान सुन्दरता÷कुरुपताबाट विकेन्द्रित गर्न कैयौँ उपायहरु अपनाइन् तर त्यसले पनि दीर्घकालीन हित गर्न सकेन ।

पछि उनको यस रोगका बारेमा पत्ता लगाउन निकै समय लाग्यो । पाँच महिनाको लगातार मिहिनेत र उपचारपछि यतिबेला उनी रोगको चपेटाबाट बाहिर निस्कँदैछिन् ।

आफ्नो रुपप्रति अति सम्वेदनशील हुनु पनि खराब कुरा हो र यसले परिवारलाई नै तनावमा पारिदिन्छ । त्यस्तै आफ्नो सुन्दरताबारे बेफ्वाँक हुने र सफासुग्घर नरहने बानी पनि राम्रो होइन । आफ्नो शरीरको रेखदेख नगर्नु पनि शरीरको अपमान हो ।

लुसी वालिस, बिबिसी

प्रकाशित: ३० कार्तिक २०७३ ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App