१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

प्रधानमन्त्रीको स्वास्थ्य : सही सूचना दिइयोस्

प्रधानमन्त्री केपी शर्मा ओली १५ दिनै बीचमा उपचारका लागि फेरि सिंगापुर गएका छन्। त्यहाँ उनको उपचार सुरु भइसकेका खबर आएका छन्। पहिलोपटक सिंगापुरबाट फर्कंदै गर्दा प्रधानमन्त्रीले अनौपचारिक विदेश यात्रा (खासमा स्वास्थ्य उपचारबाट फर्केका) भएकाले पत्रकार सम्मेलन गर्न आवश्यक ठानेनन्। तर उनले आफू स्वस्थ रहेको आश्वस्त बनाउने प्रयासचाहिँ गरे। तर उनले आमनागरिकलाई जानकारी गराएजस्तो उनको स्वास्थ्य स्थिति देखिएन। तत्कालै उपचारका लागि जानुपर्ने अवस्थाबारे जनता बेखबर रहे।

मुलुकको प्रधानमन्त्रीको स्वास्थ्य सबैको चासो र चिन्ताको विषय हो। तर भेट्न गएका कार्यकर्तालाई उनले जुन जवाफ दिए त्यो उनीहरूलाई आश्वस्त पार्ने कुरा मात्र रहेनछ, आफ्नो आत्मविश्वास बढाउने उपक्रम पनि रहेछ। आफ्नो स्वास्थ्य अवस्था गम्भीर हुँदा पनि प्रधानमन्त्रीमा जुन आत्मविश्वास देखिएको छ, सायद जटिल रोगका बाबजुद आफूलाई लामो समय बचाइराख्ने कारण पनि त्यही हो। रोगबाट मुक्त मानिस कमै हुन्छन्। रोग प्रतिरोधात्मक क्षमता भन्नु सशक्त शारीरिक अंग मात्र होइनन्, मानसिक शक्ति अर्थात् आत्मबल पनि हो। राजनीतिक व्यक्तिहरूमध्ये बिपी कोइरालामा सायद त्यो आत्मबल थियो, जसका कारण उनले लामो समयसम्म क्यान्सरजस्तो महारोगसँग पनि प्रतिरोध गरिरहे। उनका लागि राजनीति अनुकूलभन्दा ज्यादा प्रतिकूल थियो। विभिन्न हन्डर बेहोर्दै गर्दा पनि उनले आफूलाई रोगबाट ग्रस्तजस्तो देखाएनन्।

डाक्टरको अनुमान वा हामीले बुझेकै गलत हो तर उनको उपचार सामान्य अवस्थामा स्वाभाविक ढंगबाट अगाडि बढिरहेको छ भने यो जान्ने अधिकार पनि नागरिकलाई छ। समयमै सही सूचना दिइयो भने अफवाह फैलिन पाउँदैन।

प्रधानमन्त्रीको स्वास्थ्य उनको वैयक्तिक मामिला मात्रै होइन, मुलुकको नेतृत्व गरिरहेको व्यक्ति, अझ नागरिकले लोकतान्त्रिक पद्धतिमार्फत प्रत्यक्ष चुनेको जनप्रतिनिधि भएका कारण देश तथा विदेशमा समेत चासो हुनु स्वाभाविक हो। आफ्नो स्वास्थ्य अवस्थाबारे नागरिकलाई सही सूचना प्रवाह गर्दा उनीहरूको शुभेच्छा र हौसलाले पनि रोगसँग लड्ने आँट र साहस प्रधानमन्त्रीलाई प्राप्त हुन सक्छ। सबैलाई थाहा छ– कुनै पनि प्राणीले आजसम्म अमरत्व प्राप्त गर्न सकेका छैनन्। यसलाई विज्ञानसम्मत भनौं वा शास्त्रसम्मत। विज्ञानले हरेक रोगविरुद्ध औषधि पत्ता लगाउँदै जाँदा पनि अमर हुने ओखती फेला पारेको छैन। शास्त्रले हरेक व्यक्तिका अमर गाथा व्याख्या गरे पनि शरीरलाई नाशवान् नै भनेको छ। तर मानिसले अन्तिम समयसम्म बाँच्ने चेष्टा त्याग्दैन।

उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि बसेको पार्टी बैठकमा अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच भएको असहिष्णु संवादबारे पनि मिडियाले खबर दिएका हुन्। कुन आशय र अर्थबाट त्यस्तो परिस्थिति सिर्जना भयो, बैठकका सहभागीहरू नै जान्लान्। अरू बेला सम्बन्ध जस्तोसुकै भए पनि रोग र मृत्युका विषयमा ठट्टा गरिँदैन। कसैको मजाक उडाइँदैन। कठोर भाव व्यक्त हुँदैन। चिन्दै नचिनेकाको मृत्यु देख्दा त मानिस केहीबेर संवदनशील बन्छ। मेरो पनि भोलि जाने बाटो त्यही हो भन्ने कल्पना मनमा आउँदा नआउँदै ऊ भावुक भइसकेको हुन्छ। अनायास चसक्क मुटु दुख्छ। यही नै मानवीय भावना हो।

सामान्य नागरिकलाई डाक्टरको भाषा थाहा हँुदैन। कुन रोगमा कस्तो उपचार प्रक्रिया जटिल हो वा सामान्य, जान्दैनन् उनीहरू। त्यसैले प्रधानमन्त्रीको उपचार विदेशमा भइरहँदा उत्पन्न चासो सम्बोधन गर्न उनका निजी चिकित्सकले वा सम्बन्धित अस्पतालले जारी गर्ने विज्ञप्ति मात्र पर्याप्त हँुदैन। त्यसकारण डाक्टरले अनुमति दिएका सूचना सर्वसाधारणले बुझ्ने भाषामा दिनुपर्छ। जसले नारिकलाई आफ्ना प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे आश्वस्त हुन सहयोग पुग्छ। अन्यथा मिडियाका आफ्ना स्रोतका आधारमा आएका खबरमा भर पर्नुपर्दा नागरिकमा एउटा संशय रहिरहन्छ। कतिपय सञ्चारमाध्यमले जानेर वा नजानेर पर्याप्त र सही सूचना पनि दिन सकिरहेका हुँदैनन्। यस्तो अवस्थामा गलत सन्देश जाने सम्भावना रहन्छ।

पछिल्लो समय आएका खबरअनुसार प्रधानमन्त्रीको १२ वर्षअघि फेरिएको मिर्गाैलाको काम गर्ने क्षमता घट्दै गएको छ। जसका दुइटा विकल्प छन् ः पहिलो, पुरानै मिर्गौलालाई क्रियाशील बनाउन ‘प्लाज्मा फेरेसिस’ गर्ने। दोस्रो, फेरि अर्को मिर्गौला प्रत्यारोपण गर्ने। यी दुवै विधि कति सरल वा जटिल हुन्, त्यो बुझ्न नागरिकलाई कठिन छ। समाचारमा लेखिएअनुसार प्लाज्मा फेरेसिस भनेको मिर्गौलालाई काम गर्न नदिने एन्टिबडी रोक्ने उपचार विधि हो। प्रधानमन्त्रीको शरीरमा उत्पन्न भइरहेको क्रिटेनिनको मात्रा घटाउन यो विधिले सहयोग गर्छ। डाक्टरहरूका अनुसार यो प्रक्रिया सात पटकसम्म गर्नु भनेको एन्टिबडीको मात्रा निकै बढेको र मिर्गौलालाई काम गर्न कठिन भइरहेको स्थिति हो। डाक्टरहरूको यो भाषाले प्रधानमन्त्रीको स्वास्थ्य बढी जटिल हुँदै गएको संकेत गर्छ। यस्तै अवस्था हो भने पार्टीका सचिवालय सदस्य वा पार्टीका कार्यकर्ताले मात्र होइन, देशका आमनागरिकले उनको उपचार सफलताको कामना गरौं। उनी पहिला देशका प्रधानमन्त्री हुन्, त्यसपछि मात्र कुनै दलका अध्यक्ष।

डाक्टरको अनुमान वा हामीले बुझेको गलत हो र उनको उपचार सामान्य अवस्थामा स्वाभाविक ढंगबाट अगाडि बढिरहेको छ भने यो जान्ने अधिकार पनि नागरिकलाई छ। समयमै सही सूचना दिइयो भने कसैले अफवाह फैलाउन पाउँदैन। मृत्युको कामना कसैको पनि गरिँदैन। उसो त मृत्यु कसैले चाहेर वा नचाहेर हुने कुरा पनि होइन। कुनै पीडा आफूले भोगिरहँदा जब असह्य हुन्छ, यस्तो पीडा शत्रुले पनि भोग्न नपरोस् भन्ने हाम्रो संस्कारै छ। त्यसैले कसैलाई कुनै नेताको अनुपस्थिति वा मृत्युमा कुनै लाभ वा हानि होला त्यो अर्काे कुरा हो। हामी प्रधानमन्त्रीको स्वास्थ्य उपचार सफलताको कामना गर्न यो वा त्यो स्वार्थगत कारणबाट हिचकिचाउनु हुँदैन।

आफ्नो स्वास्थ्यप्रति कटाक्ष गर्नेहरूबाट पुगेको मानसिक पीडा प्रधानमन्त्री ओलीबाट सार्वजनिक रूपमै व्यक्त भएका हुन्। गृह मन्त्रालयको कार्यक्रममा उपचारपछि आफू बाँचेर आउने र अर्को चुनावमा प्रतिस्पर्धा गर्न तयार हुन दिएको चुनौती होस् वा पछिल्लो पार्टी सचिवालय बैठकमा कसैको शुभकामना चाहिएको छैन भन्ने जवाफ, प्रधानमन्त्रीका ती भनाइ पीडकहरूप्रति लक्षित हुन् भन्ने बुझ्न गाह्रो छैन। त्यसैले प्रधानमन्त्रीको यो भावना बुझेर मात्र होइन, मानवीय हिसाबले पनि उनको उपचार सफल होस् भन्ने कामना गर्नु आवश्यक छ।

प्रधानमन्त्रीले यसअघि सिंगापुरबाट फर्केलगत्तै सरकारका काममा होस् वा पार्टीभित्र बाँकी विषयमा निर्णय गर्न अथवा सर्वदलीय बैठक गरेर लोकतन्त्र र गणतन्त्रका पक्षमा सबैलाई एक ठाउँमा उभ्याउन जुन तदारुकता देखाए त्यसले उनमा केही गरिहालौं भन्ने भावना जागृत भएको देखाउँछ।

उनको स्वास्थ्यबारे डाक्टरले कति कुरा प्रधानमन्त्रीलाई बताएका होलान् र कति कुरा प्रधानमन्त्री आफैंलाई अनुभूत भएको होला, त्यो गोपनियताको विषय पनि हुनसक्छ।  तर प्रधानमन्त्रीले राष्ट्रका काममा जुन सक्रियता देखाएका छन्, त्यसले कुनै सम्भावित अप्रिय अवस्थाको आभास गराउँदैन। जुन आत्मबल र आत्मविश्वाससाथ उनले आफूलाई प्रस्तुत गरिरहेका छन्, त्यसले अनावश्यक आशंका गर्नुपर्ने ठाउँ देखिँदैन। तर प्रधानमन्त्री विदेशमा  उपचाररत रहँदा नागरिक निश्चिन्त रहने गरी सूचना प्रवाह गर्न सरकारले कन्जुस्याइँ गर्नु हुँदैन।  

प्रकाशित: ९ भाद्र २०७६ ०३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App