१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाडी किन्ने रकम एम्बुलेन्स व्यवस्थापनमा

गाईघाट- उदयपुरको कटारी नगरपालिकाका उपप्रमुखले आफ्नो सेवासुविधाका लागि गाडी किन्ने रकम कटारी अस्पतालमा एम्बुलेन्स व्यवस्थापनका लागि खर्च गर्न प्रस्ताव गरेकीछिन्।     

नगरपालिकामा नयाँ गाडी नभएको र पुरानो गाडी पनि काम नलाग्ने भइसकेको अवस्थामा उपप्रमुख भीमकुमारी राउतका लागि नगरपालिकाले नयाँ गाडी किन्न ४० लाख रुपैयाँ विनियोजन गरेको थियो। सो रकम आफ्नो सुविधाका लागि गाडी नकिन्ने बरु कटारी अस्पतालमा एम्बुलेन्सको आवश्यकता रहेकोले जनताको सेवा गर्न एम्बुलेन्स किन्ने प्रस्ताव उपप्रमुख राउतले रोखेकी हुन्।     

उपप्रमुख राउत भन्छिन्,“ हामीलाई जनताले जनताको सेवक बन्न पठाएका हुन्,जनताको कर उठाएर गाडी किन्ने र चढ्ने आफूलाई रहर छैन र विनियोजित रकम बिरामीको सेवा गर्न एम्बुलेन्सको व्यवस्था गर्ने प्रस्ताव मैले गरेकी हुँ।”     

पुरानो गाडी बिग्रिएपछि एक वर्षदेखि आफू गाडीविहीन नै रहेको भएपनि आफूलाई जनताले नगरको विकास र जनताको सेवा गर्न निर्वाचनमा विजय गराएकाले आफू गाडी नचढ्ने बरु हिँडेर नै कार्यालय र अन्यत्र स्थानमा आवतजावत गर्ने धारणा उपप्रमुख राउतको रहेको छ।     

नगरपालिका बैठकले आफ्नो लागि गाडी किन्न ४० लाख रुपैयाँ व्यवस्था गरेकोमा १५ लाख रुपैयाँको कटारी अस्पतालमा आवश्यक पर्ने एम्बुलेन्स तत्काल किन्ने प्रस्ताव गरिएको हो। बाँकी रकम कटारी–११ को बेतिनीमा पर्यटन मन्त्रालयले निर्माण शुरु गरेर छाडेको अधुरो पर्यटन भवन निर्माण गर्न खर्च गर्ने आफूले प्रस्ताव नगरपालिकामा राखेको उपप्रमुख राउत बताउछिन्। उक्त प्रस्ताव नगरपालिकाबाट पारित भएको पनि उपप्रमुख राउतले बताइन्।    

कटारी अस्पताल विकास समितिका अध्यक्ष कृष्णराज दनुवारले उपप्रमुख राउतले आफ्नो सुविधाको गाडी किन्ने रकमले अस्पतालको लागि एम्बुलेन्स व्यवस्थापन गरिदिने प्रस्ताव गरेकाले अब एम्बुलेन्स खरीदको प्रक्रिया अगाडि बढाउने बताइन्। उदयपुरका आठ स्थानीय तहमध्ये धेरै नगरपालिका तथा गाउँपालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षका लागि यसअघिनै गाडी खरीद गरी प्रयोग गर्दै आइरहेका छन्।

कटारीका समाजसेवी मुकेश थापाले सबै जनप्रतिनिधिले रचनात्मक काम गर्न सकेमात्र देश बन्ने धारणा व्यक्त गररे।रासस   
 

प्रकाशित: १० भाद्र २०७६ ०६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App