१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुविधा बढाउन सांसदको माग

काठमाडौं- सांसदहरूले आफ्नो सेवासुविधा बढाउनुपर्ने माग गरेका छन् । संसद्मा संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३ सम्बन्धी छलफलमा भाग लिँदै सांसदहरूले आफ्नो सुविधा समयअनुकूल बनाउन माग गरेका हुन् । २०५२ सालमा तोकिएको सांसदको सेवासुविधा अहिले अपुग भएको उनीहरूको भनाइ छ ।

नेपाली कांग्रेसका सांसद बुद्धिनारायण भण्डारीले पुरानै सेवासुविधा लिएर आफूहरूले जीविकोपार्जन गर्न नसकेको बताए । ‘सरकारले सांसदको सेवासुविधा बढाउन ध्यान दिनुप¥यो’, उनले भने, ‘सांसद लुखुरलुखुर सिंहदरबारको सिँढी चढेको देख्दा सरकारलाई लाज लाग्दैन ?’

थरूहट तराई पार्टीकी सांसद रुक्मिणी चौधरीले सरकारले ल्याएको विधेयक पूर्ण नभएकाले फिर्ता लिएर सुविधा थपेर ल्याउन माग गरिन् । विधेयकमा सांसदलाई आकस्मिक उपचारका लागि दिन प्रस्ताव गरिएको ५० हजार र निधनपछि दिइने भनिएको दुई लाखले पदलाई नै गिज्याएको उनको टिप्पणी थियो । त्यसलाई थपेर बढाउनुपर्ने तर्क चौधरीले राखिन् । छलफलमा भाग लिँदै कांग्रेसकी कमला पन्तले सांसदबीच ठूलो अन्तर रहेकाले त्यसलाई अन्त्य गर्नुपर्ने बताइन् । विश्वका अरू देशका सांसद र सभामुखको तुलनामा आफूहरूको सेवासुविधा निकै कम भएको पन्तको भनाइ थियो । ‘अन्तर्राष्ट्रिय सभा सम्मेलनमा जाँदा अरू देशका सभामुखले पार्टी दिँदा हामी चिया खाऊँ भन्न किन सक्दैनौं’, उनले भनिन्, ‘एउटा खरिदार गाडीमा धुलो उडाउँदै हिँड्दा हामी लाजले मुख छोपेर कति दिन हिँड्ने ?’

सांसद लोकमणि ढकालले अब निर्माण हुने ऐनलाई भविष्य हेरेर बनाउनुपर्ने तर्क गरे । ‘कर्मचारीलाई जसरी सांसदलाई सेवा सुविधा बढाएर पुग्दैन’, उनले भने ‘पहुँचवाला र ठूला नेतालाई करोडौं दिँदा सांसदलाई पर्याप्त सेवा सुविधा दिन किन नहुने ?’ ढकालले सांसदलाई सुविधा दिएर देशको ढुकुटी नरित्तिने टिप्पणी पनि गरे ।

प्रकाशित: ३० कार्तिक २०७३ ०२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App