१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बौद्धको तिलौरी र टुँडाल चोरी प्रकरण

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तूप। तस्बिर ःनागरिक

काठमाडौं - विश्व सम्पदामा सूचीकृत बौद्ध स्तूपको गरुडको टुँडाल हराएको तीन वर्ष हुँदा पनि यसबारेमा ठोस जानकारी प्राप्त हुन सकेको छैन। सक्कली टुँडाल हराएपछि हाल स्तूपामा नक्कली टुडाँल हालिएको छ। गत वैशाखमा बौद्धको अजिमा थानमा रहेको तिलौरी पनि हरायो। यसबारे पनि अहिलेसम्म के कसो हो भन्ने यकिन तथ्य खुल्न सकेको छैन।

बौद्धनाथ क्षेत्र विकास समितिका अनुसार उक्त अजिमा थानको पूजाआजा बौद्ध मेलम्ची घ्याङ गुठीको मातहतमा सञ्चालित छ। उक्त ठाउँमा नियमित पूजा भइरहने गर्दछ। बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चद्रमान लामाले मेलम्ची घ्याङ गुठीले संरक्षण गर्न नसक्दा पुरातात्विक तथा बहुमूल्य वस्तुहरु हराउँदै गएको बताए। ‘घ्याङ गुठीले अधिकार जमाएकाले हामीले केही गरेका छैनौं,’ उनले भने, ‘गुठीले संरक्षण नगर्दा पाचँ महिनाअघि बहुमूल्य तिलौरी हराएको हो। तीन वर्ष पहिले टुँडाल हराएको थियो। यस्ता पुरातात्विक र बहुमूल्य सामान हराउनु दुःखद हो। गुठीले संरक्षण गर्न सकेको छैन।’ उनका अनुसार बौद्ध धर्मलम्बीहरुले तिलौरीलाई कुल भगवानको रुपमा पूज्ने र चढाउने गर्छन्। तर, अहिले अजिमालाई चढाउने तिलौरी नै छैन। बौद्धमा रहेको अजिमा थानको जीर्णोद्धार २०५० फागुन ३ गते सम्पन्न थियो।

घ्याङ गुठीले समितिलाई जिम्मेवारी दिएमा बौद्धमा रहेको सबै ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्ने लामा बताउँछन्। ‘घ्याङ गुठीले व्यवस्थित ढंगले बौद्धका ऐतिहासिक सम्पदाहरुको संरक्षण गरेको छैन,’ उनले भने, ‘अजिमा थानको जिम्मेवारी हामीलाई दिएमा उचित व्यवस्थापन गर्ने थियौं। संरक्षण गर्ने निकायले यसरी चासो लिएन भने अरु पनि बहुमूल्य सामग्रीहरु हराउलान् भन्ने चिन्ता लागेको छ।’ उनका अनुसार बौद्ध स्तूपमा आन्तरिक तथा बाह्य पयर्टक घुम्न आउँछन्। यसरी ऐतिहासिक सम्पदाको मूर्ती, तिलौरीजस्ता पुरातात्विक वस्तु हराउनु राम्रो होइन। यसले देश विदेशमा नेपालको बारेमा नराम्रो सन्देश जाने उनी बताउँछन्।

बौद्ध स्तूप काठमाडौं महानगरपालिका वडा ६ मा पदर्छ। सो वडाका अध्यक्ष दीपेन्द्र लामाले तिलौरीको खोजीकार्य जारी रहेको नागरिकलाई बताए। उनका अनुसार बौद्ध स्तूपको सुन पनि हराएको थियो। तर, खोजीकार्य गरी चोरी गर्ने व्यक्ति पत्ता लगाइएको उनले बताए। ‘हराएको अजिमा, तिलौरीको खोजी कार्य भइरहेको छ,’ उनले भने, ‘सुन पनि हराएको थियो। सो सुन पाइसकिएको छ। अहिले नै चोर्ने व्यक्तिको नाम सार्वजनिक गर्न मिल्दैन। चाँढै नै उनीहरुलाई सार्वजनिक गरी कानुनी कारबाहीका प्रक्रिया अघि बढाइनेछ।’

ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्दै आएको मेलम्ची घ्याङ गुठीका लामा साङगे दोर्जे आफूहरु संरक्षणको लागि गम्भीर रुपमा लागिरहेको बताए। ‘हामी संरक्षणमा जुटिरहेका छौं। सुरक्षा निकायलाई पनि परिचालन गरेका छौं,’ उनले भने, ‘तिलौरी कसरी चोरी भयो भन्नेमा अनुसन्धान गरिरहेका छौं।’

बौद्धमा पटक–पटक आगलागी
बौद्ध स्तूपमा पटक–पटक आगलागी हुने गरेको छ। गत बिहीबार पनि बौद्धस्तूप भित्रको छ्योईमे घर (बत्ती बाल्ने घर) मा आगलागी भएको थियो। अहिले उक्त घर बौद्ध तामाङ कल्याण गुठीद्वारा सञ्चालित छ। आगलागीबाट केही भौतिक क्षति पुगेको छ। आगलागीले सो घरको जस्ता र स्तूपको भित्ता कालै भएको छ। बौद्धका स्थानीय च्याङ्बा तामाङका अनुसार प्रहरी र स्थानीयको सहयोगबाट आधा घण्टापछि आगो नियन्त्रणमा लिइएकोे थियो।

‘आगलागी भए पनि मानवीय क्षति भने भएन,’ उनले भने, ‘विश्व सम्पदामा सूचीकृत सम्पदामाथि यसरी आगो लाग्नु राम्रो होइन। पहिले यहाँको गुम्बामा पनि आगो लागेको थियो।’ काठमाडौं महानगरपालिका वडा ६ का वडा अध्यक्ष दीपेन्द्र लामाले व्यवस्थित ढंगले कार्य सञ्चालन गर्न सचेतना गराएको बताए। ‘छ्योईमे घरमा अहिले मात्र नभई पहिले पनि पटक–पटक आगलागी भएको छ,’ उनले भने, ‘विश्व सम्पदामा यसरी पटक–पटक आगो लाग्नु राम्रो होइन। तीर्थालु आउने गरेकाले बत्ति बाल्ने ठाउँ चाहिन्छ। यसलाई व्यवस्थित गर्न जानकारी दिएको छु।’ उक्त घर सार्नलाई ठाउँ नभएकाले यसको अन्य विकल्प खोज्दै आएको उनले बताए।

बौद्ध स्तूपमा अहिले फोहोर पनि थुप्रिने गरेको छ। बौद्धको वरिपरी सबै ठाउँमा सर्वसाधारण बस्ने मेच छन्। तर, ती मेचमुनि फोहोरका बोरा हुन्छन्। फोहोर व्यवस्थान नहुँदा आन्तरिक तथा बाह्य पर्यटक फोहोरको दुर्गन्धमा बस्न बाध्य छन्। बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चद्रमान लामाले फोहोर व्यवस्थापनको लागि अभियान सञ्चालन गर्ने बताए। ‘फोहोर व्यवस्थापनका लागि अभियान चलाउने योजनामा छौं,’ उनले भने, ‘बौद्धलाई कसरी व्यवस्थित राख्ने भन्ने विषयमा छलफल गर्दैछौं। छलफलमा हुने निष्कर्षका आधारमा व्यवस्थापनमा लाग्नेछौं।’

प्रकाशित: १० भाद्र २०७६ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App