१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अल्कोहलयुक्त पेय नियन्त्रणमा

सोलुखुम्बु – प्लास्टिक तथा सिसाका बोटलमा आउने वस्तु बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाएको सोलुदूधकुण्ड नगरपालिकाले जिल्ला प्रवेश गर्ने नाका पत्तालेबाट करिब तीन सय कार्टुन बियर र एप्पल साइडर नियन्त्रणमा लिएको छ।

नगरपालिका क्षेत्रमा प्लास्टिक र सिसाका बोटलमा प्रतिबन्ध लगाइएको छ। यसैबीच, लुकाइछिपाई ल्याउँदै गरेको दुई सय ८० कार्टुन अल्कोलयुक्त पेय नियन्त्रणमा लिएको नगर प्रहरीका हवल्दार ङवाङ ठिले शेर्पाले जानकारी दिए। साउन ३१ गते नियन्त्रणमा लिएको पेयपदार्थ चालकलाई फिर्ता पठाइएको छ।

भदौ ५ मा पनि लुकाइछिपाई सल्लेरी ल्याइँदै गरेको १६ कार्टुन बियर नगर प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त चेकजाँचका क्रममा नगरपालिकाभित्रका व्यापारीले ल्याएका ती पेय पदार्थ नियन्त्रणमा लिइएको हो।

गत पुसदेखि सिसाजन्य र प्लास्टिकजन्य वस्तु प्रयोगमा नगरपालिकाले प्रतिबन्ध लगाएको छ। तैपनि कतिपय व्यापारीले आधिकारिक जानकारी नपाएको बहानामा भित्र्याउने कोसिस गरिरहेका छन्। पहिलोपटकलाई जानकारी दिने र दोस्रोपटक पनि दोहो-याए पेयपदार्थ जफत गर्न निर्देशन दिएको मेयर नाम्गेलजाङबु शेर्पाले बताए। ‘नगरपालिकाको नियम कार्यान्वयनमा कडाइ गर्न नगर प्रहरीलाई निर्देशन दिइसकेको छु,’ मेयर शेर्पाले भने।

नगरपालिकाले सिसाजन्य र प्लास्टिकजन्य वस्तुमा प्रतिबन्ध लगाएपछि तिनको प्रयोगमा कमी आएको छ। सिसाको बोटलमा आउने पेय पदार्थ क्यानमा भित्रन थालेका छन् भने प्लास्टिकको झोलाको विकल्पमा कपडाको झोला प्रयोग हुन थालेको छ। यसअघि नगरपालिकाले वर्षौंदेखि बजार क्षेत्रमा थुप्रिएका सिसाका बोतल प्रशोधनका लागि पठाइसकेको छ।

प्रकाशित: ९ भाद्र २०७६ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App